|

धनकुटा : धनकुटा नगरपालिका मुख्य थलो रहेको आठपहरियाहरु यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट मनाउन व्यस्त छन्। यो चाडमा सामूहिक रुपमा दुःखबाट उक्सिने र घरको जेठो छोरो जन्मिएकोमा हर्कबढाइँ गर्ने चलन छ। 

वर्षभर गुमाएका आफन्तको जुठोबाट उक्सने यो एक मात्र चाड हो। चाडको शुरुवातमा धनकुटाबाट हिँड्दै तीन दिन लगाएर सुनसरीको वराहक्षेत्र पुग्छन्। बराहक्षेत्र नजिक रहेको कोकाहा खोलामा कपाल र दारी खौरिएर नुहाएर आफन्तको दुःख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने प्रचलन रहेको छ। तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन रहेको स्थानीय उमेश आठपहरियाले बताए।

त्यसपछि फर्कने क्रममा वराह भगवानको दर्शन गरी देउता आफ्नो घरमा लिएर आउने प्रचलन छ। घर आएपछि दुःखको कर्म फुकाउने कर्म हुन्छ। जहाँ सेतो लुगा फुकाइन्छ। र, दुःख अन्त्य गरी भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ। यस चाडको अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने गर्छन्।

यो चाडमा दुःख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाच्ने र राँगाको मासु, कुबिन्डो र फिलुंगे अचारलगायतका परिकार खाएर मनाइन्छ। यस्ता परिकार चिउरीको पातमा राखेर आफन्तलाई प्रसाद स्वरूप बाँडेर खाई मनाइन्छ। मंसिरे चाडको रूपमा पनि लिइने यो पर्व कात्तिक पूर्णिमादेखि सुरु भएर औंसीसम्म १५ दिनसम्म धुमधामका साथ मनाउने प्रचलन छ। अन्य जातजातिभन्दा फरक कला, संस्कृति भए पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय दिलबहादुर छाराहाङ आठपहरियाले बताए।

पुत्रलाभ भएको परिवारमा बराहमाङ र मार्गाहामाङलाई साक्षी राखेर दीर्घायुको कामना गर्दै जन्मोत्सवलाई हर्ष बढाइ गरी मनाउने चलन छ। विगत एक वर्षको अवधिमा मृत्यु भएका व्यक्तिको पितृकार्य यो चाडसँगै सक्ने परम्परा छ। जुठो बारेर बसेकाहरूले पितृकार्य सकी दुःख भुलेर हर्षोल्लाषपूर्वक वाडाङ्मेट मनाउने चलन रहेको छ। वाडाङ्मेट सकिएपछि मृत्यु भएकाको काजकिरिया सक्न अर्को सालको वाडाङ्मेट पर्खिनुपर्ने चलन छ। 

यो पर्वलाई अन्य जातिको पर्वको जस्तो राज्यले चासो नदिएको आठपहरिया समुदायको गुनासो छ। अन्य जातिको पर्वको सरकारले लामो समय सार्वजनिक बिदा दिएको भए पनि यो चाडमा धनकुटा नगरपालिकाले एक दिन स्थानीय बिदा दिएर टारेको गुनासो आठपहरिया समुदायको रहेको छ। आठपहरिया जातिको उत्थानका लागि विभिन्न काम गरेर जागरुक गर्ने काम गरिरहेको आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टबहादुर आठपहरियाले बताए।

धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसंख्या करिब २० हजारको हाराहारीमा मात्र रहेको छ। यो जातिले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आए पनि सुनुवाई भएको छैन। आदिवासी जनजातिमा सूचीकृत हुनबाट बञ्चित अल्पसंख्यक आठपहरियाहरूले वर्षौं अघिदेखि आदिवासी जनजातिमा सूचीकृतको माग समेत गर्दै आएको भए पनि राज्यले सुनुवाई नगरेको किरात आठपहरिया समाज धनकुटाकी अध्यक्ष सारकुमारी आठपहरियाले गुनासो गरिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.