कानपुरमा बिहीबारबाट सुरु भएको भारत र न्युजिल्यान्डबिचको पहिलो टेस्टमा भारतले राम्रो सुरुवात गरेको छ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतले पहिलो दिनको समाप्तिमा ४ विकेट गुमाएर २५८ रन बनाएको छ।
भारतीय इनिङ श्रेयस अय्यर र रवीन्द्र जडेजाले धानिरहेका छन्। ओपनर शुभमन गिलले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर मयंक अग्रवाल भने १३ रनमा आउट भए।
त्यस्तै चेतेश्वर पुजारा २६ रनमा आउट भए। कप्तान अजिंक्य रहाणेले पनि गतिलो स्कोर बनाउन सकेनन्। रहाणे ३५ रनमा आउट भए।
तर भारतको विकेट पतन श्रेयस अय्यर र रवीन्द्र जडेजाले रोके। यी दुईले पहिलो दिनको समाप्तिसम्म अविजित साझेदारी जारी राखेका छन्। उनीहरूले पाँचौं विकेटका लागि १४५ को अविजित साझेदारी गरेका छन्।
टेस्टमा डेब्यु गरिरहेका श्रेयस अय्यरलाई रवीन्द्र जडेजाले गतिलो साथ दिइरहेका छन्। अय्यर ७५ रनमा अविजित रहँदा उनलाई जडेजाले ५० रन बनाएर साथ दिइरहेका छन्।
न्युजिल्यान्डका लागि भने पहिलो दिन क्याली जेमिसनले ३ विकेट लिए भने टीम साउदीको नाममा १ विकेट रह्यो। न्युजिल्यान्डले भारत भ्रमणमा दुई टेस्ट खेल्ने कार्यक्रम छ। यसअघि तीन खेलको टी-२० सिरिजमा पाहुना टोली क्लिन स्विपको सिकार भयो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।