|

धनकुटा : घ्यु फलको रूपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरु भएको छ।

धनकुटा जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशविदेशमा प्रचार गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबारदेखि दुईदिने एभोकाडो महोत्सव सुरु भएको हो। धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुनेछ।

सुन्तला, जुनार, मुन्तलाजस्ता कृषि उत्पादनमा अगाडि रहेको धनकुटाले यी उत्पादनमा विस्तारै ह्रास आउन थालेपछि धनकुटा नगरपालिकाले एभोकाडो खेतीमा जोड दिएको थियो। धनकुटा नगरपालिकाले २०७५ सालमा नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकले उत्साहपूर्वक एभोकाडोको खेती गरिरहेका छन्।

आफ्नो जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवर्धन गर्नका साथै नगरक्षेत्रमा उत्पादन हुने एभोकाडोको प्रचारप्रसार गर्न एभोकाडो महोत्सव आयोजना गरिएको धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापाले बताए। एभोकाडो उत्पादनको प्रवर्धन गर्न धनकुटा नगरपालिकाले यसअघि नै पहिलो एभोकाडो महोत्सव आयोजना गरिसकेको छ।

कोरोना महामारीका कारण गत वर्ष महोत्सव आयोजना भएको थिएन। यसपटकको महोत्सवमा नगरक्षेत्र तथा देशभर उत्पादन भएका एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी नगरक्षेत्रका एभोकाडो कृषकलाई प्रविधि हस्तान्तरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

महोत्सवमा एभोकाडोका ३० वटा स्टल रहेका छन्। महोत्सवको दोस्रो दिन आइतबार संघसंस्थाका प्रतिनिधि र सम्बन्धित क्षेत्रका सरकारी प्रतिनिधिका साथै एभोकाडो उत्पादक किसान र व्यापारीबीच अन्तरसंवाद आयोजना गरिने भएको छ। यसबाट सो क्षेत्रमा देखा परेका रोगको प्रकोपजस्ता समस्याको पहिचान र व्यवस्थापनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।

एभोकाडो महोत्सवको प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले धनकुटामा एभोकाडोको विकासका लागि मन्त्रालयले काम गरिरहेको बताए। उनले एभोकाडोमा विभिन्न समस्या देखापरेकाले त्यसको समाधान गर्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लागि परेको बताए।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एभोकाडोको बजारीकरणका लागि नगरपालिकाले काम गरिरहेको बताए। महोत्सवको अवसरमा पारेर धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी बनाउन महत्त्वपूर्ण योगदान गरेका कृषि अभियन्ता जीवनकुमार राईलाई धनकुटा नगरपालिकाले सम्मान गरेको थियो।

पहिलो एभोकाडो महोत्सवको अवसर पारेर धनकुटा–६ परिचय मोडमा करिब ३० लाख रुपैयाँको लागतमा धनकुटा नगरपालिकाले पार्कसहित एभोकाडोको प्रतिमा निर्माण गरी धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरेको थियो।

हाल धनकुटा नगरक्षेत्रमा एभोकाडोको व्यावसायिक खेती हुने गरेको छ। घरैपिच्छे एभोकाडोका बिरुवा रोपिएका छन्। नगरक्षेत्रमा एक लाखभन्दा बढी एभोकाडोका बिरुवा किसानले रोपेका छन्। यीमध्ये ३० हजार एभोकाडोका बिरुवा फल दिने अवस्थामा छन्। १५ हजार बिरुवाले उत्पादन दिइरहेका छन्।

धनकुटा नगरक्षेत्रमा एभोकाडो खेती गर्ने २ हजार ५ सय घरधुरी रहेका छन्। ती घरधुरीले रोपेको एभोकाडोका बोटले अहिले उत्पादन दिइरहेको छ।

एभोकाडो उत्पादनमा नेपालमै अग्रपंक्तिमा आउने धनकुटामा अहिले वार्षिक दुई लाख किलो एभोकाडो उत्पादन हुने गरेको बताइन्छ। धनकुटामा करिब ३० वर्षअघि एभोकाडो खेती भित्रिएको बताइएको छ। पछिल्लो समय यो खेतीको विस्तार तीव्र रूपमा भइरहेको छ। बजारमा एभोकाडोको मूल्य प्रतिकिलो डेढ सयदेखि तीन सय रुपैयाँ पर्छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.