|

धनकुटा  :  ०३६ सालमा पापानी चाड आउनै लागेका बेला तत्कालीन पञ्चायती सरकारले खोकु छिन्ताङ हत्याकाण्ड मच्चाएर १६ जना स्थानीयको निर्ममतापूर्वक हत्या गरेको थियो।

त्यही कारणले गर्दा तिहारपछि पापानी चाड आउनै लाग्दा सहिदभूमिबासीको मनमा पुरानो घाउले पोल्न थाल्ने गरेको हो। हुन त ०३६ सालको काण्डलाई नुनचुक छर्न अरुबेला देखा नपर्ने राजनीतिक दलका नेताहरू छिन्ताङ पुगेर पुरानै शैलीमा भाषण वाचन गर्न थाल्छन्, ‘खाल्साली जनता निरंकुशतासँग कहिल्यै डगेनन्, बरु बन्दुकको नाल खान तयार भए। महान् छन्, छिन्ताङे सहिदहरू,’।

वर्षैभरि सुनसान रहने छिन्ताङमा हरेक वर्ष कात्तिक २३ देखि २९ सम्म एक साता पुनः ०३६ सालको घाउ दोहोरिन्छ तर निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा लडेका खाल्साली सहिदहरू राज्यको नजरमा कहिल्यै सम्मानित हुन सकेका छैनन्।

सहिद परिवारहरू ४३ वर्षदेखि त्यही दिनको प्रतीक्षामा छन। तर, राज्यको नजरमा छिन्ताङमा सहादत प्राप्त गरेका गोपालआनन्द राई, भैरवबहादुर खालिङ,  बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलुङ, श्रीमाया राई (साहिँली), झगेन्द्र राई, रामकुमारी राई र रणध्वज पुमा राईलाई राज्यले ३८ वर्षपछि २०७४ साल पुसमा सरकारले सहिद घोषणा गरेको थियो।

धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा ०३६ सालको कात्तिक २३ गतेदेखि २९ गतेसम्म लगाएर प्रहरीले १६ जनाको हत्या गरेको थियो।

वर्षायाम थिएन, आकाश पनि सफा थियो। तर निरन्तर मेघ गर्जिरहेको थियो। सुरुमा छिन्ताङ, खोकु र आँखीसल्ला लगायत आसपासका गाउँका सर्वसाधारणलाई यस्तो महसुस भयो कि ठूलै वर्षा पो हुँदैछ कि ! तर उनीहरूको अनुमान विस्तारै सेलाउँदै गयो।

ती गाउँका चारैतिर सेना, प्रहरीले घेरा हालेको चाल पाएपछि उनीहरूमा त्रास, भय र आतंकको खैलाबैला नै मच्चियो। गाउँ पसेका पञ्चायतका सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई संगीन घोप्दै अधल्चो बनाएर प्रहार गरिरहेका थिए। तब थाहा भयो, आकासमा मेघ गर्जिएको रहेनछ। जति बन्दुक पडकिन्थे, उति ऐया–आत्था मिश्रति कोलाहल पहाडको कुनाकाप्चामा ठोक्किन्थ्यो र प्रतिध्वनित बन्थ्यो।

क्षणभरमा परिवेश स्तब्ध भए पनि फेरि अर्को गाउँ पसेका बन्दुकधारी जत्थाले किसान, ज्यामी, गृहिणी सबैलाई निसाना बनाउँथे। तब उसैगरी आकास गर्जिन्थ्यो, उस्तै त्रास, चिच्याहट र भयले पुनः छोपिहाल्थ्यो। यसरी इतिहास बनाएको खोकु छिन्ताङ हत्या काण्डको शृङ्खलाको सुरुवात भएको थियो। त्यस दिनको स्मृतिमा सदाझैं यस वर्ष पनि खोकु छिन्ताङ सहिद सप्ताह यसै साता सम्पन्न हुँदैछ। अधिकांश हत्याका शृङ्खला एक सातामा भएको थियो। छिन्ताङको सिंगो गाउँ रगतले पोतिएको थियो भने बारुदको धुवाँ र तत्कालीन सैनिक प्रहरीको गर्जनले सर्वसाधारण आतंकित बनेका थिए।

दिनहुँजसो सर्वसाधारणको ज्यान लिन थालेपछि स्थानीयवासीले ओढार र भीरपहरामा रुख–बुट्यानको सहारा लिएर ज्यान जोगाउन खोजे। तीमध्ये १६ सर्वसाधारणले ज्यान आहुति दिए।

ओढारमा लुकेर बसेकाहरूलाई आगो लगाएर चरम यातना दिइएको घटना स्थानीयको मानसपटलमा ताजै छ। खासगरी तत्कालीन शासकको विपक्षमा वर्षौदेखि आवाज उठाइरहेका स्थानीयवासीलाई ’फरक विचार’ राखेको भन्दै कुरतापूर्वक हत्या गरिएको थियो। हुन त त्यसबखत पञ्चायत व्यवस्था विरोधी भूमिगत आन्दोलन सर्वत्र भुसको आगोझैं फैलिरहेको थियो।

तर, खाल्सा क्षेत्रलाई निसाना बनाएर नाङ्लो ठट्टाएर हात्ती तर्साउने चालमा तत्कालीन शासकले रणनीतिक योजना अघि सारेको पाइन्छ।

उक्त घटनामा ज्यान गुमाएकाहरूका अधिकांश विधवा, टुहुरा र असहाय सन्तान अझै जीवितै छन। तर उनीहरूको जीवन भोगाइ उस्तै अत्यासलाग्दो छ। उनीहरूका चह¥याइरहेका घाउमा खाटा बस्नसकेको छैन।

पीडित परिवारले दुःखका सास्तीको दिनबाट मुक्त हुनसकेका छैनन। खासगरी उनीहरूको चित्त दुखाइ बहुदलीय र त्यसपछिको गणतान्त्रिक नेपालका सरकारसमक्ष रहेको छ।

घटनाको पृष्ठभूमिका आधारमा वामपन्थी विचारधाराको नेतृत्व गर्नेहरू शासकका आँखी भएका थिए। तर त्यतिमा सीमित भएन, सर्वसाधारणलाई आतंकित पार्नकै लागि बलात्कारदेखि लुटपाटसम्मका घटना भए।

गर्भवती अवस्थामा बन्दुक कुन्दाको यातनाको सिकार भएकी श्रीमाया राई –हांखिमा साइँली) को वीभत्स मृत्युवरण इतिहासमा साक्षी बनेको छ। उनीमाथि यातना दिइएको केही दिनमा नै (२०३६ कात्तिक २९) सुत्केरी अवस्थामा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको थियो।

स्थानीय सर्वसाधारण रामकुमारी राईको पनि उस्तै दर्दनाक कथा छ। उनी २०३६ कात्तिक २९ मा तत्कालीन शासकबाट खटाइएका समूहबाट सामुहिक बलात्कारपछि मृत्यु भएको थियो। यस्तै १४ वर्षीय किशोर स्थानीय केशरमान राईलाई पनि कात्तिक २८ मा प्रहरीले गोलीको निसाना बनायो।

उनी स्थानीय टप्पुदेवी निमाविमा ७ कक्षामा पढ्थे। सामान्य कृषक रहेका धनवीर दमाईलाई पनि सोही कात्तिक २७ गते हत्या गरियो। मारिनेमध्ये अधिकांश सर्वसाधारण थिए भने केही तत्कालीन शासकको विरुद्धमा भूमिगत शैलीमा संगठन विस्तार गर्दै रहेकाहरू थिए।

छिन्ताङ हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकको रुपमा राजनीतिक दलहरूले तँछाड–मछाड गर्दै आएका छन। खासगरी वामपन्थी दलले छिन्ताङ हत्याकाण्डका सहिद परिवार र आफन्तको मतका लागि प्रतिस्पर्धा गर्दै आएका छन्।

विशेषतः धनकुटा प्रदेश निर्वाचन क्षेत्र क का लागि निर्णायक मत पनि खाल्सा क्षेत्रअन्तर्गत खोकु छिन्ताङ र आँखीसल्लामा नै रहेकोले प्रतिस्पर्धा तीव्र बन्ने गरेको छ।

राष्ट्रिय सहिद घोषणा भए पनि सहिद परिवारले राहतको व्यवस्था, पीडित परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक रोजगारी, परिचयपत्र, नयाँ संविधानमा उचित सम्बोधन गरिनुपर्ने लगायत माग अघि सार्दै आए पनि यसतर्फ राज्य उदासीन बन्ने गरेको छ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप  वामपन्थीहरूले लगाउँदै आएका बेला उनकै छोरा सुनिलबहादुर थापा मन्त्री भएको बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो।

निरंकुश पञ्चायतका विरुद्धको आन्दोलनमा होमिएका ती अथक् योद्धाहरूलाई अहिले राज्य गणतान्त्रिक भइसक्दा पनि पटकपटक बनेको बामपन्थी सरकारले सम्मान गर्न सकेको छैन। सहिद घोषणा भएपछि सहिदका परिवारले क्षतिपूर्तिवापत पाउने १० लाख रुपैयाँ रकम अहिलेसम्म पाएका छैनन।

पञ्चायती शासन चलिरहेको बेला छिन्ताङ काण्डमा मारिएकाहरूलाई देउसी र भैलो खेल्नभन्दा निरंकुशताविरुद्धका गीत गुञ्जाउन लालायीत थिए। नजिकै बगिरहेको अरुणको सुसेलीको कुनै प्रवाह थिएन, त्यसैको फलस्वरूप ती वीर योद्धाहरूले ०३६ देखि सधैंका लागि अरुणको सुसेली सुन्नुपरेको छैन। जब प्रत्येक नेपालीको घरमा देउसी–भैलो खेलेर प्रत्येक घरमा दीपावलीको रमझम भइरहेको थियो, कैयौं चेलीबेटीहरूले उनेर राखेको सयपत्री र मखमली त्यसै ओइलाएको थियो, अनि खाल्सा क्षेत्रको प्रसिद्ध सांस्कृतिक नाच पापानीमा ढोल र झ्यालीका ठाउँमा बम र संगीन नाचेर तिनै युद्धको रगतको होली खेलिएको थियो।

तिनै सहिदहरू अहिलेसम्म राष्ट्रिय सम्मान पाउन नसक्नु विडम्बना नै मान्नुपर्छ। त्यसैले होला युवा गायक किशोर थुलुङले त्यो घटना र ती महान् सहिदहरूको सम्झनामा सुरिलो स्वरमा नेपाली जनतालाई सधैंभरि झकझक्याउने गरी पोखे– ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा।’

गायक थुलुङले गीतमा भनेझैं २०३६ सालदेखि लगातार अरुण र तमोर सुसाइरहेका छन। त्यो सुसाइ सुन्ने जो कोही नेपालीको मन दुःख बिसाउने ठाउँ पाउँदैन।

खोकु, छिन्ताङ त्यस समयमा पनि दुख्छ जब प्रत्येक वर्ष नेपालीका चाडपर्वहरू सुरु हुन्छन् अनि मनाउँदै रहन्छ, दसैं–तिहार पापानी। त्यतिबेला धनकुटाका छिन्ताङ, खोकु र आँखीसल्ला गाविसका जनताहरूमा एक वर्षसम्ममा खाटो बस्तै गरेको चोट पुनः दोहोरिन पुग्छ।

यो क्रम सुरु भएको पनि चार दशक बितिसकेको छ। दण्डहीनताको पराकाष्ठाका रुपमा रहेको यो घाउ निको हुन या इतिहास मेटिनुपर्छ या त दोषीहरूलाई कानुनको कठघरामा ल्याएर सजाय दिइनुपर्छ।

अझ महत्वपूर्ण कुरा त देश र जनताको स्वतन्त्रताको खातिर आफ्नो ज्यान र परिवारको प्रवाह नगरी लड्ने महान् योद्धाहरूलाई राज्यले सहिद घोषणा गरेर मात्रै हुन्न उचित क्षतिपूर्ति र सम्मान गर्नुपर्छ।

दुई महिनासम्म एउटा सरकार त बनाउन नसक्ने हाम्रा राजनेताहरूले त्यो काम अहिले नै गर्छन भन्ने कुरा पत्याउन गाह्रो छ। हाम्रा राज्य सञ्चालन गर्ने अहिलेको नेतृत्वले ४३ वर्षसम्म हुन नसकेको काम अहिलेको अवस्थामा तत्कालै हुन्छ भन्ने सोच्नु पनि मूर्खता नै हो।

जब प्रत्येक सालका सहिद सप्ताह सुरु हुन्छ तब छिन्ताङका सहिद परिवारको मनमा भक्कानो फुटेर आउँछ।

अनि त्यहाँ मानवीय संवेदनाको भक्कानो फुटाउन राजनीतिक दलका नेताहरू तँछाडमछाड गर्दै रहन्छन। जब यी चार दिन बित्छन् अनि छिन्ताङ फेरि एक वर्षसम्म पूर्ववत् अवस्थामा फर्कन्छ।

त्यो खाल्सा क्षेत्र देशबाट टाढिन्छ, प्रदेशबाट टाढिन्छ, जिल्लाबाट टाढिन्छ अनि सदरमुकामबाट २६ किलोमिटर उत्तर–पश्चिममा नै रहन्छ, अरुण सुसाइरहन्छ।

हरेक वर्षका दसैं–तिहार र पापानी वर्षहरूमा खोकु, छिन्ताङ आँखीसल्ला पिरोलिन्छन। २०३६ साल कात्तिक महिनाका अन्तिम दिनहरू खोकु, छिन्ताङ आँखीसल्लालाई मात्र होइन धनकुटालाई सधैं स्मरण गराउने महिना हो। त्यसबेलाको पीडा, चीत्कार सुन्नेहरू इतिहासका ज्युँदा साक्षीहरू अझै छन। दुःख पाउनेहरू अझै जीवितै छन।

सहिद परिवार वर्ष दिनमा एक पटक दोसल्लाको भागी हुन्छन। दोसल्लाबाहेक उनीहरूको मनभित्र पीडा हुँडलिएर आउँछ। तर, राजनीतिक दलहरू सहिद दिवसलाई पनि राजनीतिक एजेन्डा बनाएर छिन्ताङका सहिदको आत्मालाई पिरोलिरहेका छन्।

विगतमा माले–एमाले विभाजनका बेला छुट्टै कार्यक्रम भए, माले–एमाले एकीकरणपछि एमाले र माओवादीबीच छुट्टाछुट्टै सहिद दिवस मनाइए, गएको वर्ष भने एमाले र माओवादी मिलेर बनेको प्रदेशको नेकपाको सरकारले सहिदका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो। यस वर्षबाट त्यो दिवसमा एक पार्टीले अर्को पार्टीलाई दोषारोपण गर्नेभन्दा बढी काम भनेकै दुवैले सहिद परिवारलाई दोसल्ला ओढाउँछन्।

यसवर्ष पनि एमालेले कार्तिक २९ गते सहिदका परिवार सम्मान कार्यक्रमको आयोजना गरेको छ। त्यो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरू आउने कार्यक्रम रहेको छ। त्यो कार्यक्रममा सरकारको विरोधबाहेक केही हुने देखिँदैन।

हुन त केपी ओलीले ३ वर्ष सरकारको नेतृत्व गर्दा छिन्ताङको काँही कतै सम्बोधन भने भएको पाइदैन। यता प्रदेश सरकारको नेतृत्व शेरधन राईले गर्दा पहिलो निर्णय सहिदभूमिमा सहिदका परिवारको नमुना बस्ती बनाउने निर्णय गरेका थिए। तर, अहिलेसम्म कार्यान्वयन भएको छैन।

पूर्वको कम्युनिस्ट आन्दोलनको उद्गम स्थलको रुपमा रहेको छिन्ताङमा रहेको सहिदहरूको अर्धकदमा प्रत्येक वर्ष पुष्पगुच्छा चढाउनुसिवाय न्यायिक अनुभूति केही हुन सकेको छैन। भौतिक रुपमा केही विकास निर्माणका काम भएतापनि सहिद परिवार पूर्ववत् अवस्थामा नै छन।

पञ्चायतकालको ज्युँदो इतिहासलाई बोकेको खोकु, छिन्ताङ, आँखीसल्ला अहिले पनि त्यही बिलौना गरिरहेको छ, जतिबेला खाल्साको मुटुमा संगीन धारले रेटी–रेटी निर्दोष जनतालाई मारिएको थियो, छातीमा गोली ठोकी पानी पनि खान नदिई भीरबाट खसालेर मारिएको थियो, ज्युँदै ओडारमा लगेर आगो लगाइएको थियो।

सुत्केरी महिलालाई असह्य हुने गरी पीडा दिएर मारिएको थियो। त्यो चित्कार र पीडा सुन्ने र देख्ने इतिहासका ज्युँदा मानिस साक्षी छन्।

त्यही धनकुटाको कम्युनिष्ट आन्दोलनको सुरुआत भएको छिन्ताङ विगत धेरै वर्षदेखि सहिदको अर्धकदलाई लिएर नयाँ युगको प्रतीक्षामा बसिरहेको छ। देशको सर्वोच्च निकाय व्यवस्थापिकामा कम्युनिष्टहरूको दुई तिहाइ बहुमत भइरहेको बेलामा छिन्ताङ दण्डहीनताको अन्त्यका लागि लडिरहेको थियो तर केही पाएन।

सहिदहरूको अर्धकद सालिकबाट खाल्सा क्षेत्र (खोकु, छिन्ताङ र आँखीसल्ला) का जनतालाई विधिको शासन र दण्डहीनताको पराकाष्ठासँग जुध्न प्रेरणा गरिरहेका छन। नयाँ संविधानसँगै नयाँ युगको प्रतीक्षामा आत्मालाई बचाइरहेका छन्।

सहिदहरू अर्धकद सालिकबाट खाल्सा क्षेत्रका जनतालाई विधिको शासन र दण्डहीनताको पराकाष्ठासँग जुध्न प्रेरणा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.