|

पर्वत : नेपाली कांग्रेसको १४ औँ अधिवेशन जारी रहेको बेलामा नेपाली कांग्रेस पर्वतको सचिव पदमा ओमप्रसाद घायलले पनि उम्मेदवारी दिँदै छन्।

पर्वतमा पत्रकारिताको सुरुवाती चरणबाटै काम गर्दै आएका उनी पत्रकार महासङ्घ पर्वतका पूर्व-अध्यक्ष हुन भने हाल रेडियो शालिग्रामका स्टेसन म्यानेजर। पत्रकारितामा राम्रो जमिरहेका उनी एकाएक सक्रिय राजनीतिमा आउन चाहेका छन्।

१४औँ अधिवेशनबाटै स्याङ्जाको बिरुवा गाउँपालिकाको सभापतिमा डोलराज पोखरेलले बाजी मारे। चुनावी प्रक्रियाबाटै स्थानीय तहको सभापति बनेका उनी पत्रकारको रूपमा पोखरामा सक्रिय रहँदै आएका थिए।

नेपाली कांग्रेसको पोखरा महानगरपालिकाको सभापति बन्न दुई पत्रकारहरूको उम्मेदवारी थियो। पोखराको पत्रकारितामा लामो समयदेखि सक्रिय रहँदै आएका गंगाधर पराजुली र ज्योति हमालको चर्चा निकै रहे पनि सफल भने भएनन्।

यी पात्र केही उदाहरण मात्र हुन जो कांग्रेसको सक्रिय राजनीतिमा देखा पर्दै पार्टीको महत्त्वपूर्ण पदमा पुगेर काम गर्न चाहन्छन्। पत्रकार महासङ्घ गोरखाका पूर्व अध्यक्ष किशोरजंग थापा पनि यही महाधिवेशनबाट कांग्रेसको जिल्ला सचिवमा निर्वाचित भइसकेका छन्।

कांग्रेसमा मात्रै होइन अन्य राजनीतिक दलमा पनि पत्रकारिताकै माध्यमबाट पार्टीको पदाधिकारीमा पुग्नेहरूको लहर उत्तिकै छ। नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका निवर्तमान महासचिव गणेश पौडेल नेकपा एमालेको कुश्मा नगर कमिटीको सचिव बनेका छन्, यस्तै उदाहरण देशैभर छन्।

पत्रकारहरू सक्रिय राजनीतिमा किन आकर्षित भइरहेका होलान्? भन्ने प्रश्नमा पोखरा महानगर सभापतिमा लडेका पराजुलीले पार्टीभित्र रहेको व्यक्तिवादी गुटको अन्त्य गर्नका लागि आफू सक्रिय राजनीतिमा आउन चाहेको बताए।

तर, पत्रकारहरू बाठा र परेको बेलामा औँला उठाउन सक्ने भएका कारण उनीहरूलाई गुटको पछि लाग्नेहरू असफल बनाइदिने र आफू पनि त्यसरी नै असफल भएको पराजुलीले बताए।

‘पार्टीभित्र सबै कुराहरू सुषुप्त अवस्थामा रहेको छ। आफ्नै महाधिवेशन गराउन समेत यो हालत भइरहेको छ। अरू भातृ र शुभेच्छुक संस्थाका अधिवेशन, महाधिवेशनको हालतको त कुरा नै नगरौँ। पार्टीभित्र राजनीतिक हिसाबले  बिचारको खडेरी लागेको छ।

नेता तथा कार्यकर्तालाई प्रशिक्षण नै छैन,’ उनले भने, ‘तेरो र मेरो, यो फलानोको गुटको भन्ने मात्र छ। नेपाली कांग्रेस भन्दा पनि देउवा कांग्रेस, पौडेल कांग्रेस, कोइराला कांग्रेस, सिटौला कांग्रेस, फलानो कांग्रेस भएको छ। मेरो सोच भनेको सबै प्रकारका कांग्रेसको अन्त्य गरेर नेपाली कांग्रेस बनाउनु थियो। तर सपना पूरा भएन।’

आफूले सुधार गर्न खोजेको कुराहरू राख्दै पराजुलीले पार्टीभित्र भइरहेको समस्याका बारेमा पनि खुलेरै बताए। पार्टीको नेतासँग डुलेको, हिँडेको, उनीहरूको पछाडि लागेको, नेता मानिदिएको मान्छेहरू नै अहिलेका नेतालाई चाहिने भएकाले सकारात्मक सोच भएकाहरूलाई राजनीतिमा ठाउँ नदिइएको उनको भनाई छ।

नेताहरूले परम्परागत रूपमा आफ्नो पछाडि लागेकाहरूलाई मात्र खोज्ने भए, जो चलाउन सकिने एस म्यान छ उनीहरूलाई मात्रै ठाउँ दिने तर पत्रकार, जानेका, बुझेका, पढेकालाई भने उनीहरू माथि आउन नदिने परम्परा गलत भएको पराजुलीको तर्क छ।

पत्रकारले विश्लेषण गर्न सक्ने, पार्टीका तलदेखि माथि सम्मका सबैसँग सहसम्बन्ध कायम गर्न सक्छन्, अरू फरक पार्टीसँग पनि राम्रो सम्बन्ध कायम गर्न सक्ने भएकाले पत्रकार राजनीतिमा आए आफूहरू ओझेलमा परिन्छ भन्न पिर नेताहरूमा रहेको उनको तर्क छ।

नेपाली कांग्रेस पर्वतको सचिव पदमा लड्ने तयारी गरिरहेका पत्रकार ओम प्रसाद घायलले पनि आफू कुनै गुटबाट नउठेकाले अहिले पनि धेरैले तपाईँ कुन गुटबाट उठ्न लाग्नुभएको? भन्ने प्रश्न गर्दा अचम्म लाग्ने बताउँछन्, तर त्यसको दोष कार्यकर्तामा नजाने उनको भनाई छ।

आफ्नो उम्मेदवारीको कारण नै पार्टीभित्र रहेको गुटगत राजनीतिको अन्त्य गर्नु रहेको पनि घायलको दाबी छ। ‘मलाई कुन गुटबाट उठेको भनेर सोध्छन् कार्यकर्ताले। मैले कांग्रेसबाट उठेको हुँ भन्दै आएको छु। किनकि मैले जानेको कांग्रेस हो गुट होइन।

यस्ता गुट उपगुटको बनाएर पार्टी ध्वस्त भएको अवस्थामा म त्यसैको विरोधमा रहेको छु। तर प्रश्न सोध्ने कार्यकर्ताको दोष छैन, बनाएको र सिकाएको नेताले हो,’ उनले भने, ‘यदि म सफल भएँ भने कुनै पनि गुटगत रूपमा काम गर्ने छैन। गर्नुपरेछ भने त्यही दिनबाट ल मैले सकिन भन्ने छु। म चाहन्छु एकाकार कांग्रेस होस्।’

पार्टीको आन्तरिक जीवनमा नेतालाई प्रतिष्ठाको विषय बनाउने कुराको अन्त्य गर्नुपर्ने, गुटको आशक्ति र द्वेषको राजनीति त्याग्नुपर्ने, आम चुनावलाई साङ्गठनिक तागत दिन सक्ने, नेताप्रति भन्दा नीतिप्रति बफादार रहेको, गुनासा

सुन्ने धैर्यता भएको, बैठक, आमसभा र शोक सभामा बोल्ने कुरामा फरक छुट्टाउन सक्ने, बिकेन्द्रिकरणमा विश्वास गर्ने, सङ्गठनमा ‘म’ को सट्टा ‘हामी’ भन्न सक्ने लगायतका गुण भएको नेता आजको आवश्यकता भएको उनको भनाई छ।

पोखरा महानगर सभापति पदमा लडेकी पत्रकार तथा कलाकार ज्योति हमालले उम्मेदवारी दिएपछि पार्टीभित्र रहेको गुटको अवस्थाबारे झनै राम्ररी थाहा भएको बताइन्। गुटबन्दीको अन्त्य होस, पत्रकार, कलाकार, खेलाडी, रङ्गकर्मी सबैको प्रतिनिधित्व पार्टीमा हुने हो भने हरेक हिसाबले त्यो पार्टी बलियो बन्ने भएका कारण आफू पनि उम्मेदवार बनेको उनको भनाई छ। ‘म पत्रकार मात्रै होइन कलाकार पनि त हो।

पार्टीमा सबै खालका मान्छे भए भने त्यो पार्टी पनि बलियो हुन्छ, सबैको आकर्षण रहन्छ। त्यसमाथि म महिला पनि हो। पोखरामा खै त अरू महिलाहरूले त्यो आँट गर्नुभएको?,’ हमाल भन्छिन्, ‘पार्टीले बोलाएर आफै जिम्मेवारी दिँदैन रहेछ के रे। उम्मेदवारी दिएर लड्नै पर्ने रहेछ। बोल्न नसके त नेतृत्वमा पुग्नै सकिँदैन नि!’

महाधिवेशनको बेलामा भोट माग्दा सबैले ‘महिला, कलाकार, पत्रकार रहेछौ, पार्टीमा चाहिन्छौ। भोट दिन्छौँ ढुक्क हुनु’ भनेर आफूलाई विश्वस्त पारेको भए पनि मतदान भन्दा अघिल्लो समयमा ‘सरी केही गर्न नसकिने भइयो। टिममा अलिकति कुरा मिलेन। अर्को पटकमा गरौँला’ भन्ने कुरा आउनुले पार्टीमा रहेको गुटबन्दी छर्लङ्ग भएको उनको भनाई छ।

नेकपा एमालेको कुश्मा नगर कमिटीको सचिव बनेका पत्रकार पौडेलले पत्रकारिताको आँखाबाट हेर्दा सुधार गर्नुपर्ने देखिएका कुराहरूलाई राजनीतिका माध्यमबाट सुधार गर्न सकिने सम्भव देखिएकाले आफू सक्रिय राजनीतिमा देखा परेको बताउँछन्।

पत्रकारले समाजमा रहेका समस्याहरू पत्ता लगाउने र बाहिर ल्याउने गरे पनि समाधान गर्ने हैसियतमा नरहेका कारण त्यसको उपाय राजनीति पनि हुन सक्ने उनको भनाइ छ।

‘जस्तै भनौँ देशमा आर्थिक समृद्धिका कुरा गर्ने हो भने पत्रकारिताको भन्दा राजनीतिको बल बढी पुग्छ। हामी आर्थिक विकासको तीव्र अवस्थामा रहेका कारण अब राजनीतिमा युवाको आगमन र फराकिलो बिचारलाई प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘पत्रकारको रूपमा रहँदा धेरै सामाजिक समस्याहरू देखिए, जसको समाधान पत्रकारिताको माध्यमबाट हुँदैन।

राजनीतिक नेतृत्वबाट ती समस्याको व्यवस्थापन हुने भएकोले म आफू राजनीति नेतृत्वमा आएको हुँ। सबैको सहकार्यबाट काम गर्न सकिन्छ भन्ने मलाई लाग्छ।’ तर त्यसमा पुरानो पुस्ताका अग्रजको साथ चाहिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.