यात्रु भन्छन् : हाम्रा लागि पासो थापेको होला

|

काठमाडौं : कुनै टुक्रिएका, कुनै पोलमा झुन्डिएका त कुनै गुजुल्टिएर डल्लो बनेको तार। कुनै तार भुईंमा छरपस्ट छन्।

घरबाट बाहिर निस्कनासाथ सडकमा ठडिएका बिजुली र टेलिफोनका सबै पोलमा देखिने दृश्य हो यो।

यतिमात्र होइन बिजुलीको पोलमा बाँध्ने गरिएका यस्ता तार अब सडक छेउका रेलिङमा समेत बाँध्न थालिएको छ।

माइतीघरको मण्डलमा तार फुटपाथमा बाँधिएको छ। सडकभरि तार लत्रिएकाले पैदल हिँडेकाहरू अल्झिएर कतिपय लड्ने गरेका छन्।

तर, न नेपाल विद्युत प्राधिकरणले तार व्यवस्थित गरेको छ न त त्यसरी लथालिङ्ग पार्ने निकायलाई व्यवस्थित गर्न लगाएको छ न त कारबाही नै गरेको छ।

अव्यवस्थित तारले सहर नै कुरुप बनाउँदासमेत उपत्यकाका काठमाडौं र ललितपुर दुवै महानगर रमिता हेरेर बसेका छन्।

 ‘हाम्रा लागि पासो थापेको होला !’

थापाथली चोकनजिकै बिजुलीको एउटा पोलबाट सडकमा लत्रिएका तार सडकभरि छरपस्ट छन्। त्यो देखाउँदै बत्तीसपुतलीकी सुनिता केसीले भनिन्, ‘यो तार हाम्रा लागि पासो थापेको होला, साता दिनभन्दा बढी भयो यसरी तार भुइँमा असरल्ल भएको मैले देखेको, खै कसैले उठाएको छैन।’

उनले त्यहाँ मात्र नभएर काठमाडौं उपत्यकाका अधिकांश सडकमा त्यसैगरी तार सडकमा असरल्ल रहेको सुनाइन्।

‘बिजुलीको पोलमा गुजुल्टो छन् तारका, भुईंभरि, सडकमा जताततै। त्यसैले त्यस्ता ठाउँमा हिँड्दा करेन्ट लाग्छ कि भन्दै डराइडराइ हिँड्नुपर्छ,’ उनले भनिन्।

कतिपय व्यक्तिले आफैं त्यस्ता छरिएका तार हटाउन खोज्दा करेन्ट लागेर ज्यान गुमाएका पनि छन्।

गत भदौमा बूढानीलकण्ठ नगरपालिका–११ कपन च्यानेखोला करिडोरका चन्द्रकुमार राईले इन्टरनेटको तार हटाउन खोज्दा करेन्ट लागेर मृत्यु भएको थियो।

​उनका आफन्तका अनुसार ती तारमा बिजुलीको लाइनले छोएको थियो। तार छुनासाथै ४५ वर्षका चन्द्रकुमार बेहोस भएर पछारिएका थिए।

उनको दाहिने हातमा तार अल्झियो। छिमेकी र स्थानीयले त्यो तार बल्लतल्ल ताने।

बेहोस भएका उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। तर उनको ज्यान जोगिएन।

पेट्रोल पम्पलाई त्रास

उपत्यकाका पेट्रोल पम्प क्षेत्रको बिजुली पोलमा बिजुली, इन्टरनेट लगायतका तार यत्रतत्र लत्रिएका छन्। यसबाट करेन्ट सर्ट भएर पम्पमा आगो लाग्ने चिन्ता पम्प सञ्चालकलाई छ।

कुपण्डोलस्थित साझा सेवाको पेट्रोल पम्पका कर्मचारीले तार अव्यवस्थित हुँदा आगो लाग्ने जोखिम रहेको बताउँछन्।

‘पेट्रोल प्रज्ज्वलनशील हुन्छ, अलिकति आगोले छोयो कि बलिहाल्छ, यसरी तार अस्तव्यस्त हुँदा आगो लाग्ने त्रास छ, तत्काल सरकारले व्यवस्थित गर्नु पर्‍याे,’ ती कर्मचारीले भने।

प्राधिकरण यसो भन्छ

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सडकमा लत्रिएका तार बिजुलीको नभएको तर्क गर्छन्।

उनले भने, ‘हाम्रो तार त व्यवस्थित नै छ, ती लथालिङ्ग देखिएको तार इन्टरनेटको हो, बिजुलीको पोल भने हाम्रै हो।’

उनका अनुसार धेरै इन्टरनेट प्रदायक कम्पनीले अनधिकृत तवरमा प्राधिकरणका पोलमा तार झुन्ड्याउने गरेका छन्। तर, उनीहरूले व्यवस्थित ढंगले तार राखेका छैनन्।

‘ती कम्पनीहरूले हामीसँग स्वीकृति नलिइकन इन्टरनेटका तार राखेका छन्,’ उनले भने, ‘हामीले पटक पटक सम्झौता गर्न अनुरोध गर्‍याैँ, व्यवस्थित बनाउन भन्यौं, तर मानेनन्।’

उनले एउटा समिति गठन गरी यससम्बन्धी सबै गतिविधिको प्रतिवेदन यही मंसिर १५ गते ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा बुझाउन लागेको बताए।

‘प्राधिकरणको कार्यकारी निर्देशक लगायतको एक समिति गठन गरी ती समस्याबारे प्रतिवेदन बनाएका छौँ, त्यो मन्त्रालयमा बुझाउँछौँ, त्यसपछि यसको समाधानतर्फ जान्छौँ,’ उनले भने।

बिजुलीको तार व्यवस्थित गर्नकै लागि तार भूमिगत गरिरहेको उनले बताए।

‘उपत्यकाभित्र बिजुलीको तार भूमिगत गर्ने काम ४० प्रतिशत भइसकेको छ,’ उनले भने, ‘अहिले पनि चावहिलको गोपीकृष्णलगायत क्षेत्रमा काम भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.