थेबेलाई सिटौलाको र कट्टेललाई शर्माको समर्थन

|

झापा : झापामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सकिएलगत्तै जिल्ला महाधिवेशनको माहौल तातिएको छ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको गृहजिल्लामा १४ औं जिल्ला महाधिवेशनमा दुईवटा प्यानलका उम्मेदवार चुनावी मैदान उत्रिएका छन्। दुवै प्यानल चुनावी मैदानमा उत्रिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ।

नेता सिटौला र प्रवक्ता शर्मा समर्थनका दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि अहिले उम्मेदवारहरू पार्टीभित्रै मत तानातानमा जुटेका छन्।

नेता सिटौला समर्थनका देउकुमार थेबे र प्रवक्ता शर्मा समर्थनका राम कट्टेल जिल्ला सभापति पदमा उठेका छन्। थेबे पूर्व जिल्ला उपसभापति हुन् भने कट्टेल वर्तमान उपसभापति हुन्।

‘देउकुमार थेबे जिताऔँ अभियान’ सचिवालयले थेबे प्यानलका पदाधिकारीको नामावली बुधबार बिर्तामोड पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

सभापति पदका उम्मेदवार थेबेको प्यानलमा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवमा कृष्ण हुमागाईँ र नवीन विमली, सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेदवार रहेका छन्।

आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेबेले आफू सभापतिका उम्मेदवार क्षेत्र नम्बर ४, उपसभापति भट्टराई क्षेत्र नम्बर ५, उपसभापति पाण्डे क्षेत्र नम्बर १, सचिव हुमागाईँ क्षेत्र नम्बर २, सचिव विमली क्षेत्र नम्बर ३, सहसचिव राजवंशी क्षेत्र नम्बर ३ र अर्का सहसचिवका उम्मेदवार भण्डारी क्षेत्र नम्बर ४ बाट रहेको जानकारी दिए।

थेबेले १३ औं महाधिवेशनमा भएको भद्र सहमतिका आधारमा अग्रज नेताहरूको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेदवारी भएको बताए।

यता प्रवक्ता शर्मा समर्थनका सभापति उम्मेदवार कट्टेलले पनि आजै  प्यानलमा आबद्ध पदाधिकारीको नाम सार्वजनिक गरेका छन्। ‘राम कट्टेल जिताऔँ अभियान’ सचिवालयले प्रेस विज्ञप्तिमार्फत उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फेको नाम सार्वजनिक गरेको हो।

त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजवंशी, सहसचिवमा उमाराम प्रसाईँ र पदम लिम्बु उम्मेदवार बन्न लागेको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि पत्रकार सम्मेलन गरी राम कट्टेलको सचिवालयले कट्टेलको पक्षमा बहुसङ्ख्यक कार्यकर्ता देखिन थालेपछि देउमान थेबे पक्षका नेताहरूले हुँदै नभएको सहमति भएको भनी भ्रम फैलाएको आरोप लगाइसकेको छ।

१३ औं महाधिवेशनताका गरिएको ९ बुँदे सहमतिपत्र समेत सार्वजनिक गर्दै कांग्रेसका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले भने, ‘सहमतिपत्रमा थेबेलाई भावी सभापति बनाउने कतै उल्लेख छैन र त्यस्तो कुनै मौखिक सहमति पनि भएको छैन।’

‘सहमतिमा ‘थेबेको राजनीतिक भूमिकालाई संवर्धन गर्ने’ उल्लेख भए बमोजिम पार्टीको भातृ संस्था समन्वय विभाग प्रमुख बनाएको र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार समेत बनाएको हो’‚ सम्बाहाम्फेले भने। यता प्रवक्ता शर्माले पनि आफू जिल्ला सभापतिमा कट्टेललाई मतदान गर्ने सार्वजनिक रूपमै आह्वान गरिसकेका छन्।

कांग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि भोलि (बिहीबार) उम्मेदवारी दर्ता र मङ्सिर १० गते शुक्रबार मतदान हुँदै छ। जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले मतदान गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.