|

रूपन्देही : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महान क्रान्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको दाबी गरेका छन्।

जसपा रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले एकता र सार्वभौमसत्ता रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकामा जोड दिए। यस्तै‚ भट्टराईले नेपाली कांग्रेसबाट परिवर्तनको अपेक्षा गर्न नसकिने बताए।

 ‘कांग्रेस जतिपटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न सकिँदैन,’ उनले भने‚ ‘मुलुक परिवर्तनका लागि अग्रगामी शक्ति आवश्यक छ।’

उनले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै केन्द्रीय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउनेमा जोड दिए।

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृति परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै भट्टराईले राजनीतिक शक्ति बीचमा नयाँ ढङ्गले एकता कायम गरी अगाडि बढ्नु नै उत्तम विकल्प हुने भनाइ राखे।

‘सामान्य लोकतान्त्रिक मूल्य, मान्यतामा ह्रास आएको छ, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो‚’ उनले भने‚ ‘यसरी देशले निकास पाउँदैन। अदालतमा देखिएको सङ्कट यसैको उदाहरण हो।’ उनले पुराना राजनीतिक शक्तिले जनतामा वैचारिक भ्रम छर्ने काम गरेको आरोप लगाए।

पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि पार्टीले चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए। जनवर्गीय संगठन विस्तार र विभिन्न धारबाट आएका समूहका अलग बुझाइ चिर्न र जनता जागरुक गर्न अभियान थालिएको उनको भनाइ छ।

मंसिरसम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.