|

सोलुखुम्बु : सल्लेरीमा सम्पन्न प्रदेश नं. १ महिला र सोलुखुम्बु जिल्ला स्थानीय तह समान राशि पुरुष भलिबल खेलमा महिलातर्फ जिल्ला खेलकुद विकास समिति ओखलढुंगा र पुरुषतर्फ निश्चल निशानी निर्माण सेवा सोताङले उपाधि जितेको छ।

बिहीबार साँझ सम्पन्न महिलातर्फको फाइनल खेलमा जिल्ला खेलकुद विकास समिति खोटाङलाई सोझो सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको भलिबल खेलका अन्तरराष्ट्रिय रेफ्री विकास गुरुङले जानकारी दिए।

यस्तै महिलातर्फ माप्यदुधकोशी सोलुखुम्बुलाई पराजित गर्दै जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ।

यस्तै पुरुषतर्फ माप्यदुधकोशी निलोलाई हराउँदै सोलुदुधकुण्ड नगरपालिका १० तृतीय भएको आयोजकले जनाएको छ। स्टार युथक्लबको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ समूहको सहभागिता रहेको थियो।

राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक साँझसहित आयोजना गरिएको भलिबल खेलमा जिल्लासँगै झापा, खोटाङ र ओखलढुंगा जिल्लाका खेलाडी सहभागी थिए। हिमाली जिल्लाको इतिहासमा पहिलोपटक सोलुखुम्बुमा रात्रिकालीन खेल खेलाइएको छ।

लिक चरणमा भएको खेल निर्धारित समयमा सक्नका लागि बिजुली बत्तीको व्यवस्था गरी राति ९ बजेसम्म खेल खेलाइएको थियो। बत्तीको मजबुत व्यवस्थापन गरिएकाले खासै समस्या नभएको भलिबल रेफ्री गुरुङको भनाइ छ।

प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। महिला पुरुष समान राशिको पुरस्कार सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई (शूरवीर)ले प्रदान गरे।

प्रतियोगितको मंसिर ५ गते प्रदेश नं. १ का आन्तरिक मामिला तथा आर्थमन्त्री इन्द्रबहादुर आङबोले उद्घाटन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.