|

बाग्लुङ : पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन्। राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ। कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ।

जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आए पनि पहिचानविहीन यहाँको नौथर समुदायभित्रका कायत समुदाय पहिचानविहीन बनेका र हालसम्म राज्यले कुनै सुनुवाइ नगरेका कारण जनगणनामा समावेश नहुने निर्णयमा पुगेको कायत एकता समाजका अध्यक्ष नीमबहादुर कायतले जानकारी दिए।

बाग्लुङको ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदायले पहिचान नपाउँदा आफूहरू उपेक्षामा परेको बताउँदै विरोधस्वरुप जनगणनामा समावेश नहुने कायत समुदायले निर्णय गरेका छन्।

‘हामीलाई राज्यले बेवास्ता गर्‍यो, पटक–पटक नगरपालिका र जिल्ला प्रशासनमा पहिचानका विषयमा मुद्दा उठाए पनि सुनुवाइ नभएका कारण राज्यले हामीलाई बेवास्ता गरेका कारण राज्यको तथ्याङ्कमा समावेश नहुने कायत समुदायले निर्णय गरेका छौँ,’ नीमबहादुर कायतले भने, ‘जातको पहिचान नहुँदा अध्ययन तथा रोजगारीमा समेत समस्या हुँदै आएको छ, तर राज्यले १०० भन्दा बढी जातजातिलाई जातीय पहिचान दिए पनि हामी थोरै भएकालाई पहिचान दिएको छैन।’

नेपालभर कात्तिक २५ गते देखि राष्ट्रिय जनगणना २०७८ जारी छ। तीन वर्षअघि कायत समुदायको पहिचानको विषयमा संघीय संसद्मा समेत कुरा उठे पनि छलफल हुन सकेको थिएन। राज्यले पहिचानविहीन बनाएका कारण कायत समुदायले जनगणनामा समावेश नहुने जनाएको छ।

जातीय आरक्षणका कारण धेरै युवाले अध्ययनमा छात्रवृत्ति तथा रोजगारीमा कोटा पाउँदै आए पनि पहिचानविहीन बनेको नौ थर समुदायभित्रको कायत समुदाय पहिचानविहीन बन्दा रोजगारीसमेत पाउन मुस्किल भएको स्थानीयवासी विश्वास कायतले बताए। उनले जनगणनामा मात्रै हैन, आगामी दिनमा कायत समुदायले मतदानसमेत नगर्ने अवस्थामा पुगेको बताए।

ढोरपाटनमा कायत समुदायका ८० घर छन्। उनीहरुले कायत समुदायलाई अल्पसंख्यक समुदायमा राज्यले सूचीकृत गर्नुपर्ने बताउँदै आएका छन्। कतिपयले सेवासुविधा र रोजगारीका लागि कायत समुदाय जनजाति त कतिले क्षेत्री भएको उल्लेख गर्दै आएका छन्।

तीन वर्षअघि सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नौथर समुदायभित्र पर्ने ‘कायत’ समुदायलार्ई लोपोन्मुख समुदायमा सूचीकृत गरी सामाजिक सुरक्षा प्रत्याभूति गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडि बढाइएको भए पनि कायत समुदायले पहिचान पाउन सकिरहेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.