|

काठमाडौं : तेजाब (एसिड) आक्रमण तथा आगोबाट जलेकाको पीडा कस्तो हुन्छ? त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। अरूले त अनुमान मात्र लगाउने हो।

तिनै एसिड र जलनपीडितको शरीरमा लागेका घाउ र मनको पीडामा मलमपट्टी गर्न तल्लीन व्यक्ति हुन् उज्ज्वलविक्रम थापा।

कतै एसिड आक्रमण वा जलनको घटना भए अस्पताल, प्रहरी तथा पीडितको पहिलो फोनको घण्टी थापालाई आउँछ। फोन कल आउनबित्तिकै दिन होस् वा राति पीडितलाई आर्थिक सहयोग गर्न या मनोसामाजिक परामर्श दिन उनी अस्पतालको बेडसम्म पुगिहाल्छन्।

उनी कहिले काठमाडौं उपत्यकाको कीर्तिपुर अस्पताल त कहिले सुष्मा कोइराला मेमोरियल अस्पतालको बेडसम्म पुग्ने गर्छन्। 

संगीता र सीमाको पीडाले जन्मिएको अभियान

२०७२ फागुन २१ फागुनमा संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण भयो। आक्रमणबाट घाइते संगीता मृत्युसँग पौंठेजोरी खेल्दै वीर अस्पतालको बेडमा छटपटिरहेकी थिइन्।

यो घटनाको खबर पाएसँगै थापा अस्पताल पुगे। नजिकै बसेर केही हुँदैन, नआत्तिनु भन्दै संगीतालाई सान्त्वना दिए। संगीताले केही सहज महसुस गरिको उनले अनुमान लगाए। यो घटनाले एसिड र जलनपीडितको दुःखमा मलम लगाउने इच्छा थापामा पलायो। र‚ उनी एसिड तथा जलनपीडितको घाउमा मलम लगाउने अभियानमा जुटे।

त्यसयता उनले १६ वटा एसिड आक्रमणका घटना नजिकबाट नियालेका छन्। त्यसबाहेक जलनपीडितलाई आर्थिक सहयोग तथा मनोसामाजिक परामर्श दिँदै आएका छन्।

बाल्यकालमा सधैं आए हुने लाग्ने चाडबाड हिजोआज उनलाई कहिल्यै नआओस् जस्तो लाग्छ। अभियानको क्रममा उनले देखेका छन्‚ यही बेला आगलागीका घटना भएको।

‘चिसो मौसम‚ चाडबाड नजिकिएसँगै आगलागीका घटना बढी हुन्छन्‚’ उनी भन्छन्, ‘त्यसैले मलाई चाडबाड र जाडो याम आएपछि निन्द्रा नै लाग्दैन।’

कति बेला कुन ठाउँबाट आगलागी हुने हो भन्ने डरले निदाउन नसक्ने उनी सुनाउँछन्।

‘मैले घरमा चाडबाड नमनाएको पाँच वर्ष भयो‚’ थापाले सुनाए‚ ‘अस्पतालबाट निको भएर फर्केका पीडितको खुसीमा नै आफू रमाइरहेको हुन्छु।’ 

मन मरेको मान्छे!

अधिकांश मानिसले बिरामीलाई यथार्थ कुरा बताउँदैनन्। बिराम कति गम्भीर छ‚ त्यो भन्न सक्दैनन्। तर‚ थापा यसको विपरीत छन्। उनी बिरामीको समस्या परिवारका सदस्यसँग नभई बिरामीलाई नै भन्छन्।

बिरामीलाई नै बताउँदा केही समय सम्झाउन कठिन भए पनि यथार्थ भनिदिँदा बिरामीले विस्तारै आफूलाई सम्हाल्दै जाने थापाको अनुभव छ।

‘अन्य घटनाभन्दा जलनको घटना फरक छ। शरीरको कुनै अंग नै काट्नुपर्ने अवस्था पनि हुन्छ,’ उनले भने, ‘आफ्नो शरीरको अंग फ्याँक्नुपर्दा नरुने कुरै हुँदैन। तर, बिरामीलाई आफ्नै खुट्टामा उभ्याउन झुटो बोल्नु हुँदैन।’

अन्य घटनाका बिरामीको जीवनभर नमेटिने बाहिरी दाग देखिँदैन। तर, एसिड आक्रमण र आगलागीबाट हुने जलनले बाहिरी सौन्दर्य बिगारिदिन्छ। त्यसैले लामो समयदेखि यस्ता बिरामीको उपचारमा सहयोग गर्दै आएका उनलाई अझै पनि कोही जलेको देख्दा डर लाग्ने गरेको उनले बताए।

किनकि‚ थापाकै अगाडि सयौं शरीर जलेर नचल्ने भएका छन् भने कतिको आँखैअगाडि मृत्यु भएको छ।

‘यी सब घटना देख्दादेख्दै पनि चाहिँ कहिल्यै नपर्ने रहेछ,’ थापाले भने, ‘घटना भयो भन्दा अहिले पनि कताकता डर लागिरहन्छ।’

मनमा पीडा हुँदाहुँदै पनि आफूलाई केही नभए झैं गरी बोल्नपर्ने बाध्यता उनीसँग छ। ‘उनीहरूको अगाडि कठोर बन्नु पर्छ‚’ थापाले भने‚ ‘त्यसैले म आफूलाई मन मरेको मान्छे भन्न रुचाउँछु।’

उनी आर्थिक अवस्था निकै कमजोर भएकालाई आर्थिक सहयोग गर्छन्। आर्थिक सहयोग गर्न नपर्ने बिरामीको आत्मबल बढाउन अस्पतालको बेडसम्म पुग्छन्।

थापाले हालसम्म १७ वटा एसिड आक्रमणका घटनालाई नजिकबाट नियालेका छन्। यस्ता घटनामा  अधिकांश किशोरी पीडित  हुने गरेका छन्। एसिड आक्रमणबाहेक अन्य जलनका करिब तीन हजार घटनामा काम गरिसकेका छन्।

आमाको काख खाली नहोस् भनी गुडिया

नेपालमा काठमाडौंबाहेकका जिल्लामा जलेका बिरामीको उपचार गर्ने विशेष अस्पताल छैन। त्यसैले उपचारका लागि काठमाडौ नै आउनुपर्ने बाध्यता छ।

जलेका बिरामीमध्ये पनि बालबालिकाको उपचार निक्कै कठिन हुने थापा बताउँछन्। यदि उपचारका क्रममा बालबिलकालाई बचाउन सकिएन भने त्यसको पीडा कति हुन्छ भन्ने अनुमान गर्नै सकिन्न। थापा भन्छन्, ‘आफू सम्हालिएर अगाडि बढ्नुको विकल्प हुँदैन।’

काठमाडौं आउँदा काखमा च्यापेर ल्याएका छोराछोरीलाई सधैंका लागि छाडेर फर्किनुको बिकल्प हुँदैन। त्यसैले घर फर्कंदा काख खाली नहोस् भनेर ती आमालाई गुडिया दिएर पठाउने गरेको थापाले बताए।

अस्पताल अभाव

नेपालमा आगोले जलेको, एसिड आक्रमणले भएको जलनको उपचार विकसित देशमा जस्तो सहज छैन। काठमाडौंबाहेकका जिल्लाका अस्पतालले यस्ता बिरामी हेर्दैनन्।

काठमाडौं उपत्यकामा पनि वीर अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पताल र कीर्तिपुर अस्पतालमा मात्र जलनका बिरामीको उपचार हुने गर्दछ। त्यसैले देशका दूर-दराजमा भएका जलनका बिरामी काठमाडौं ल्याउनै पर्ने हुन्छ। टाढाबाट ल्याउनु पर्दा कतिपय बिरामीको अवस्था बाटोमै जटिल बन्ने वीर अस्पतालका प्लाष्टिक सर्जरी डाक्टर पियुस दाहाल बताउँछन्।

जलनपछिको आठ घण्टा बिरामीका लागि अत्यन्तै जटिल अवस्था हुने डा. दाहाल बताउँछन्। उनले भने‚ ‘जलेको घाउ छिटो भित्री भागमा फैलिन्छ। दूर-दराजबाट काठमाडौं आउँदा बिरामीको अबस्था जटिल भइसक्ने हुनाले बचाउन कठिन हुन्छ।’

विदेशमा ९० प्रतिशत जलनका बिरामी उपचारपछि निको भएका सुनिन्छ। दाहाल भन्छन्, ‘नेपालमा शरीरको ३० प्रतिशतभन्दा बढी जलेको छ भने उपचार सम्भव नै हुँदैन।’

नेपालमा पछिल्लो समय जलनका घटना बढ्दै गएका छन्। जलनपीडितको उपचारका लागि सरकारले उपत्यका केन्द्रित नभई देशका विभिन्न स्थानबाट उपचार सञ्चालन गर्नुपर्ने दाहाल बताउँछन्।

विश्वमा सन् १९६७ मा बंगलादेशमा एसिड आक्रमण पहिलो घटना थियो। अझै पनि बंगलादेश यस्ता घटना हुने देशमा अग्रपंक्तिमा छ। सन् १९९९– २०१३ सम्मको तथ्यांकअनुसार यहाँ ३ हजार ५१२ जनामाथि एसिड आक्रमण भएको थियो। छिमेकी मुलुक  भारतमा  हरेक वर्ष लगभग २५० देखि ३०० सम्म यस्ता घटना हुने गरेका छन्।

सरकारी तथ्यांक अनुसार नेपालमा भने सन् २०१४ देखि हालसम्म २२ वटा एसिड आक्रमणका घटना भएका छन्। जसमध्ये १८ महिला र चारजना पुरुष पीडित भएका छन्।

सन् २०१५ मा एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थी संगीता मगर र सीमा बस्नेतलाई काठमाडौंको वसन्तपुरमा उनीहरुकै शिक्षकले एसिड आक्रमण गरेका थिए। २०१९ सेप्टेम्बर ७ मा विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै उनकै छिमेकीबाट एसिड आक्रमण भएको थियो।

२०२० मे १६ मा २० वर्षीया जेनी खड्कामाथि एसिड आक्रमण भएको। २०२० जुलाई ७ मा पवित्रा कार्कीमाथि काठमाडौंमा एसिड आक्रमण भयो। यसरी पछिल्लो समय एसिडका घटना बढ्दै गएका छन्। जसलाई सरकारले नियन्त्रण गर्नू पर्ने  अभियनताहरुको भनाइ छ।

एसिड आक्रमण कुनै मानिसलाई मार्ने, कुरुप बनाउने वा अंगभंग गर्ने उद्देश्यले उसको शरीरमा एसिड फालेर गर्ने एक प्रकारको हिंसा वा अपराध हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.