‘नयाँ पुस्ताले नेताको फेरो समातेर हिँड्न नछाडेसम्म नेतृत्व परिर्वतन हुँदैन’

|

काठमाडौं : नेपाली राजनीतिक वृत्तमा सबै राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो छ। सत्तापक्ष र प्रतिपक्षसहित साना दलहरु पनि महाधिवेशनको तिव्र तयारीमा छन्।

सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)देखि नेकपा मालेसम्मलाई महाधिवेशनको भोक जागेको छ। महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्न नभएर विधान र संविधानअनुसार पार्टीको वैधानिकता जोगाउनका लागि मात्रै राजनीतिक दलहरुले महाधिवेशन गर्न लागेको देखिन्छ। 

पाँच दलीय सत्ता गठबन्धनले सत्ताबाट सडकमा पुर्‍याएको नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा अरु नेताहरु देखिएका छैनन्। कांग्रेसमा पनि सभापति शेरबहादुर देउवा नै दोहोरिने संभावना धेरै छ। संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आधा दर्जनबढी सभापतिका आकांक्षी भएकाले देउवालाई लाभ मिल्ने देखिन्छ। 

यस्तै, दश वर्षे जनयुद्धको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प अझै तयार देखिँदैन। निरन्तर प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्रले पनि वैधानिकता जोगाउनकै लागि भए पनि राष्ट्रिय सम्मेलन मात्रै गर्ने तयारी गरिरहेको छ।

प्रचण्डको स्थान लिनसक्ने जनयुद्धका अधिकांश सारथीले साथ छाडेपछि माओवादीमा नेतृत्व लिनसक्ने दोस्रो तहका नेताहरु देखिएका छैनन्। अन्य साना दलले पनि महाधिवेशन नेतृत्व परिर्वतनका लागि नभएर पार्टीको वैधानिकता जोगाउनकै लागि मात्रै गरिरहेका छन्। 

एमालेमा ओली सर्वसम्मत !

अध्यक्ष ओलीसँग कुरा नमिलेपछि एमालेमा माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीबाट विद्रोह गरे। नेपाल र खनालको विद्रोहपछि एमालेमा ओलीको स्थान लिनसक्ने नेता देखिएका छैनन्। अध्यक्षको दाबेदार हुनसक्ने महासचिव ईश्वर पोखरेलले पनि ओलीको विकल्प नभएको स्पष्ट रुपमा राखिसके। उनी एमालेको विधान महाधिवेशनले सिर्जना गरेको वरिष्ठ उपाध्यक्षमा पदमा दावेदारका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। 

भलै, पार्टी विभाजनमा माधव नेपाललाई साथ छाडेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाललाई आगामी महाधिवेशनमा अध्यक्षको सम्भावित उमेदवारको रुपमा हेर्न थालिएको छ। तर, उनीहरु ओलीसँग प्रतिस्पर्धा गर्न सक्ने बलियो प्रतिस्पर्धी होइनन्।

यद्यपी उपाध्यक्ष रावलले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न भ्याइसके। भुसाल भने बोलेका छैनन्। 

ओलीसँग १० बुँदे सहमति कार्यान्वयनको विषयमा रुष्ट रावलले अध्यक्ष पदमा दाबी गरेर वरिष्ठ उपाध्यक्ष पदलाई सुरक्षित गर्न खोजेको संस्थापन पक्षका नेताहरु बताउँछन्। तर, ओली महासचिव पोखरेलको विकल्पमा रावललाई लिन सक्दैनन्।
 
माधव नेपाललाई साथ छाडेका रावल र भुसालमध्ये अरु सबै नेताहरु ओलीको विकल्प देख्न छाडेकाले अध्यक्षमा सर्वसम्मत रुपमा ओली आउने पक्कापक्की छ। त्यसैको तयारीस्वरुप महाधिवेशन प्रतिनिधि पनि अधिकांश जिल्लामा सर्वसम्मत गराइएको छ।

अहिले ओलीको विकल्प नभएकै कारणले सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारीमा रहेको एमाले प्रवक्ता प्रदिप ज्ञवाली बताउँछन्।

उनी भन्छन्, ‘अध्यक्ष मात्रै नभएर सबै पदाधिकारी हामी सर्वसम्मत रुपमा चयन गर्ने पक्षमा छौँ। अहिलेको परिस्थितीमा अध्यक्षमा चाहिँ (उहाँ) ओलीलाई नै ल्याउनुपर्छ भन्नेमा पार्टीभित्र एकमत जस्तै छ।’ 

एमालेको १० औँ महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ। एमालेमा ओलीविरुद्ध उत्रिन सक्ने कोही नेता नै नभएकाले एमालेबाट विद्रोह गरेर बाहिरिएका माधव नेपालले एमाले ओलीको प्राइभेट कम्पनी भइसकेको आरोप लगाउँदै आइरहेका छन्। 
 
कांग्रेसमा देउवाकै हालीमुहाली

पार्टीको वैधानिकता धरापमा परेपछि बाध्य भएर महाधिवेशन गर्न लागेका सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमा अझै उनकै हालीमुहाली छ। संस्थापन पक्षमा उपसभापति विमलेन्द्र निधिले सभापतिको तयारीमा लाग्दासमेत देउवाले नेतृत्व छाड्ने मनस्थिति बनाएका छैनन्। 

आगामी महाधिवेशनबाट आफैं नेतृत्वमा रहन तयारी तिव्र बनाइसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पनि साझा उम्मेदवार बन्ने सम्भावना टर्दै गएपछि देउवालाई फेरि सभापति जित्ने आशा बढेको उनी निकटस्थ बताउँछन्। 

चार पटकसम्म सारेको कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ। सभापतिमा देउवासहित वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतका दाबी छ। 

संस्थापनइतर समूहमा रहेका नेता सिंहले पनि अब कुनै अवस्थामा उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राखिरहेका छन्। उनको पछिल्लो समय पौडेलसँग सम्बन्ध समेत बिग्रिसकेको छ। पौडेलले बोलाएको बैठकमा समेत उनी सहभागी भएनन्। 

१३ औँ महाधिवेशनमा पराजित भएका पौडेलको दाउ यो पटक सभापति हत्याउने रहेको छ। संस्थापनइतर समूहबाट एकजनामात्रै उमेदवार बन्ने स्थिति नरहेकाले देउवालाई फेरि जित्ने आधार तय हुँदै गइरहेको छ।

माओवादीमा निरन्तर प्रचण्ड  

नेकपा (माओवादी केन्द्र)को नेतृत्व तीन दशकदेखि निरन्तर पुष्पकमल दाहाल प्रचण्डले गर्दै आइरहेका छन्। माओवादीबाट एमालेमा गएका टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतले पार्टीको वैधानिकतामै प्रश्न उठाउँदै सर्वोच्च अदालतमा पार्टी खारेजीसम्मको मुद्धा हालिसके। 

तर, माओवादीले पार्टीको वैधानिकता जोगाउनका लागि प्रचण्डकै नेतृत्वमा पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ। निरन्तर प्रचण्डको नेतृतवमा रहेको माओवादीमा पार्टी सम्हाल्न सक्ने नेता नदेखिएको नेताहरुले स्वीकार गरिरहेका छन्। 

तत्कालीन माओवादी जनयुद्धमा प्रचण्डको विकल्पमा  डा. बाबुराम भट्टराईलाई लिने गरिन्थ्यो। तर, उनी माओवादीबाट बाहिरिएर अहिले जनता समाजवादी पार्टी (जसपा)मा पुगेका छन्। प्रचण्डको उत्तराधिकारीको रुपमा लिने  अर्का नेता थिए नेत्रविक्रम चन्द ‘विप्लव’। तर, उनी पनि फरक बाटोमा छन्। 

अहिले प्रचण्डपछि माओवादीमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा छन्। तर, पार्टी तहले उनीहरुको नेतृत्व पत्याएको छैन। प्रचण्डले अझै पनि आफूलाई साथ छाडेको बाबुरामदेखि विप्लवसम्मको एकता गरेर शक्तिशाली पार्टी खडा गर्ने रणनीतिमा छन्। 

त्यसमा सकारात्मक सन्देश पनि प्रवाह भइरहेको छ। २०४८ सालमा चारवटा कम्युनिष्ट घटकहरुबीच एकीकरणपछि नेकपा (एकता केन्द्र मसाल) नामको पार्टी बनेको थियो। 

एकताकेन्द्र मसालको महामन्त्रीबाट सुरु भएको प्रचण्डको यात्रा २०५१ सालमा राष्ट्रिय भेलामार्फत् जनयुद्धमा जानेगरी माओवादी गठन गरेर अध्यक्षको जिम्मेवारी प्रचण्डले निर्वाह गरेका थिए। जुन अध्यक्षको यात्रा अझै कायमै छ। 

राप्रपाको दु:ख पनि उस्तै

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेको राप्रपा प्रचार विभाग संयोजक मोहन श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेको छ। महाधिवेशनबाट पहिलो पटक सबै निर्वाचित पदाधिकारी ल्याउनेगरी पार्टीको विधान बन्दैछ।’

सोमबार मात्रै राप्रपाले प्रदेश अधिवेशन गरेको थियो। प्रदेश अधिवेशनपछि राप्रपाको तीनै अध्यक्ष महाधिवेशनमा केन्द्रीत भएर आफैंलाई अध्यक्षको दावेदारको रुपमा प्रस्तुत गर्ने तिव्र तयारीमा छन्। 

‘अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय  पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसहित राजेन्द्र लिङ्देन र धवल शम्शेर राणाले दाबी गरिराख्नुभएको छ’ स्रोतले भन्यो, ‘महाधिवेशन केन्द्रीत भएर यहाँ धेरै समीकरण बन्ने र भत्किने क्रम जारी छ। अहिल्यै कसले कसलाई समर्थन गर्छ भन्ने भन्न सक्ने अवस्था छैन।’

अध्यक्षत्रयलाई अभिभावकको रूपमा रहेर नेतृत्व सम्हाल्न तयार भएको लिङ्देनलाई अध्यक्ष थापाले साथ दिने सम्भावना कमै मात्रै भएको स्रोतको बुझाइ छ। 

‘सकेसम्म उहाँ आफै एक अध्यक्षको नेतृत्व चलाउने दौडमा हुनुहुन्छ। त्यसैले उहाँले लिङ्देनलाई साथ दिनुहुन्छ भन्ने मलाई लाग्दैन’ स्रोतले भन्यो, ‘अध्यक्ष थापा मात्रै नभएर राणा र लोहनी पनि समीकरण बनाउन मै व्यस्त हुनुहुन्छ।’

अध्यक्षत्रयकै फेरि दाबी रहेकाले राप्रपामा पनि नयाँ नेतृत्व आउने सम्भावना कमै रहेको नेताहरु बताउँछन्।  

मालेमा फेरि मैनाली

नेकपा (माले) को महासचिवमा पुनः सीपी मैनाली चयन भएका छन् । चितवनमा भएको आठौं राष्ट्रिय महाधिवेशनले मैनाली नेतृत्वमा ५९ केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ। 

मैनाली ३० वर्षदेखि मालेको नेतृत्वमा छन्। वि. सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव मैनाली नै हुन्। ०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो। त्यसपछि मैनाली पनि एमालेको नेता बनेका थिए।

०५४ साल फागुनमा वामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि वामदेव गौतमसँगै मालेमै रहेका थिए। ०५८ साल फागुनमा वामदेव गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली मालेमै रहेर हालसम्म नेतृत्वमा छन्। 

‘नयाँ पुस्ता अग्रसर हुनुपर्छ’ 

नयाँ पुस्ताले अग्रसर नभएसम्म राजनीतिक दलहरूको नेतृत्व परिवर्तन हुन नसक्ने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘यो धेरै पुराना रोग भइसक्यो। नेतृत्वमा पुगेपछि नेताहरुले आफै कुर्सी छाड्दैनन्। गिरिजाप्रसाद कोइरालाले त्यहीँ गरे। अहिले ओलीले त्यही गर्दैछन्। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगर्ने यो प्रवृत्ति पहिल्यैबाट मौलाएको छ।’

महाधिवेशन हुँदै गरेको दलहरुमा विचारको बहस हुन छाडेर नेतृत्वमा मात्रै ध्यान गएको उनको भनाइ छ। 

‘महाधिवेशन हुँदैछ कांग्रेसको पनि एमालेको पनि विचारमा कुनै बहस छैन। विचारको कुनै छलफल छैन। आफ्नो नेतृत्व आयो भने यस्तो गर्छु भन्ने कुनै निती छैन’ उनले भने, ‘कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी ओली र माओवादीमा प्रचण्ड नै दोहोरिरहने परिस्थिती छ। अर्को नेतालाई अवसर दिएको छैन। नयाँ नेतालाई कहीँ ठाउँ नै दिएको छैन।’   

नयाँ पुस्ताले अग्रसर भएर पुरानै पुस्ताको फेरो समात्न नछाडेसम्म नेतृत्व परिवर्तन सम्भव नभएको उनको ठम्याइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.