ओलीविरुद्ध भीम रावल र घनश्याम भुसालबाहेक बोल्दैनन् कोही

|

काठमाडौं : नेकपा एमालेको १० औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गइरहेको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकांक्षीको लर्को लागेको हो। 

महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा केपी शर्मा ओलीलाई नै पुनः दोहोर्‍याउने प्रयास भइरहेका वेला उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ। 

माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलोपटक हुन लागेको महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्। पार्टी विभाजनका वेला नेता नेपालको साथ छाडेर एमालेमै बसेका उपाध्यक्ष रावलले मात्र अहिलेसम्म एमालेमा उम्मेदवारी घोषणा गरेका छन्। 

नेता नेपालको साथ छाडेका १० नेतामध्ये उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसालबाहेक अन्य नेता अझै मौन छन्। ओलीविरुद्ध संघर्षमा उत्रिए कुनै जिम्मेवारी नपाउने आशंकामा उनीहरू नेता मौन रहेका हुन्। 

ओलीले पार्टी एकताको भाव ल्याउँदै गर्दा १० नेता र माओवादी केन्द्र छाडेर एमालेमै बसेका नेताहरूको व्यवस्थापन गर्नु कडा चुनौती बनेको छ। अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदका लागि आकांक्षीको संख्या दोब्बरभन्दा धेरै छ। 

एकताको अधिवेशन गर्ने प्रयास भइरहेका वेला पार्टी अध्यक्षमा उपाध्यक्ष रावलको उम्मेदवारी र उपमहासचिव भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमध्ये एक पदमा उम्मेदवारीको तयारी गरिरहेका छन्। पदाधिकारीमा आकांक्षीको लर्को लागिरहेका वेला निर्वाचन हुने सम्भावना प्रबल बन्दै गइरहेको छ।    

सचिवमा आकांक्षीको लर्को 

एमालेको विधानमा ७ जना सचिवको व्यवस्था गरिएको छ। असोजमा भएको विधान महाधिवेशनले सचिवको संख्या ५ बाट ७ पुर्‍याएको थियो। 

नवौँ महाधिवेशनबाट प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ गरी ५ जना सचिव छन्।

विधानमा कुनै एक पदमा दुई कार्यकाल रहन पाउने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर अहिलेकै अधिकांश सचिवहरू दोहोरिने पक्षमा छन्।

तीबाहेक दर्जन हाराहारी नेता सचिवका लागि भित्रभित्रै लबिङ गरिरहेका छन्। ओलीको विश्वासपात्रका रूपमा परिचित केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिवमा आफ्नो दाबी रहेको उनको भनाइ छ। 

पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष ओली र एमालेको रक्षा कवचको रूपमा युवाहरूलाई परिचालन गर्न सचिवमा उम्मेदवारी दिन उपयुक्त ठानेको उनले प्रष्ट बताइसकेका छन्। 

प्रदेशअनुसार ७ जना बनाउनुपर्ने र समावेशिता लागू गर्नुपर्ने भएकाले रघुवीर महासेठ, किरण गुरुङ, छविलाल विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, खगराज अधिकारी, लेखराज भट्ट, विष्णु रिमाल, यमलाल कँडेल, मणि थापा सचिव पदका आकांक्षी छन्। 

यसैगरी भानुभक्त ढकाल, ठाकुर गैरे, शेरधन राई, डोरमणि पौडेल, शेरबहादुर तामाङ, यामलाल कँडेल, कर्ण थापा, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खिमलाल भट्टराई, राधा ज्ञवाली, पद्मा अर्याल, गोकुल बाँस्कोटा लगायतले पनि सचिवमा दाबी गर्न लबिङ गरिरहेका छन्। 

भित्रभित्रै तयारी गर्ने आकांक्षी धेरै भए पनि अहिलेसम्म महेश बस्नेतले बाहेक अरू कसैले मुख खोल्न सकेका छैनन्। सचिवका आकांक्षीको लर्को बढ्दै गइरहेका वेला ओलीलाई ती सबै नेता व्यवस्थापन गर्नु ठूलै चुनौती बन्दै गइरहेको छ। उपाध्यक्ष रावल र उपमहासचिव भुसालबाहेक अन्य नेताले ओलीसामु पदको दाबी गर्ने आँट गरेका छैनन्।

स्थायी कमिटी सदस्य हुनका लागि पनि तत्काल सचिवमा दाबी गर्ने नेताको संख्या बढेको चर्चा पार्टीभित्रै चलिरहेको छ। 

सचिवको जिम्मेवारी 

पार्टीको विधानअनुसार केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भएर एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था छ। 

पार्टीको विधानको धारा ६३ मा भनिएको छ, ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तिमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ। तर, महिला दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिले भने ७ वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्नेछ। केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटी सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्छ।’

विधानमा उल्लेख भएअनुसार सचिवले महासचिवको काममा आवश्यक सहयोग गर्ने, महासचिवले प्रत्यायोजन गरेका काम गर्ने, केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य काम गर्ने व्यवस्था छ।  

मत्थर १० ‘भाइ’! 

पार्टीभित्र विवाद चर्किँदा ओलीको सबैभन्दा धेरै विरोध गर्ने नेतृ थिइन् उपाध्यक्ष अष्टलक्ष्मी शाक्य तर, बागमती प्रदेशको मुख्यमन्त्री बनेपछि उनको बोली फेरिएको छ। 

पार्टी विभाजन भोगेका वेला एकताको सन्देश दिनका लागि भएसम्म सर्वसम्मतको प्रयास गर्नुपर्ने उनी बताउँछिन्। 

उनी भन्छिन्, ‘हामीले गुट र प्यानल बनाएर प्रतिस्पर्धा गर्ने वेला छैन। त्यसैले सबैलाई समेटेर सर्वसम्मत रूपमा एकताको भाव जनाउनुपर्छ।’

पार्टी पदाधिकारीमा आकांक्षी धेरै भए पनि त्यसको व्यवस्थापनको मुख्य जिम्मेवारी अध्यक्ष ओलीमाथि नै हुने उनको भनाइ छ।

‘महाधिवेशनपछि हामी पार्टीलाई सुदृढ एमाले बनाउनुपर्छ भन्ने पक्षमा लागेका छौँ। गुटमुक्त बनाएर सामूहिक नेतृत्वको आधारमा अगाडि बढ्नुपर्छ’‚ उनले भनिन्, ‘महाधिवेशनमा पदाधिकारीमा आउन चाहने धेरै देखिएको छ। अब अध्यक्षज्यूले क्षमता, योगदान लगायतलाई मूल्यांकन गरेर सबैलाई समेट्नुपर्छ।’ 

उपाध्यक्ष रावल र उपमहासचिव भुसालबाहेक उपाध्यक्ष शाक्यसहित माधव नेपाल समूह छाडेर एमालेमा नै बसेका युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेताहरू मौन छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.