भेरोसेल खोपबारे छलफल गरिँदै

|

काठमाडौं : दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा इजरायल रोजगारीका लागि छनोट भएका कामदारलाई सरकारले पुस दोस्रो सातादेखि पठाउने तयारी गरिरहेको छ।

छनोट भएका १ हजार १७५ जना कामदारलाई तत्काल कोरोनाविरुद्धको खोप व्यवस्था गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ। श्रम मन्त्रालयले मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, कोभिसिल्ड, सिनोफार्म वा सिनोभ्याक खोपलाई मान्यता दिएको छ।

छनोट भएका कामदारहरूका स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेकाले उनीहरुलाई तत्कालै खोपको व्यवस्था गर्ने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। ती कामदारमध्ये कतिपयले भेरोसेल खोप लगाइसकेको बताइएको इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए। तर‚ मन्त्रालयले मान्यता दिएको खोपमा भेरोसेल खोप छैन। त्यसैले उनीहरूबारे के गर्ने भन्ने छलफल भइरहेको सुनुवारको भनाइ छ।

‘भाषा पास गरेका कतिपय कामदारले पहिला नै भेरोसेल खोप लगाइसकेका छन्। तर‚ सरकारले उक्त खोपलाई मान्यता दिएको छैन‚’ उनले भने‚ ‘भेरोसेल खोपलाई पनि मान्यता दिनका लागि छलफल भइरहेको छ।’

पहिलो चरणको स्वास्थ्य परीक्षण सम्पन्न

इजरायल रोजगारीका लागि अन्तिम छनोटमा परेकामध्ये ५०० जनाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम सम्पन्न भएको छ। बाँकी ६७५ जनाको स्वास्थ्य परीक्षणसहित प्रहरी प्रतिवेदनको काम भइरहेको विभागले जनाएको छ।

विभागले स्वास्थ्य परीक्षणको रिपोर्ट इजरायल पठाउने छ। त्यससँगै श्रमिक र रोजगारदाताबीच श्रम सम्झौताको काम हुने विभागले जनाएको छ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनोटका लागि नेपालले पिवालाई उपलब्ध गराएको योग्यता सूचीका १ हजार ६०० जना उम्मेदवारमध्येबाट १ हजार १७५ छनोट भएका हुन्। मेडिकल लगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएको भन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ। यसका महिला ८२१ र पुरुष ३५४ जना रहेका छन्।

इजरायलले पठाएको नामावलीको आधारमा क्रमशः १ हजार १७५ जनालाई नै अभिमुखीकरण तालिम समयमा नै सम्पन्न गर्ने गरी तयारी गरिएको शाखा प्रमुख सुनुवारले जानकारी दिए।

विभागले इजरायल जाने कामदारको पारिश्रमिक मासिक १ लाख ९० हजार रूपैयाँ हुने विभागको भनाइ छ। एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाउने छन्। श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखीकरण, पासपोर्ट, पिसिआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित १ लाख ६५ हजार ७०० शुल्क  तिर्नु पर्ने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.