बादलकाे सम्मानजनक व्यवस्थापनकाे दबाबमा ओली

|

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकतापछि (साविक नेकपा)को अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बनेका थिए। अध्यक्षद्वयको आन्तरिक टकरावले लामो समयसम्म विवाद चलिरह्यो। 

नेकपाको विवाद निकासका लागि ओली-प्रचण्डको उत्तराधिकारीका रुपमा सुवासचन्द्र नेम्बाङलाई लिइन्थ्यो। तर, ओलीले पुष ५ गते पहिलो पटक संसद विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालको घेराबन्दी परे। नेम्बाङले ओलीकै कारण अवसर गुमाए। 

सर्वोच्च अदालतले फागुन ११ गते पहिलो पटक संसद् पुनःस्थापना गरिदिएपछि ओली कमजोर बनिरहेका थिए। पार्टीभित्रबाटै दुई तिहाईको बहुमत नेताको घेराबन्दी भइरहेको बेलामा फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदियो। 

पार्टीभित्र एक्लिँदै गएका ओली अदालतको फैसलापछि एकाएक शक्तिशाली बने। भलै, एमालेमा फर्किसकेपछि पनि माधव नेपालसँग ओलीको कुरा मिल्न सकेन। लामो रस्साकस्सीपछि नेता नेपाल र झलनाथ खनाल समूहले पार्टीबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे। 

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा ओलीसँग पराजित भएका नेपालको विद्रोहपछि पहिलोपटक एमालेले महाधिवेशन गर्दैछ। यही १० गतेदेखि १२ गतेसम्म चितवनमा १० औँ महाधिवेशन हुँदैछ। कक्षा नदोहोर्याउने वचन गरेका ओलीको नेतृत्वमा सर्वसम्मतको प्रयास भइरहेका बेला उपाध्यक्ष भीम रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणाले परिस्थिती मोडिएको छ। ओलीले स्पष्ट रुपमा महाधिवेशनमा प्रतिस्पर्धा गर्न चाहनेलाई बाटो खुला भएको बताइसकेका छन्।   

शनिबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, ‘मेरा कारणले कसैलाई दबाब दिन्न, दबाब हुने खालका कुनै काम हुँदैन। मेरो इच्छा त मिलेर जाने हो, कर लगाएर उठ्नु भन्नुपरोस् न, सहमति नभए सबैमा चुनाव हुन्छ, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म।’

उपाध्यक्ष रावलपछि विस्तारै नेताहरुले आफ्नो मुख खोल्न थालेका छन्। महाधिवेशनमा पहिलो पटक एमालेले अभ्यासमा ल्याएको वरिष्ठ उपाध्यक्ष को हुन्छ? भन्नेमा आम चासोको बिषय बनेको छ। 

वरिष्ठ उपाध्यक्षको पहिलो दाबेदार हुन् महासचिव ईश्वर पोखरेल। 

दुई पटक पार्टीको महासचिवको जिम्मेवारी सम्हालिसकेका पोखरेल वरिष्ठ उपाध्यक्षको स्वभाविक दाबेदार हुन्। विधानअनुसार दुई कार्यकालभन्दा एउटै पदमा बस्न नपाउने भएकाले उनले वरिष्ठ उपाध्यक्षको चाहा गरेका छन्। 

पार्टीको विधानअनुसार ७० बर्ष उमेर हद कायमै रहे ११ औँ महाधिवेशनबाट पोखरेल पदाधिकारीमा रहन पाउँदैनन्। उनी ६७ वर्षका भइसके। त्यसैले उनले आफूलाई वरिष्ठ उपाध्यक्षको रुपमा पेश गर्दै भित्री ‘लविङ’मा लागेको निकटस्थहरु बताउँछन्। 

यस्तै, वरिष्ठ उपाध्यक्षमा स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले उम्मेदवारीको घोषणा गरिसकेका छन्। 

उनी भन्छन्, ‘अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी छ। अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतिको प्रयास भइरहेको छ। चुनाव नै हुने भए वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहने छ। त्यसबारेमा मैले छलफल गरिरहेको छु।’

यसअघि आठौँ र नवौँ महाधिवेशनमा सभामुख र दुईपटक संविधानसभा अध्यक्ष भएकै कारणले नेम्बाङले उपस्थिती जनाउन पाएका थिएनन्। तर, अहिले नेम्बाङलाई पनि पार्टीको जिम्मेवार पद सम्हाल्न पाउने अन्तिम अवसर नै हो। विधान अनुसार ११ औँ महाधिवेशनमा उनलाई उमेर हद बाधक हुन्छ। नेम्बाङ अहिले ६९ वर्षका भइसकेका छन्। 

विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा सक्रिय छन्। एमालेका तर्फबाट कानुन तथा न्याय मन्त्री भइसकेका उनले संविधानसभा अध्यक्ष र सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका छन्। नेम्बाङको नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण भएको थियो। 

यस्तै, वरिष्ठ उपाध्यक्षको अर्का बलिया दावेदार हुन् रामबहादुर थापा ‘बादल’।

साविक नेकपाकै विवादको बेलामा प्रचण्डको साथ छाडेर एमालेमै रहेका पूर्वमाओवादी नेता बादलले पनि वरिष्ठ उपाध्यक्षको लागि लविङ गरिरहेका छन्। विवादित राजनीतिक अवस्थामा निर्णायक मोडमा मात्रै मुख खोल्ने बादलले अहिले पनि त्यसबारेमा बोलेका छैनन्। 

तर, पार्टीलाई एकताबद्ध बनाउनको लागि उनको दाबी स्वभाविक लिइएको छ। स्रोतका अनुसार पूर्वमाओवादी समूहले एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, दुई सचिवसहित २५ केन्द्रीय सदस्य दाबी गरेको छ। तर, त्यसबारेमा कसैले मुख खोलेको छैन।   

पछिल्लो राजनीतिक उतारचढावको बेलामा ओलीको पक्षमा उभिएका बादल ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए। प्रचण्डको साथ छाडेर ओलीको कित्तामा उभिएका बादल समूहलाई सम्मानजनक व्यवस्थापन ओलीलाई चुनौति छ। 

पार्टीको ११ औँ महाधिवेशनमा पार्टीको विधानअनुसार बादललाई पनि उमेर हदले रोक्छ। बादल अहिले ६६ बर्षका भइसकेका छन्। त्यसो त पार्टीको दशौं महाधिवेशनबाट उनले ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको बताएका छन्।

सोमबार पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘हामीले मंसिर १० गते चितवनमा के सन्देश दिन चाहन्छौं भने हामी पुनः जनादेशबाट राजकीय सत्तामा नेकपा एमाले पुनःस्थापित हुनेछ। एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ। नेपाली जनताको सुख सम्भव छ। हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय समितिको निर्माण गरेर एउटा सक्षम नेतृत्व निर्माण गर्न चाहन्छौं। र यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौं।’

वरिष्ठ उपाध्यक्षमा तीन नेताहरुले तिव्र तयारी गरिरहेकाले निर्वाचन हुने आंकलन गर्न थालिएको छ। अध्यक्ष ओलीले पोखरेल वा नेम्बाङलाई अघि सार्नेबारे बालकोटमा छलफल भएको एक नेताले बताए। 

‘तीन जना आकांक्षीलाई हेर्दा निर्वाचन नै भएको अवस्थामा पोखरेल र नेम्बाङको प्रतिस्पर्धा हुने देखिन्छ। तर, सकेसम्म उहाँ (ओली) ले बादललाई उपाध्यक्षमा राख्न सक्नुहुन्छ होला। तर, त्यहाँ सम्मानजनक एकताको कुरा आउला’ ती नेताले भने। 

त्यसो त अध्यक्ष ओलीले काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा अहिल्यै कसैलाई आफूले नरोक्ने प्रष्ट पारेका छन्। 

ओलीले भने, ‘मैले रुचाएको वरिष्ठ उपाध्यक्ष या त निर्विरोध हुन्छ या त जसले पढी ल्याउँछ त्यसलाई नै मान्छु। प्रतिनिधिहरुले पठाएपछि मैले त्यसलाई अनादर गर्न मिल्दैन। अहिल्यै मेरो यो भन्दिनँ। परिणाम आएपछि म त्यसलाई नै आफ्नो मान्छु।’

प्रतिस्पर्धामा उत्रिन चाहानेहरुलाई पनि नरोक्ने उनले स्पष्ट राखे। पार्टीमा एक ठाउँमा भइसकेपछि यो पक्ष र त्यो पक्षको व्यवस्थापमा भन्ने नहुने उनको भनाइ छ।

सम्बन्धित समाचार:

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.