|

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको दश महिनाको अवधिमा हालसम्म एक करोड ७० लाख २६ हजार ३ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

२६ प्रतिशतले लगाए पूर्ण खोप

गत वर्षको माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा हालसम्म ३० दशमलव  प्रतिशत अर्थात् ९१ लाख २० हजार १४ जनाले एक मात्रा र २६ प्रतिशत अर्थात् ७९ लाख ६ हजार ३ सय ६९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चैतसम्म सबैलाई खोप लगाउने लक्ष्य

२०७६ सालको माघमा नेपालमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको एक वर्षपछि २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। भारतले अनुदानमा १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएसँगै खोप अभियान सुरु भएको खोप अभियानमा हालसम्म प्राथमिकताको आधारमा सबैलाई खोप लगाइ रहिएको र सरकारले पुससम्म लक्षित जनसङ्ख्याको दुई तिहाइ आगामी चैतसम्म २ करोड १५ लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइसकिने सरकारी लक्ष्य छ।

गत माघ १४ गते देशभरका ६६ जिल्लाका १२० भन्दा बढी खोप केन्द्रबाट खोप अभियान सुरुवात भएको थियो।

अब कति खोप आउँदै छ?

स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. सागर दाहालका अनुसार हालसम्म नेपालमा २ करोड ५४ लाख  ७० हजार ६३० डोज खोप आएको र ती सबै खोप प्राथमिकताको आधारमा लगाइएको बताए। ‘नेपालमा खोप अभियान सुरु भएसँगै हालसम्म २ करोड ५४ लाख डोज खोप आइपुगेको छ र हामीले प्राथमिकताको आधारमा सबैलाई खोप लगाउँदै आएको छ’‚ उनले भने।

यस्तै अब सरकारले किनेको ६० लाख मात्रा फाइजरको खोप ३/४ महिनाभित्र आउने र सरकारले नै कोभ्याक्समार्फत खरिद गरेर ल्याउन खोजेको ४९ लाख १६ हजार ४ सय मात्रा सन् २०२१ भित्रै आउनेछ।

त्यस्तै मोडर्नाको ५० लाख मात्रा र सिनोफार्मको ५० लाख मात्रा खोप सन् २०२२ को सुरुमै आउनेछ। जोन्सन एन्ड जोन्सनको ५० लाख मात्रा र नाम नखुलेको ६१ लाख मात्रा खोप पनि आउने मन्त्रालयको विवरणमा उल्लेख छ। नेपालमा​ हालसम्म नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको जोन्सन एन्ड जोन्सन र जापानले उपलब्ध गराएको एस्ट्राजेने र अमेरिकाले नै उत्पादन गरेको फाइजर खोप लगाइएको छ।​

कसले कहिले खोप लगाए

नेपालमा कोरोनाविरुद्धको खोप सुरु भएको गत माघ १४ गतेबाट फागुन १० गतेसम्म पहिलो चरणमा देशभरका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, सुरक्षाकर्मी र पत्रकारहरूलाई खोप लगाइएको थियो भने फागुन २३ गतेबाट दोस्रो चरणमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र हिमाली जिल्लामा ५५ वर्षदेखि माथिका र तेस्रो चरणमा ५५ देखि ६३ वर्ष समूहका नागरिकलाई खोप दिइएको थियो।

त्यसपछि सरकारले खोपको उपलब्धताको आधारमा १८ वर्षमाथिका नागरिकलाई खोप लगाएको थियो। पछिल्लो समय कात्तिक २८ बाट मङ्सिर ४ गतेसम्म १२ देखिमाथि उमेर समूहका र दीर्घ रोगीहरूलाई फाइजर खोप लगाइएको थियो भने मंसिर ५ गतेबाट बाँकी रहेका फाइजर १२ देखि १७ वर्षका बालबालिकालाई लगाइँदै छ।

अब १८ वर्षभन्दा माथिका सबैलाई खोप

यस्तै सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ। पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो। सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको बताए।

उनले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन समेत आग्रह गरेका छन्।

यसैगरी सबै गर्भवती महिलालाई पनि खोप लगाउन सुरु गरिएको छ। यसअघि उच्च जोखिम भएका गर्भवती महिलालाई मात्र खोप लगाइए पनि अबदेखि गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए। दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ।

पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको समेत बताइएको छ। काठमाडौं स्वास्थ्य कार्यालयका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा वयोधा अस्पताल, गोंगबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रबाट नियमित खोप प्रदान भइरहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.