|
प्रहरीले नियन्त्रणमा लिएका लागुऔषध ओसारपसारमा प्रयुक्त सवारीसाधन। तस्वीर : तुलसी भण्डारी

पर्सा : जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध ओसारपसार गर्ने ४ जनालाई २ वटा ट्रकसहित गएराति पक्राउ गरेको छ।

पर्साको वीरगन्ज महानगरपालिका-२५ बहुअरी सडकखण्डबाट ना ३ ख ८८०८ नम्बरको मिनी ट्रक र ना ५ ख ६८७७ नम्बरको ट्रकसहित ती ट्रकमा रहेका ४ जनालाई पनि पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

उनीहरूले प्रतिबन्धित लागुऔषध कोरेन्स ५४ र २ सय २३ बोतल गरी जम्मा २ सय ७७बोतल लुकाइछिपाई लाँदै गरेको वेला पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

दुवै ट्रक वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहबाट परवानीपुरतर्फ जाँदै थिए।

प्रहरीले ट्रकको जाँच गर्दा चालक बस्ने सिटमुनि लुकाइछिपाई लाँदै गरेको प्रतिबन्धित लागुऔषधमध्ये ना ३ ख ८८०८ नम्बरको मिनी ट्रकबाट कोरेक्स ५४ बोतल र ना ५ ख ६८७७ नम्बरको ट्रकबाट २ सय २३ बोतल बरामद भएको उनको भनाइ छ।

चालककै सिटमुनि लागुऔषध फेला परेपछि गाडीमा रहेका चारै जना, ट्रक र लागुऔषधसँगै प्रहरीले नियनन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्तासमेत रहेका उपरीक्षक खनालले बताए।

लागुऔषध र ट्रकसहित नियन्त्रणमा पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका-७ का ४५ वर्षीय राजु बस्नेत, ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा नगरपालिकाकै वडा नम्बर ६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ र झापा जिल्ला मेची नगरपालिका-१ का ५० वर्षीय गोपाल थापा रहेको पर्सा प्रहरीले जनाएको छ।

उनीहरूलाई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको डिएसपी खनालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.