भारत र बेलायतद्वारा यात्रामा कडाइ

|

दक्षिण अफ्रिकी वैज्ञानिकहरूले कोभिड-१९ को नयाँ भेरिएन्ट पत्ता लगाएका छन्।

दक्षिण अफ्रिकी वैज्ञानिकहरूले नयाँ भेरिएन्ट पत्ता लागेसँगै यसको सम्भावित प्रभावबारे अध्ययन भइरहेको जनाएका छन्। बी.१.१.५२९ नाम दिइएको उक्त प्रजाति पत्ता लागेपछि वैज्ञानिकले पत्रकार सम्मेलन आयोजना गरेका थिए।

नयाँ भेरिएन्ट धेरै संक्रामक हुनसक्ने र यसको शरीरको प्रतिरक्षा क्षमतालाई कमजोर तुल्याउने वैज्ञानिकहरूको भनाइ छ।

उक्त भेरिएन्ट यसअघि नै बढी जनघनत्व भएका अन्य अफ्रिकी सहरमा फैलिएको जनाइएको छ। इजरायलमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भएको जनाइएको छ।

दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्रोफेसर टुलियो डे ओलिभेरा भन्छन्‚ ‘यसमा धेरै उत्परिवर्तन छन्। यो  उत्परिवर्तनको असामान्य समूह हो र अन्य भेरियन्टभन्दा निकै पृथक् हो।’

उनले यो नयाँ भेरिएन्टले निकै अचम्भित तुल्याएको बताए। उनले थपे‚ ‘यो हाम्रो अपेक्षाविपरीत ठूलो परिवर्तन हो।’

मिडियासँग कुरा गर्दै प्राध्यापक डी ओलिभेराले यसमा कुल ५० म्युटेसन भएको र स्पाइक प्रोटिनमा ३२ भन्दा बढी उत्परिवर्तन भएको बताए। 

भारत र बेलायतले समेत गरे यात्रामा कडाइ

यस प्रकारको गम्भीरतालाई ध्यानमा राख्दै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार राज्यहरूलाई दक्षिण अफ्रिका, हङकङ र बोत्स्वानाबाट आउने वा जाने यात्रुको कडाइका साथ जाँच गर्न र परीक्षण गर्न निर्देशन दिएको छ।

स्वास्थ्य सचिव राजेश भूषणले राज्य र केन्द्र शासित प्रदेशहरूलाई लेखेको पत्रमा भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले सरकारलाई ‘बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा नयाँ भेरिएन्ट’ भएको जानकारी दिएको बताए।

स्वास्थ्य मन्त्रालयले निर्देशन दिँदै ती ठाउँबाट आएका अन्तरराष्ट्रिय यात्रुहरूसँग सम्पर्कमा आएका सबैलाई नजिकबाट ट्र्याक र परीक्षण गर्न पनि भनेको छ। यसै वेला बेलायतले नयाँ संस्करणबारे चेतावनी दिँदै ६ वटा अफ्रिकी देशबाट आउने उडानहरूमा प्रतिबन्ध लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.