२५ हजार रूपैयाँभन्दा बढी भारतीय रकम बोकेका भारतीय पक्राउ परिरहेका छन्

|
सिमरा विमानस्थल। फाइल तस्वीर

बारा : सिमरा विमानस्थल हुँदै पोखरा र काठमाडौं घुम्न जाने भारतीय पर्यटकले विमानस्थलमा सास्ती बेहोर्नुपरेको छ।

नेपाल राष्ट्र बैंकले सय रूपैयाँभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि नेपाल घुम्न आएका भारतीय पर्यटकले सास्ती भोग्नुपरेको हो।

१ सयको २५ हजारभन्दा धेरै भारतीय रकम बोकेर आएका पर्यटकलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने गरेको छ।

वीरगञ्ज भन्सार हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकलाई भन्सारमा सूचना केन्द्र नहुनु तथा विमानस्थल आइसकेकाका लागि भारू सटही गर्न एटिएम मेसिनको व्यवस्था छैन।

सिमरा विमानस्थलका प्रहरी प्रमुख माधवप्रसाद पुडासैनीले एक सयका नोटमा २५ हजार रूपैयाँभन्दा बढि रकम बोकेका व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सिमरा बुझाउने गरेको बताए।

‘५ सय, १ हजार र २ हजारको भारतीय नोट बोक्न प्रतिबन्ध छ, त्यस्तो भेटिए हामीले पक्राउ गरेर इप्रका सिमरा बुझाईदिन्छौं र सिमराले  राजस्व  अनुसन्धान कार्यालयमा कारबाही तथा जरिवानाका लागि पठाउँछ,’ इन्चार्ज पुडासैनीले भने।

पछिल्लो समय सिमरा—पोखरा हवाई उडान शुरु भएपछि वीरगञ्ज नाका हुँदै नेपाल घुम्न आउने भारतीयको संख्यासमेत ह्वात्तै बढेको छ।

राष्ट्र बैंकको विदेशी विनिमय ऐनमै एक सयभन्दा माथिको भारतीय रकम २५ हजारसम्म मात्रा ल्याउन मिल्ने कानुनी अडचनका कारण नेपालका विभिन्न  धार्मिक तथा पर्यटकीय स्थल घुम्न आएका भारतीयलाई समस्या भएको हो।

इप्रका सिमराले गएका २ महिनामा १४ हजार ५ सयदेखि २ लाख रूपैयाँसम्म भारतीय रकम बोकेर आएका ६ जनालाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।

इप्रका सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले सानो रकमको हकमा व्यावहारिकता हेर्ने गरेको बताए।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले भने सरकारले नीतिगत तहबाटै सुधार नगरेसम्म नेपाल घुम्न आएका भारतीयलाई समस्या भइरहने जनाएको छ।

‘हामीले त प्रहरीसँग बुझेर धरौटी लिएर सम्बन्धित मुद्दा अदालतमा अभियोजन गर्ने मात्रै हो,’ राजस्व अनुसन्धान कार्यालयका एक अधिकारीले भने, ‘पर्यटन बोर्डले नेपाल घुम्न आएका पर्यटकलाई भन्सारमै सबैखाले सूचनाको व्यवस्था गर्नुपर्छ।’

सिमरा-पोखरा उडान शुरु भएपनि १० हजार, २० हजार, ५० हजार भारतीय रकम बोकेका पर्यटकलाई समेत प्रहरीले रकम सहित राजस्वमा पठाउने र राजस्वले ३ गुणा जरिवाना लिएर धरौटीमा छोड्ने गरेको छ।

कोरोनाका कारण पछिल्लो २ वर्ष नेपालमा तेस्रो मुलुकका पर्यटकको चहलपहल घटेको छ भने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ।

भारतीय पर्यटक नेपालमा पशुपतिनाथ, मुक्तिनाथ, पोखरा, मुस्ताङलगायत धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने गरेका छन्।

पर्यटन अभियन्ता मोहन शर्माले नेपालमा पैसा खर्च गर्न आउने भारतीय पर्यटकलाई उल्टै कारबाही र जरिवाना गर्ने नीति तत्काल परिवर्तन गर्नुपर्ने माग गरेका छन्।

'यस्तो झन्झटिलो व्यवस्थाले नेपालको पर्यटन व्यवसायमा धेरै समस्या ल्याउँछ,’ शर्माले भने, ‘कोभिडका कारण अझै पनि विदेशीहरू नेपाल घुम्न आउने वातावरण छैन्, यस्तो बेलामा समेत आन्तरिक पर्यटकलाई जग मानेर  भारतीय पर्यटकलाई मुख्य पर्यटक मानेर पर्यटन प्रवर्द्धन गर्नुपर्छ।’

अहिले दैनिक करिब ५ हजार भारतीय पर्यटक वीरगञ्ज नाका हुँदै नेपाल आउने गरेको अभियन्ता शर्माले दाबी गरेका छन्।

‘कोभिडपछि दैनिक ३-५ हजार भारतीय पर्यटक विभिन्न माध्यमबाट नेपाल आउने गरेको हाम्रो अनुमान छ,’ उनले भने।

सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टका अनुसार अवैध रुपमा नेपालमा भारतीय नोटको कारोबार नहोस् भन्नका लागि यो नियम लागू गरिएको हो।

उनले भारतीय पर्यटकलाई सहज बनाउन छिट्टै एटिएम मेशिनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.