|

काठमाडौं : ‘एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानी-पूर्वक गरौं’ भन्ने मूलनाराका साथ विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाइँदै छ।

विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन र विश्व पशु स्वास्थ्य संगठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर महिनामा साप्ताहिक रूपमा यो सप्ताह मनाइँदै आएको हो।

यो वर्ष ‘सचेतना फैलाउँदै प्रतिरोध रोकौँ’ र मूलनारा ‘एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानीपूर्वक गरौं’ भन्ने नाराका साथ एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाइँदै छ।

यतिबेला एन्टीमाइक्रोबियल रेजिस्टेन्स विश्वव्यापी जनस्वास्थ्य समस्याको रूपमा देखा परेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा गलत तरिकाले एन्टीबायोटिक औषधिको प्रयोगबाट बर्सेनि करिब सात लाख मानिसको मृत्यु हुने गरेको छ।

डब्लुएचओले नियन्त्रणका लागि तत्काल ठोस कदम नचाले मृत्यु हुनेको संख्या बढेर सन् २०५० सम्म वार्षिक एक करोड पुग्ने र करिब एक सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने चेतावनीसमेत दिएको छ।

एन्टीबायोटिक औषधिको दुरुपयोग बढ्दै जाँदा भविष्यमा यस्ता औषधिले कामै नगर्ने अवस्था आउने भन्दै सचेत हुन चिकित्सकले आग्रह गरेका छन्।

सचेत हुन आग्रह

एन्टीबायोटिक औषधिको प्रयोगप्रति बिरामी आफैँ सचेत नहुने र चिकित्सकले पनि यसको प्रयोगबारे राम्रोसँग जानकारी नदिनाले दुरुपयोग बढेको स्वयम्  चिकित्सकहरू नै बताउँछन्।

चिकित्सकको सल्लाहबिनै एन्टीबायोटिक खाने प्रचलनले गर्दा दुरुपयोग बढेको बताउँछन् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर तथा फर्माकोलोजिष्ट सहप्राध्यापक डा. सतीश देव।

'मानिसहरूले आफूखुसी एन्टीबायोटिक किनेर खाने, चिकित्सकले दिएको एन्टीबायोटिक पूरा नखाने जस्ता कारण पछिल्लो समय एन्टीबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको छ'‚ उनले भने, 'यस्तै हो भने भविष्यमा हामीले खाने औषधिले शरीरमा राम्रो प्रभाव पार्ने सम्भावना कम हुँदै जान्छ।'

सामान्यतया एन्टीबायोटिक औषधि ३ देखि ७ दिनसम्म खानुपर्छ। बिरामीले एक दुई दिनमै खान छोड्ने, छिटो सन्चो हुने विश्वासले आवश्यकभन्दा धेरै एन्टीबायोटिक खाइदिने र डाक्टरले पनि यसले पार्ने असरबारे नबताउने कारण दुरुपयोग बढेको डा. देव बताउँछन्।

के हो एन्टिबायोटिक रेसिस्टेन्स?

पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ। यसलाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिने डा देवले बताए।

जति धेरै एन्टीबायोटिकको प्रयोग गर्दै गयो यसको प्रयोगबाट ब्याक्टेरियाहरूले आफूलाई रोगप्रति लड्न सक्ने क्षमता विकास गर्छ।

अर्थात् जुन रोगमा औषधि प्रयोग गर्दा पहिला सजिलै निको हुन्थ्यो तर पछि नहुने अवस्था रेसिस्ट्यान्स भनिन्छ र त्यो क्रम अहिले बढ्दै गएको उनको भनाइ छ। 

कुनै पनि बिरामीलाई एन्टीबायोटिक दिँदा त्यो एन्टीबायोटिक दिएको केही समयपछि नै त्यो रोगको ड्रग रेजिष्टान्स विकास भइसकेको हुन्छ।

त्यसको लक्षणहरू ठिक भइसकेको हुन्छ। तर, सम्पूर्ण रुपमा ब्याक्टेरियाहरू मरिसकेको हुँदैन।

बाँकी रहेका ब्याक्टेरियाहरूले त्यहाँ बाँच्नका लागि जुन कोसिस गर्छ र आफ्नो गुणलाई नै परिवर्तन गर्छ। त्यसले गर्दा एन्टीबायोटिक रेसिस्टान्स हुन्छ। त्यसैले गर्दा चिकित्सकको सल्लाहबमोजिम एन्टीबायोटिक खाएको छ भने उसलाई आफ्नो लक्षण ठिक भएपछि पनि औषधि लिनुपर्छ। यसले गर्दा एन्टीबायोटिक रेसिस्टान्स हुने सम्भावना कम हुन्छ।

अनावश्यक प्रयोगले के हुन्छ?

बिरामीको शरीरमा भएको ब्याक्टेरियालाई मार्न वा शरीरमा थप संक्रमण फैलिनबाट रोक्न प्रयोग गरिने औषधिलाई एन्टीबायोटिक भनिन्छ।

भाइरसले गर्दा हुने संक्रमण (रुघाखोकी, घाँटी खसखसाउने) जस्ता भाइरसजन्य संक्रमणमा एन्टीबायोटिकको प्रयोग गर्न नहुने भए पनि आफूखुसी मानिसले एन्टीबायोटिक औषधि पसलमा किनेर खाने बानी धेरैमा रहेको डा. देवले बताए।

हाल कृषि क्षेत्रमा र पोल्ट्रीफर्ममा पनि एन्टीबायोटिक औषिधको प्रयोग बढ्दै गएको छ। त्यसैले त्यस्ता फर्मका कुखुरा र अण्डा उपभोग गर्दा मानिसको शरीरमा समेत असर देखिन थालेको डा. देवको भनाइ छ।

चिकित्सकको परामर्शबिना एन्टीबायोटिकको प्रयोग गर्न नहुने र चिकित्सकहरूले पनि बिरामीलाई अत्यावश्यक परेको खण्डमा मात्रै यसको प्रयोग गर्न दिनुपर्ने डा. देवले बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.