|

चितवन : शुक्रबार चितवनको नारायणी किनारमा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सकिएर सबै फर्किसक्दा एक महिला हस्याङ्फस्याङ गर्दै कार्यक्रम स्थल आइपुगिन्। 

चितवनको चिसोमा पसिनाले निथ्रुक्क भिजेकी ती महिला आइपुग्दा कार्यक्रम सकिसकेको सुनेर अकमक्क परिन्। सानो छोरी काखमा च्यापेर एकाबिहानै घरबाट कार्यक्रमको लागि निस्किएकी उनी आइपुग्दा कार्यक्रम नै सकिएको थाहा पाएपछि दु:ख लागेको उनले बताइन्।

तनहुँकी दोवन्ती कुमाल बिहान ७ बजे नै घरबाट महाधिवेशनमा सहभागी हुन निस्किएकी थिइन्। तर अरु बेलामा ४ घन्टामा आइपुग्ने चितवन आउन आज ९ घन्टा लाग्यो। सानो छोरी च्यापेर भोकभोकै आएकी उनले विहान खानासमेत खान भ्याइनन्। जामले गर्दा खाजा खाने मेसो पनि मिलेन।

'बाटोमा जाम नै धेरै भयो। न घर फर्किनु न कार्यक्रममा आउनु भयो। अझ ५-७ किलोमिटर परै गाडी रोकेर हामी हिँडेर आयौं',उनले भनिन्।

उनीसङ्गै आएकी मिठुमाया कुमालले पनि आफूहरु आइपुग्दा कार्यक्रम सकिएको देखेर दु:ख लागेको बताइन्।

'अन्तिममा केपी ओली बोलेको त सुन्न पाइन्छ होला भन्ने सोचेको तर त्यही पनि पाइएन', उनले भनिन्। कुमालले घन्टौ लगाएर कार्यक्रममा आइपुग्ने बितिक्कै फर्किनु परेको भन्दै गुनासो गरिन् । 

तनहुँबाट आएका भीमबहादुर कुमालका अनुसार उनीहरुसँगै अरु ४/५ बस मानिस कार्यक्रम सकिएपछि मात्रै चितवन उत्रिए। तनहुँदेखि नै भएको सवारी जामले गर्दा आफूहरु आइपुग्न ढिला भएको उनको भनाइ छ।

सवारी जाम अरु कारणले नभइ एमालेकै महाधिवेशनमा देशभरबाट आएका कार्यकर्ताका कारण भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.