|

काठमाडौं : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जित निकालेको छ।

आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले कर्णालीमाथि १० विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्यो। कर्णालीले भने चौथो खेलमा तेस्रो हार बेहोर्‍यो।

जारी प्रतियोगितामा कर्णालीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गरेको थियो। त्यसयता भने कर्णाली लगातार पराजित हुँदै आएको छ।

कर्णाली आफ्नो दोस्रो खेलमा प्रदेश १ सँग ७६ रनले हारेको थियो। गण्डकीसँग तेस्रो खेलमा शनिबार कर्णाली ३ विकेटले पराजित भएको थियो।

मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको कर्णाली १६ दशमलव ५ ओभरमा अलआउट हुँदै केवल ६६ रन मात्र जोड्न सक्यो।

जवाफमा उक्त लक्ष्य सुदूरपश्चिमले १२ दशमलव १ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्न सफल भयो।

सुदूरपश्चिमको जितमा कप्तान खडक बोहोरा र नरेश भट्टले अविजित साझेदारी गरे।

बोहोरा ४२ बलमा ४१ रन बनाएर अविजित रहँदा उनलाई भट्टले ३१ बलमा १६ रन बनाएर साथ दिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको कर्णालीका लागि प्रकाश जैशीको १५ रन सर्वाधिक रह्यो। रमेश बुढाले १२ र रुपक दाहालले ११ रनको योगदान गरे।

उसका ४ ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका आकाश चन्द, नारायण जोशी र शेर मल्लले समान ३-३ विकेट लिए। एक विकेट नरेन्द्र साउदको नाममा रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.