|

बलिउडमा मित्रता, दुश्मनी, प्रेमका किस्सा धेरै सुन्न पाइन्छ।

बलिउडको करिब सय वर्षको इतिहासमा फिल्मी शैलीकै प्रेम, शत्रुता र मित्रताका थुप्रै कथा आज पनि बेलाबेलामा चर्चामा आइरहन्छन्।

यहाँ बलिउड स्टारका केही यस्ता सम्बन्धबारे उल्लेख गरिएको छ जो दुुश्मनी हुँदै मित्रतामा बदलिएको छ।

१. दिलीपकुमार र देव आनन्द

बलिउड फिल्मका दुई वरिष्ठ अभिनेता दिलीपकुमार र देव आनन्दको सम्बन्ध निकै चिसो रह्यो। यसको कारण त्यो बेलाकी सुन्दर अभिनेत्री सुरैयालाई मानिन्थ्यो।

दिलीपकुमार सुरैयालाई निकै मन पराउँथे भने सुरैयाको मन देव आनन्दमा अल्झिएको थियो।

यही कारणले धेरै वर्षसम्म उनीहरूबीच आपसमा बोलचाल भएन।

एक अर्कासँग प्रेममा रहेका सुरैया र देव आनन्दको पारिवारिक कारणले गर्दा बिहे भने हुन सकेन।

त्यसपछि देव आनन्दले अर्की अभिनेत्री कल्पना कार्तिकसँग विवाह गरे र दिलीपकुमारले सायरा बानोसँग विवाह गरे तर सुरैया भने जिन्दगीभर अविवाहित नै रहिन्।

उमेर बढ्दै जाँदा दिलीपकुमार र देव आनन्दबीच आपसी मनमुटाव पनि मेटिँदै गयो।

कुनै समय एक अर्कालाई देख्न मन नपराउने उनीहरू बुढेसकालमा भने मिल्ने साथी बनेका थिए। 

२. अमिताभ बच्चन र राजेश खन्ना

७० को दशकमा अमिताभ बच्चन भर्खर फिल्म क्षेत्रमा प्रवेश गर्दा राजेश खन्ना बलिउडका सुपरस्टार थिए।

बलिउडमा राजेशले आफ्नो ठाउँ बनाइसकेका थिए भने अमिताभले पनि छोटो समयमै धेरै वटा हिट फिल्म दिए र 'एंग्री यङम्यान'को उपनाम पाए।

तर राजेशसँग उनको तुलना भने गरिएको थिएन।

सुरुमा राजेश र अमिताभको सम्बन्ध उति खराब थिएन। सन् १९७१ मा ऋषिकेश मुखर्जीले दुवैलाई लिएर 'आनन्द' निर्देशन गरे। 

उक्त फिल्मबाट राजेशले उत्कृष्ट अभिनेताको तथा अमिताभले उत्कृष्ट सह-अभिनेताको फिल्म फेयर अवार्ड पनि पाएका थिए।

सोही फिल्मबाट अमिताभलाई राजेशसँग दाँज्न थालियो। त्यसपछिका केही वर्ष अमिताभ र राजेशको सम्बन्ध चिसो रह्यो।

भित्री कारण कसैलाई थाहा नभए पनि दुईको सम्बन्धमा दरार आउनुको कारण 'स्टारडम'को लडाइ भनियो। 

पछिल्ला वर्षहरूमा भने राजेश र अमिताभको सम्बन्ध सुमधुर रहेको बताइन्छ। 

३. श्रीदेवी र माधुरी दीक्षित

आफ्नो समयका चर्चित अभिनेत्री श्रीदेवी र माधुरी दीक्षितको सम्बन्ध पनि सुरुदेखि नै चिसो रहेको मानिन्छ।

जतिबेला माधुरी बलिउडमा प्रवेश गरिन् त्यतिबेला श्रीदेवीको लोकप्रियता उत्कर्षमा थियो।

श्रीदेवीको विकल्प नै नरहेको अवस्थामा माधुरीको प्रवेशले बलिउडमा एउटा तरङ्ग ल्यायो।

सुरुदेखि नै एकपछि अर्को हिट फिल्म दिएपछि माधुरीको तुलना श्रीदेवीसँग हुन थाल्यो। दुई जना अघोषित प्रतिस्पर्धी बने।

यसकारण दुई जनाको सम्बन्ध केही वर्ष तिक्ततापूर्ण रहेको मानिन्छ। 

पछि भने दुवै जना मिल्ने साथी बने। सन् २०१८ मा श्रीदेवीको आकस्मिक निधनमा माधुरी निकै दुःखी भएकी थिइन्। 

४. धर्मेन्द्र र जितेन्द्र

कुनै समय बलिउडका 'धर्म वीर' भनेर चिनिने धर्मेन्द्र र जितेन्द्र पछि एक अर्काको मुखसम्म हेर्न नचाहने भए।

हेमा मालिनीका कारण धर्मेन्द्र र जितेन्द्रको सम्बन्धमा चिसो पसेको मानिन्छ।

हेमा धर्मेन्द्रलाई माया गर्थिन् भने जितेन्द्र हेमालाई। परिवारको सहमतिअनुसार जितेन्द्र र हेमाको विवाह हुन लाग्दा धर्मेन्द्रले उक्त विवाह रोकेका थिए।

त्यही घटनापछि यी दुई जनाको सम्बन्धमा चिसो पसेको थियो। पछि हेमा र धर्मेन्द्रको विवाह भएपछि सम्बन्ध झनै खराब हुन गयो। 

वर्षौं एक अर्काको मुख नै नहेरी बिताएका धर्मेन्द्र र जितेन्द्र पछिल्ला वर्षहरूमा बोलचाल मात्र गरेनन् फेरि पहिलेजस्तै मिल्ने साथी पनि बनेका छन्।

५. सलमान खान र शाहरुख खान

सन् २००८ जुलाई १६ को साँझ कट्रिना कैफको २४ औँ जन्मदिनको पार्टी हुँदै थियो।

धेरै बलिउड सेलिब्रेटिसँगै सलमान र शाहरुख पनि कट्रिनालाई जन्मदिनको शुभकामना दिन त्यहाँ पुगेका थिए।

फ्यान फलोइङ, हिट फिल्म, फ्लप फिल्म दुवैका उस्तै उस्तै थिए तर त्यो बेला 'चक दे इण्डिया', 'ओम शान्ति ओम' जस्ता फिल्मले गर्दा शाहरुखको चर्चा अलि बढी थियो। 


आफ्नो फिल्ममा शाहरुखले केमियो रोल नगर्ने भनेको कुरालाई लिएर सलमानले शाहरुखलाई गिज्याउन थाले। त्यहाँबाट सुरु भएको विवाद हात हालाहाल भएर टुङ्गियो।

उक्त घटनापछि धेरै वर्ष सलमान र शाहरुखको सम्बन्ध पानी बाराबारको जस्तो बन्यो।

तर पछिल्ला केही वर्षदेखि दुवै जना मिल्ने साथीको रुपमा देखिन थालेका छन्। 

एक अर्काका फिल्म तथा कार्यक्रममा देखिने मात्र होइन पारिवारिक समस्यालाई लिएर पनि दुई जनामा सल्लाह हुने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.