|

काठमाडौं : काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयअगाडि बुधबार बिहान ११ बजे रोजगारीको खोजीमा विदेशिन चाहने युवाहरूको ठूलो भीड लागेको थियो।

उनीहरू वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन त्यहाँ आएका थिए।

कोरोना संक्रमणको जोखिम कम भएसँगै रोजगारीको खोजीमा विदेशिनेको लर्काे फेरि बढ्न थालेको छ।

कार्यालय परिसरमा हजारौं युवा लाइनमा देखिन्छन्। तर, कार्यालयको काम भने ‘सरकारी काम कहिले जाला घाम’ भनेझैं नै छ।

कार्यालयले श्रम स्वीकृति बायोमेट्रिक गर्न सेवाग्राहीलाई अनलाइन टोकनको व्यवस्था गरिएको छ। 

लाइनको सास्ती न्यून गर्न सुरु गरिएको अनलाइन प्रणालीले पनि सेवाग्राहीलाई अझै समस्या थपेको छ।

रोजगारीको खोजीमा विदेशिने अधिकांश नेपाली युवा प्रविधिका जानकार हुन्छन्।

कार्यालयले सफ्टवेयरमा काम गर्न थालेसँगै युवाहरू अझै अलमलमा पर्ने गरेका छन्।  

'मोबाइलबाट टोकन पाइन्छ भनेको थियो। आज ४ दिनसम्म आएन। टोकन लिनकै लागि ५ दिन कार्यालयमै धाउनु परेको छ,' नेपालगञ्जबाट आएका मुबिन अन्सारीले भने, ‘टोकन खुला गरेको ५ सेकेन्डमा सकिँदो रहेछ। जति पटक प्रयास गर्दा पनि भेटिँदैन।’

गत बुधबार नेपालगञ्जबाट काठमाडौं आएका अन्सारी शुक्रबार टोकन लिन कार्यालय आएका थिए।

आजभोलि भन्दाभन्दै ५ दिनमा बल्ल टोकन लिन पाएको उनले सुनाए। अन्सारीको सोमबार साउदी अरेबियाको टिकट छ।

टोकन देखाउँदै उनले भने, ‘टोकन त पाएँ, अब श्रम स्वीकृति पाउन कति दिन लाग्ने हो?’

कार्यालयको यो समस्या पहिलो भने होइन। कोरोनाको जोखिम न्यून गर्न भन्दै कार्यालयले केही समयअघि अनलाइन माध्यमबाट टोकन वितरण सुरु गरेको थियो।

टोकन सेवाग्राहीले फेला पार्नै सक्दैनन्। हाल कार्यालयले दिनमा २ पटक अनलाइनमा टोकन खोल्ने गर्छ।

अनलाइन सिस्टममार्फत टोकन नम्बर (सिरियल नम्बर) र मिति पाइन्छ। तर, त्यो सिस्टमबाट टोकन पाउन नसकेको सेवाग्राहीको गुनासो छ। 

यो समस्या कार्यालयबाट सेवा लिने अधिकांश सेवाग्राहीले भोगिरहेका छन् र ​घण्टौं पर्खिँदा पनि टोकन नपाएपछि निराश हुँदै फर्कने गरेका छन्।

त्यही भीडमा नुवाकोटका अजय तामाङ भेटिए। कार्यालयले टोकन छाड्ने सूचना कतिबेला सुनाउँछ भन्दै हातमा कागजपत्र बोकेर यताउता दौडिँदै थिएँ।

उनको पनि साउदीको लागि बिहीबारको उडान छ।

९ बजे खुल्ने टोकनका लागि बुधबार बिहान ८ बजे कार्यालय आइपुगेका थिए। १ बजेसम्म कार्यालयले दुई पटक गरी ४ सय टोकन अनलाईनबाट खुला गर्‍यो तैपनि उनले लिन पाएनन्।  

अनलाइनले हटाएन समस्या 

हाल कार्यालयले सञ्चालनमा ल्याएको अनलाइन फारम आफैंले मोबाइलबाट विश्वका जुनसुकै ठाउँबाट भर्न सकिन्छ।

तर, सेवाग्राहीले आफैंले भर्न नजान्दा कार्यालयबाहिर रहेका बीमा कम्पनीमार्फत फारम भर्ने गर्छन्।

सेवाग्राहीले फारम स्क्यानिङ गरेर आफ्नो युजर र आइडीबाट अनलाइन सिस्टममा अपलोड गर्नुपर्छ।

बिहान ९ बजे र दिउँसोको १ बजे दुई पटक गरी ४ सय टोकन अनलाइनमार्फत वितरण गरिन्छ।

तर कार्यालयको सफ्टवेयरले टोकन अन गरेको ५ सेकेन्डमै टोकन सकिन्छ। देशविदेशबाट टोकन लिन मिल्ने हुँदा कार्यालयमा उपस्थित हुनेहरू हेरेकोहेरै हुन्छन्।

सरकारले अनलाइन माध्यमबाट दिएको सुविधा प्रभावकारी नभएको सेवाग्राहीको गुनासो छ। 

 

कोरोना संक्रमणपछि वैदेशिक रोजगार कार्यालयले अनलाइन टोकन सञ्चालनमा ल्याएको थियो।

कोरोना पूर्ण रुपले नियन्त्रणमा नआइसकेको र वैदेशिक रोजगारीमा जानेको संख्या थोरै हुँदा प्रभावकारी देखिएको थियो।

सेवाग्राहीको चाप बढेकाले समस्या भएको विभागका निर्देशक राजेश उप्रेतीले बताए। कुनै व्यक्तिलाई छिटो टोकन दिने व्यवस्था नभएको उनको भनाइन।

उनले भने, ‘सफ्टवेयरमार्फत हुने हुँदा जतिसक्दो चाँडो सिस्टमबाट टोकन लिनुपर्ने हुन्छ।’

सिस्टममा जति पनि टोकन जारी गर्न मिल्छ तर त्यसै दिन बेलुकासम्ममा काम गरिसक्नु पर्ने कार्यालयले जनाएको छ।

हाल कार्यालयको क्षमताअनुसार काम भइरहेको निर्देशक उप्रेती बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.