सचिवमै दर्जन बढी दाबेदार, व्यवस्थापन गर्न ओलीलाई चुनौती

|

काठमाडौं : नेकपा (एमाले)लाई १० औँ महाधिवेशनको चटारो छ। मंसिर १०–१२ गतेसम्म चितवनमा हुने महाधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्ने छ। 

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको हो। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहनेछन्।

अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रुपमा दोहोरिने पक्काजस्तै छ। माधवकुमार नेपाल र झलनाथ खनालले एमालेबाट विद्रोह गरेपछि ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने नेता देखिएका छैनन्। पार्टी विभाजनको बेलामा माधव नेपालको साथ छाडेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालबाहेक सबै नेता मौनता साँधिरहेका छन्।

ओलीसँग प्रतिस्पर्धा गरेर पदाधिकारी बन्न नसक्ने अवस्था देखिएपछि नेताहरुले मौन बसेका प्रष्ट बुझिन्छ। अध्यक्षको दाबेदार हुनसक्ने महासचिव ईश्वर पोखरेलले पनि ओलीको विकल्प नभएको बताइसकेका छन्। अधिकांश नेताहरुले ओलीलाई नै निर्विकल्प अध्यक्ष स्वीकार गरिरहेको अवस्थामा उपाध्यक्ष रावल र उपमहासचिव भुसालले अध्यक्षको उम्मेदवारी दिनसक्ने आंकलन गर्न थालिएको छ। 

उपाध्यक्ष रावलले अध्यक्ष पदमा उठ्ने घोषणा गरिसक्दा भुसाल भने बोलेका छैनन्। तर, संसद विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नको लागि ओलीको स्थान लिन सक्ने कोही नेताहरु नभएको महासचिव पोखरेलले सार्वजनिक रुपमै राखिसकेका छन्। 

बुधबार महाधिवेशनमा जनपरिचालनबारे वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, ‘हामी सहमतिमै नेतृत्व चयन गछौँ। हाम्रोमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौँ।  व्यक्तिगत रूपमा साथीहरूले मत दिनुहुन्छ। राजनीति अहिले दुई ध्रुवमा ध्रुवीकृत भएको छ, एउटा ध्रुवको नेतृत्व ओलीले गरिरहनुभएको छ। अर्को गठबन्धनले विचार र सिद्धान्तहीन नेतृत्व गरिरहेका छ।’

वरिष्ठ उपाध्यक्षमै चर्को रस्साकस्सी

असोजमा भएको विधान महाधिवेशनले पहिलो पटक वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको छ। यो एमालेमा पहिलो अभ्यास हो। पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्षले अध्यक्षको काममा आवश्यक सहयोग गर्ने, अध्यक्ष अनुपस्थितिमा अध्यक्षले गर्ने काम गर्ने, अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरु गर्ने, केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरु गर्ने जिम्मेवारी पाउनेछ। 

अध्यक्षपछिको पार्टीमा जिम्मेवार पद खडा गरेको हुनाले ओलीले आफ्नो विश्वासपात्रलाई वरिष्ठ उपाध्यक्षमा ल्याउन चाहेका छन्। त्यसैले ओलीको पहिलो रोजाइमा पर्छन् महासचिव ईश्वर पोखरेल। उनले अब फेरि महासचिवमा उम्मेदवार नबन्ने घोषणाले आफूलाई वरिष्ठ उपाध्यक्षको दाबेदारका रुपमा प्रस्तुत गरिसकेका छन्। 

यता, ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट रोक्न खोज्ने उपाध्यक्ष भीम रावलले पनि वरिष्ठ उपाध्यक्षमा आफ्नो अधिकार सुनिश्चित गर्न खोजेको एमाले निकट नेताहरु बताउँछन्। 

‘उहाँले अहिले अध्यक्ष दाबी गरेर वरिष्ठ उपाध्यक्ष पदलाई सुरक्षित गर्न खोज्नुभएको जस्तो देखिन्छ। अध्यक्षज्यूले पार्टीमा एकताबद्ध बनाउनका लागि सर्वसम्मतकाे खोजी गरिराख्नुभएको छ’ ओली निकट एक नेताले भने। 

वरिष्ठ उपाध्यक्षमा पोखरेलसहित सुवासचन्द्र नेम्वाङ, भीम रावल, माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलले पनि दाबी प्रस्तुत गर्न सक्छन्। तर, उनीहरुले मुख खोलेका छैनन्। 

उपाध्यक्षमा उस्तै लर्को

एमालेको नयाँ विधानले चार उपाध्यक्षको व्यवस्था गरेको छ। विधानअनुसार उपाध्यक्षको जिम्मेवारी अध्यक्षको काममा आवश्यक सहयोग गर्नका साथै केन्द्रीय, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेको हुन्छ। 

अहिले उपाध्यक्ष भीम रावलसहित युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सक्रिय छन्। त्यो भन्दा माथिल्लो तहमा स्थान नपाए विधानत: उनीहरु स्वत: उपाध्यक्षको दाबेदार हुने देखिन्छ। 

यी बाहेक बरिष्ठ उपाध्यक्षमा स्थान नपाए रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्बाङ पनि उपाध्यक्षको लाइनमा आउन सक्ने अनुमान छ। यसबाहेक  रघुजी पन्त, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, लालबाबु पण्डितलगायत नेताहरुले आफूलाई उपाध्यक्षको दावेदारको रुपमा प्रस्तुत गरिरहेका छन्।   

महासचिवका प्रमुख तीन दाबेदार

विधानमा एमालेले एकजना महासचिवको व्यवस्था गरेको छ। नवौँ महाधिवेशनमा निर्वाचित महासचिव पोखरेलले सोही पदमा नबस्ने बताइसकेका छन्। अध्यक्ष ओलीले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा आफ्नो विश्वासपात्रलाई नै ल्याउन चाहेका छन्। 

महासचिवमा ओलीको विश्वासपात्रको रुपमा चिनिएका विष्णु पौडेल र शंकर पोखरेलको चर्चा छ। यस्तै, महासचिवमा पार्टी विभाजनको क्रममा माधव नेपालको साथ छाडेका सुरेन्द्र पाण्डेले पनि दाबी गरिरहेका छन्। 

उपमहासचिव घनश्याम भुसाल र सचिव प्रदीप ज्ञवालीको पनि दाबी रहनसक्ने अनुमान गरिएको छ। सचिव पदमै दोहोर्याउनका लागि भए पनि महासचिवमा दाबी गर्नुपर्ने अवस्था छ।  अध्यक्ष ओलीले आफू निकट नेता ल्याउन खोजेकाले महासचिवमा पौडेलको सम्भावना बढी देखिन्छ। 

तर, पार्टी विभाजनको बेलामा माधव नेपालको साथ छाडेका सुरेन्द्र पाण्डे पछिल्लो समय ओलीसँग नजिक भएका छन्। महाधिवेशन आयोजक कमिटीको संयोजन गरिरहका पाण्डेले ओलीबाट महासचिवको आश राखेका छन्। उनले सार्वजनिक रुपमै आफ्नो महासचिवमा दाबी रहेन बताइसकेका छन्। त्यसो त पोखरेल पनि कमजोर प्रतिस्पर्धी होइनन्। 

उप-महासचिव

एमालेको विधानअनुसार उपमहासचिव एक जना मात्रै हुने व्यवस्था छ। नवौँ महाधिवेशनबाट उप महासचिवमा घनश्याम भुसाल निर्वाचित भएका थिए। माधव नेपाल र झलनाथ खनालले पार्टीबाट विद्रोह गरेपछि ओलीविरुद्ध भुसाल अध्यक्षमा उठ्नसक्ने समेत चर्चा चलिरहेको छ। 

अहिले उनले कुन पदमा दाबी गर्ने मुख खोलेका छैनन्। पार्टी विभाजनपछि पनि ओलीविरुद्ध फरक मत राख्दै आएका भुसाल व्यवस्थापनको ओलीलाई चुनौति छ। त्यसैले ओलीले भुसालको उचित व्यवस्थापन गर्न सक्छन्। 

चुनाव नै भएको अवस्थामा ओलीबाहेक अन्य खेमाबाट कोही निर्वाचित हुनसक्ने अवस्था छैन। ओलीले भुसालको विकल्पमा सचिव प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ वा अन्य कोहीलाई ल्याउन सक्छन्। 

सचिवहरु दोहोरिने संभावना!

एमालेको विधानअनुसार ७ जना सचिव पदको व्यवस्था गरेको छ। असोजमा भएको विधान महाधिवेशनले ५ बाट सचिवको संख्या ७ पुर्‍याएको थियो। 

नवौँ महाधिवेशनबाट प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ गरी ५ जना सचिव छन्। विधानमा कुनै एक पदमा दुई कार्यकाल रहन पाउने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर अहिलेकै अधिकांश सचिवहरु दोहोरिने पक्षमा छन्। त्यसो त सचिव योगेश भट्टराइले सार्वजनिक रुपमै विधान अनुसार आफू सोही पदमा रहनसक्ने बताइसकेका छन्।

प्रदेशअनुसार ७ जना बनाउनुपर्ने र समावेशीता लागू गर्नुपर्ने भएकाले रघुवीर महासेठ, किरण गुरुङ, छविलाल विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, टोपबहादुर रायमाझी, खगराज अधिकारी, लेखराज भट्ट, विष्णु रिमाल, यमलाल कँडेल, मणि थापा, भानुभक्त ढकाल, ठाकुर गैरे, शेरधन राई, डोरमणि पौडेललगायत अन्य नेताहरुले सचिवमा दाबी गर्ने मनस्थिति बनाएका छन्। 

यसपटक केन्द्रीय सदस्य धेरै नयाँ अनुहार आउने भएकाले केन्द्रीय सदस्य बन्न कै लागि भए पनि पदाधिकारीको दाबी गर्नुपर्ने देखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.