आकांक्षी धेरै, नेताहरु अझै भन्छन् सर्वसम्मतकै प्रयास

|

काठमाडौं : नेकपा (एमाले)को १० औँ महाधिवेशन भोलि शुक्रबारबाट पर्यटकीय स्थल चितवनमा सुरु हुँदैछ। पदाधिकारीमा आकांक्षीहरूले विस्तारै मुख खोल्न थालेका छन्।

काठमाडौंमा रहँदासम्म आफ्नौ उम्मेदवारीबारे मौन रहेका नेताहरु चितवन पुगेर धमाधम उम्मेदवारी घोषणा गर्न थालेका हुन्। महाधिवेशनका लागि चितवन पुगेका केपी शर्मा ओलीले भने विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन्। 

तर, एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष ओलीकै नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे। 

वरिष्ठ उपाध्यक्षमा आकांक्षी रहेका नेम्वाङले चितवन पुगेर भने, ‘भोलि महाधिवेशन उद्घाटनपछि बन्द सत्रमा प्रवेश गर्छौँ। त्यसपछि सबै प्रक्रिया सुरू हुन्छ। हामी भनिरहेका छौँ, जस्तो हामी जुन ठाउँमा उभिएका छौँ। हामी महाधिवेशनलाई भव्यताका साथ सफल बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छौँ। 

बोल्न थाले नेताहरु 

महाधिवेशनमा सहभागी हुन धेरैजसो नेताहरु बिहीबारै चितवन पुगिसकेका छन्।  काठमाडौंमा रहँदा उम्मेदवारीबारे मौन रहेका नेताहरु चितवन झरेपछि आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्।

वरिष्ठ उपाध्यक्षका आकांक्षी रहेका पूर्वमाओवादी धारका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल आफ्नो उम्मेदवारीबारे मौन रहे। 

तर, अध्यक्ष ओलीकै नेतृत्वमा सर्वसम्मतको प्रयास जारी रहेकाले भोलि मात्रै परिस्थिती अनुसार आफू उठ्नेबारे निर्णय लिने बताए। 

यस्तै, एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन्। १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने स्पष्ट रुपमा राखेका छन्। 

पार्टीमा जिम्मेवारीपूर्ण पद मानिएको महासचिवमा ओली निकटका बिष्णु पौडेल र शंकर पोखरेलको पनि दाबी छ। 

यस्तै, एमाले सचिवमा पदमा उम्मेदवारी घोषणा गर्ने नेताहरुको संख्या धेरै छ। सचिवमा योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य, रघुवीर महासेठ, किरण गुरुङ, छविलाल विश्वकर्मा, शिवमाया तुम्बाहाङ्फेले, खगराज अधिकारी, लेखराज भट्ट, विष्णु रिमाल, यमलाल कँडेल, मणि थापा, भानुभक्त ढकाल, ठाकुर गैरे, शेरधन राई, डोरमणि पौडेल, शेरबहादुर तामाङ, यामलाल कँडेल, कर्ण थापा, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खिमलाल भट्टराई, राधा ज्ञवाली, पद्मा अर्याल, गोकुल बाँस्कोटा, अरुण नेपाल, राजेन्द्र गौतमलगायत नेताहरुले आकांक्षी छन्। 

भोलिदेखि चितवनमा सुरु हुन लागेको महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर पुगेका शेरधन राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको बताए। 

उनले भने, ‘राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु। त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ। त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु।’

यस्तै, सचिव गोकर्ण बिष्टले पनि फेरि सचिवमै दोहोरिने आकांक्षा व्यक्त गरे। 

चितवनमा पुगेर बिष्टले भने, ‘महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने भन्ने बिषयमा छ। महाधिवेशनमा आएका छौँ’, भरतपुर विमानस्थलमा विष्टले भने, ‘अरु कमरेडहरूसँग छलफल हुन्छ। मैले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छु मेरो उचित मुल्यांकन हुनेमा म विश्वस्त छु।’

बिहीबार विमानस्थल उत्रेका एमाले नेता महेश बस्नेत र शेरबहादुर तामाङले पनि सचिवमा उम्मेदवारी दिने बताइसकेका छन्। 

महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा केपी शर्मा ओलीलाई नै पुनः दोहोर्‍याउने प्रयास भइरहेका वेला उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ। 

ओलीविरुद्ध उम्मेदवारी दिएका रावललाई ओली निकट नेताहरुले उम्मेदवारी तत्काल फिर्ता लिन आग्रह गरेका छन्। तर, रावल आफ्नो उम्मेदवारी फिर्ता लिने मनस्थितिमा छैनन्।

पार्टी विभाजनको बेलामा माधव नेपालको साथ छाडेका १० नेतामध्ये उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसालबाहेक अन्य नेता ओलीविरुद्ध खुलेका छैनन्।ओलीविरुद्ध संघर्षमा उत्रिए कुनै जिम्मेवारी नपाउने त्रासले उनीहरुलाई साँधेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.