|

अरुलाई दुःख या कष्ट पुर्‍याएर मात्र आफूलाई सुख या सन्तुष्टि मिल्छ भन्ने भ्रामक धारणा हिंसाको स्वरूप हो। महिला हिंसाविरुद्धको १६ दिने अभियान २५ नोभेम्बरबाट शुरु भएको छ।

सन् १९९३ मा संयुक्त राष्ट्र महासभाले जारी गरेको यो अभियान नेपालमा पनि सन् १९९७ अर्थात् वि.सं. २०५४ देखि बर्सेनि राष्ट्रिय रूपमा मनाउँदै आइएको छ। यो अभियानलाई पर्वको रूपमा मात्रै लिएर महिला हिंसाको अन्त्य हुने होइन।

महिला भएकै कारण हिंसा भोग्न बाध्य महिला तथा बालिकाको संवेदनालाई ख्याल गर्दै अभियानबाट होइन मानसिक रुपमा हिंसाजन्य क्रियाकलापको अन्त्य होस् भनेर स्मरण गराउनु र चेतना जागृत गर्न झक्झक्याउनु यसको मर्म हो। पिछडिएका समाजमा मात्र होइन सम्पन्न परिवारमा समेत परम्परागत मूल्य मान्यतालाई त्याग्न नसकेर नजानिँदो तरिकाले महिलामाथि मनोवैज्ञानिक असर पुर्‍याउने काम हुन्छन्, त्यो पनि हिंसाको, टर्चरको एउटा स्वरूप हो।

त्यसैले हिंसा गरिबीको कारणबाट मात्र नभएर मानसिकताबाट रूपान्तरण हुनु पर्दछ। मानसिक सोचको परिवर्तन आदरभावले मात्र परिवर्तन हुन्छ‚ जुन सहज र मानवीय स्वभाव हो।

महिला स्वभावलाई आदरको खाँचो

घरको व्यवहारमै महिला भनेको कमजोर प्राणी होइन‚ उनको स्वभाव दयालु र सरल हुन्छ। उनको स्वभावलाई आदर गर्ने संस्कारको विकास जरुरी हुन्छ। महिलाले तर्क गर्न छोडेर मौन र शान्त बस्नु अनि आँशु बगाउनु कमजोरी होइन। त्यो त आत्मिक निर्भयता हो। बाहिरका परिस्थितिसँग तर्क गर्ने र जवाफ दिएर जित्ने स्वभाव नहुनु, भित्रैदेखि अरुबाट प्रकट हुने कमजोरीलाई पचाइदिनु हो। आत्मिक शक्तिलाई कुनै शारीरिक शक्ति र तर्कको शक्तिले पराजय गर्न सक्दैन।

जीवनको एक तिहाई समय बाआमाको काखमा बिताएर आएकी श्रीमतीले नयाँ घर परिवार र परिवेशमा सहनशील भएर बस्न र जीवन गुजार्न सक्छिन्। श्रीमान चार दिन ससुराल गएर बस्नुपर्‍यो भने उनलाई व्यवस्था मिल्दैन, सहज लाग्दैन। मतलब पुरूषमा सहनशीलता र स्वीकार्य सहजरूपमा आउँदैन। के महिला कमजोर भएको कारण विवाह गरेर गएको घरमा बस्न सकेकी हुन् र?

महिलाको निम्ति प्रयोग हुने शब्दहरू जसलाई सुन्न सकिन्न, पीडा भएर आउँछ। बोक्सीको आरोप, दाइजोको नाममा मानसिक एवं शारीरिक पीडा र सामाजिक भेदभाव सबै महिलालाई सृष्टिको, मातृत्वको आदर दिन नसकेर वस्तुसँग विनिमय जस्तो व्यवहार र घृणित व्यवहार हुन पुग्ने हो।

जीवनको एक तिहाई समय बाआमाको काखमा बिताएर आएकी श्रीमतीले नयाँ घर परिवार र परिवेशमा सहनशील भएर बस्न र जीवन गुजार्न सक्छिन्। श्रीमान चार दिन ससुराल गएर बस्नुपर्‍यो भने उनलाई व्यवस्था मिल्दैन, सहज लाग्दैन। मतलब पुरूषमा सहनशीलता र स्वीकार्य सहजरूपमा आउँदैन। के महिला कमजोर भएको कारण विवाह गरेर गएको घरमा बस्न सकेकी हुन् र?

घरका बाआमालाई आफ्नी छोरीप्रति स्नेह र भरोसा सँगसँगै भयो भने महिलालाई समाजले कमजोर तुल्याउन सक्दैन। बुहारी बिहे गरेर दाइजो भित्र्याउने लोभलालचको मानसिक सोच त्यागेर छोरीलाई शिक्षित र आत्मनिर्भर बनाएर आफ्नो घर परिवार आफैं सम्हाल्न सक्ने बनाउने ठूलो सोचको विकास हुनु जरूरी छ।

छोरीलाई कसैंसँग परनिर्भर बनाउने सोचबाट माथि उठेर छोरीले परस्पर निर्भरतालाई साथ दिन सक्ने कसरी बन्छिन्। त्यसमा ध्यान दिनुपर्ने हुन्छ। छोरीलाई सम्पत्ति दिएर पठाउने होइन छोरी नै सम्पत्ति हुन् भन्ने अभिभावकले गर्व गर्न सकून् भन्ने चेतना घरघरमा विकास गर्नु जरुरी छ।

यो सशक्तीकरणको अभ्यासलाई सीमान्तकृत समुदायमा कसरी पुर्‍याउने राज्य, महिला तथा बालबालिकाका निम्ति खुलेका संघसंस्था लगायतले अभियान सुरू गर्नु जरूरी देखिन्छ। 

अधिकार होइन आधार

महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा सांस्कृतिकलगायत मानव अधिकारका आधारभूत अधिकारहरूबाट बञ्चित छन् भन्ने भाषण धेरै सुनिन्छ, आलेखहरु प्रशस्त आउँछन्। तर रूपान्तरण सोचे जति र जसका लागि आउनुपर्थ्यो आएको छैन।

महिला भएर सृष्टिमा आउनु र आफैं सृष्टिको हिस्सा भएकी महिलालाई कसले अधिकार दिनुपर्छ? महिलाले अस्तित्त्वबाट पाएको सर्वोपरी गुण, मातृत्वको गुणलाई नजरअन्दाज गरेर बाहिरबाट देखिने र दिन सकिने सम्पत्ति, शिक्षा, स्वास्थ्य र राजनीतिक सहभागितालाई अधिकारको रूपमा माग्नुपर्ने यो विडम्बना हो।

महिलालाई मात्र चाहिने होइनन् ती कुरा ती क्षेत्रमा महिलाको सहभागिता रह्यो भने सुनमा सुगन्ध हुने हो। त्यसैले महिलालाई पुरूषले दिए मात्र पाउँछन् भन्ने सोचमा नै परिवर्तन आउनु जरुरी छ। पुरूष महिलाले दिएको सृष्टि हो। सृष्टिकर्तालाई के दिन सकिन्छ?

समानता कागज, संविधान र नीति निर्देशनमा होइन हृदयमा विकास गर्नुछ। महिलालाई अधिकार दिने होइन मातृत्वको, सृष्टिको, प्रेमको आधार बन्ने कोशिस गरे र  सुन्दर समाजको निर्माण हुन्छ।

कल्पना पनि गर्न नसकिने घरेलु हिंसा, आरोप, गालीगलोज र हत्यासम्म गर्न पुग्ने प्रवृति र घटना किन हुन्छन्? किन न्यूनीकरण हुन सकेका छैनन्? जरैबाट यसको मनोविज्ञान पत्तालगाउनु जरूरी। जीवनका लागि ठूला र महत्वपूर्ण कुरा अस्तित्त्वले आफैं दिन्छ। मानिसले दिने भनेको सानातिना कुरा हुन् अस्तित्त्वको अगाडि। मैले दिएँ, मैले दिएर मात्र महिलाले पाउँछन् भन्ने सोच पुरूष सोच होइन। त्यो समाजले निर्धारण गरिदिएको धारणा र कथा हो।

त्यसैले महिला भएकै कारणले हुने हिंसात्मक र अप्रिय घटनालाई न्यूनीकरण गर्ने हो भने अब धारणा बदलिने सोचकासाथ काम गर्नुपर्छ। पितृसतात्मक सोच, अभ्यास, परम्परा भन्ने अभ्यासलाई न्यूनीकरण गर्दै जानुपर्छ। महिला पुरूष सृष्टिका आधार हुन्, एक अर्काका परिपूरक हुन् भन्ने कुरालाई आफ्नै घरबाट सिकाउनु जरूरी छ।

सबै महिलालाई आदरको भावले हेर्न सिकाउनु छ आफ्ना परिवार र सन्तानलाई। विद्यालयमा केटा र केटीलाई मित्रवत सहकार्य र सहयोग गर्न सिकाउनु छ। शैक्षिक सामग्री त्यस्तै विकास गरिनु जरुरी छ। अन्यथा पुस्तान्तरण र आधुनिक देखासिकीमा हाम्रा सन्तानले पाउने संस्कार र शिक्षा नकारात्मकतातिर भड्किने नहोलान् भन्न सकिन्न।

समानता कागज, संविधान र नीति निर्देशनमा होइन हृदयमा विकास गर्नुछ। महिलालाई अधिकार दिने होइन मातृत्वको, सृष्टिको, प्रेमको आधार बन्ने कोशिस गरे र  सुन्दर समाजको निर्माण हुन्छ।

गरिबी र महिला हिंसा

मेरी आमा महिनावारी हुँदा खाना बनाउनु हुन्नथ्यो। तर घरका परिवारले खाएका सबै जुठा भाँडा माझ्नु हुन्थ्यो। हजुरआमाले सुनपानी छर्केर ती भाँडालाई चोखो बनाई भान्छामा लैजानु हुन्थ्यो। हुनत मेरी आमाले पनि नाक, कान, घाँटीमा सुन त लगाउनु हुन्थ्यो। तर‚ उहाँले माझेका भाँडा किन जुठा हुँदा हुन्?

भाइ जन्मिँदा हामी ठूलै कुरा बुझ्ने भैसकेका थियौं। छोरो भनेर हजुरआमाले खाना आफ्नै काखमा राखेर खुवाउनु हुन्थ्यो। तर भाइ हजुरआमाबाट भागेर आमाको दूध चुस्न जान्थ्यो। यो घटनाबारे मैले बोल्न सक्ने भएकी थिएँ‚ त्यसैले भनें– हजुरआमा हजुर महिनावारी हुँदा बुबाले दूध चुस्नु भयो नि? तर, ठूलो भएपछि हजुरले महिनावारी भएर पकाउन र खुवाउन नहुने किन?

हजुरआमाको जवाफ थियो– आयु घट्छ रे के महिनावारी भएका महिलाले पकाएर पुरूषलाई खुवाए! हजुरआमाले सिकेको संस्कार र पाएको शिक्षा अरू धेरै तर्क गरेर बुझाउन सकिन्नथ्यो। तर, महिनावारी हुँदा बुबाले आमालाई गर्ने व्यवहारमा परिवर्तन ल्याउन सकिन्थ्यो।

आजकल पनि धेरै महिलाले महिनावारीमा पकाउने खुवाउने गर्छन् तर खुलेर भन्दैनन्। खुलेर भन्न सक्ने हुन अझै केही वर्ष पर्खिनुपर्ला। त्यति मात्र कहाँ हो र! भान्छामा गएर पकाउन गाह्रो मान्ने र ढंग नहुने पुरूषले समेत चार दिन आफ्नी श्रीमतीलाई अछुतो नै देख्छन। महिनावारीमा अपनाउनुपर्ने सरसफाई, आराम, पोषणको आवश्यकता फरक कुरा हुन् र छोइछिटो फरक कुरा हुन् भनेर नबुझेको कि बुझाउन नसकिएको? 

धेरै अनुसन्धान र तथ्यांकले महिला हिंसाका घटना गरिब परिवारबाट गरिब परिवारमाथि नै भएकाले घटनाको कारण गरिबी हो भनिन्छ। आर्थिक सम्पन्नता एउटा पाटो हो सहज जीवन र प्रज्ञा जागरण एवं शैक्षिक विकासको लागि। यसमा राज्यको महत्त्वपूर्ण दायित्त्व रहन्छ।

मानसिक गरिबी अर्को ठूलो रोग हो। सृजनशीलता र मानव संशाधनलाई राज्यले उत्पादकत्वमा परिणत गर्न नसक्नु अनि सम्पन्न परिवार र व्यक्तिले विपन्नलाई आफ्नो कब्जामा राख्ने प्रयास जारी राखिरहनु। गरिबीमा रहेका महिला तथा बालबालिकालाई सम्पत्तिको लोभ देखाएर यौनजन्य अपराधिक क्रियाकलाप गरी बलात्कार र हत्या समेत गर्ने काममा धनाढ्यकै सहभागिता रहने गरेको पाइन्छ।

गरिबीकै कारण हिंसामा परेकी छोरी, श्रीमती भन्दा समाजको लागि आफ्नो इज्जत बचाउने नाममा अपराधिक घटनालाई लुकाएर न्यायिक सहायता लिन पछि पर्नेहरु धेरै छन्। धनाढ्यसँग धन हुन्छ, करूणा हुँदैन। करुणाको अभाव नै हिंसात्मक गतिविधिलाई साथ दिने माध्यम हो।

गरिबीकै कारण शिक्षा, स्वास्थ्यको पहुँच नपाउने महिला तथा बालबालिकाले आफूमा पनि अदम्य साहस र सिर्जना छ भन्ने बोध गर्न पाएका छैनन्। उनीहरुकै लागि बनेको संविधान र नीति नियम कहिले पढ्ने उनीहरुले? धेरै छन् यस्ता समुदाय र पीडित छोरीहरू जसमा सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने र रुपान्तरण आउनुपर्ने पक्ष।

महिलाप्रतिको आदरभाव पहिलो कसी हो हिंसात्मक गतिविधिलाई रोक्ने। त्यसैले समृद्ध समाजका लागि आदर गरौं महिलालाई। काममा, घरमा, विद्यालयमा, राजनीतिमा, धर्ममा, अध्यात्ममा, सडकमा, सवारीसाधनमा, अस्पतालमा अनि जहाँ महिला देख्छौं त्यहाँ। किनकि महिला हामी सबैकी सृष्टि हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.