|

म्याग्दी : म्याग्दीका एक पुरुष ४२ वर्षपछि परिवारको सम्पर्कमा आएका छन्। २५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएका बेनी नगरपालिका–१ अर्जम गैराटोलका धनबहादुर विक परिवारबाट सम्पर्कविहीन भएका थिए।

उनी श्रीमती र एक छोरालाई छोडेर आफन्तको सहयोगमा भारतीय सेनामा भर्ती हुन हिँडेका थिए। तर, सपना पूरा नभएपछि भारतको जम्मू–कश्मीर राज्यको रामबन भन्ने ठाउँमा बसेर ज्याला मजदुरी र चौकीदारको रुपमा काम गरेको उनले बताए ।

सडक विस्तारमा आवश्यक पर्ने सामान सवारीसाधनबाट निकाल्दै गर्दा एउटा खुट्टा गुमाएका धनबहादुुरले करिब दुई वर्ष अस्पतालमै बिताएको बताए। कम्पनीको खर्चमा उपचारपछि पुनः काममा फर्किएका उनले पटक–पटक परिवारसँग सम्पर्कको प्रयास गरे पनि सफल नभएको बताए। सीमावर्ती भारतको रक्सौलबाट बसमा पर्वत बेनीसम्म आएका विकलाई त्यहाँबाट बागलुङ जाने चाहना गरेपछि जिपले लगेर छोडेको थियो। उनले एउटा बोरामा कपडासँगै राखेको ३५ हजार भारतीय रुपैयाँ समेत हराएको बताए।

‘खल्तीमा भएको पैसा साथमै छ, कपडासँग राखेको पैसा र माबाइल फोन हराएको छ,’ विकका आफन्त अर्जमका भिमबहादुर सुनारले बताए। विकको साथमा रहेको ६० हजार भारतीय रुपैयाँ आफन्तले राखिदिएका छन्।

धनबहादुर हराएपछि सन् १९७८ सालमा खोजीका लागि जम्मू–कश्मीरमा पुग्दा मृत्यु भइसकेको खबर सुनाएपछि फर्किएको उनका आफन्त भारतीय सेनाबाट अवकाश प्राप्त भिमबहादुर विकले बताए। 

कम स्मरण शक्ति भएका उनका छोरा छोरा मावलीमा बस्दै आएका छन्। उनकी श्रीमती मुटुरोगी भएकाले काठमाडौंमा रहेको आफन्तहरुले बताएका छन्। श्रीमान घर फर्किएको खबर सुनेर परिवार र गाउँले हर्सित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.