|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा‍. प्रकाशचन्द्र लोहनी निकट दोस्रो, तेस्रो तहका नेताहरूले आसन्न महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिने निर्णय गरेका छन्।

राप्रपालाई जनताले विश्वास र भरोसा गर्ने क्रियाशील पार्टी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको सोमबार सम्पन्न भेलाको निष्कर्ष थियो।

‘नयाँ पुस्तामा सर्वसम्मत पार्टी नेतृत्व हस्तान्तरण गर्ने, अन्यथा निर्वाचन प्रक्रियाबाट यो लक्ष्य पूरा गर्ने भेलाको निचोड रह्यो’, राप्रपाका नेता सगुन सुन्दर लावतीले भने।

‘दुई अध्यक्षले पार्टी हित र एकताका लागि निर्वाचन नलड्ने निर्णय गर्नु भएको परिप्रेक्ष्यमा अर्का अध्यक्षले पनि अभिभावकको सम्मानित भूमिकामा बस्नु स्वागतयोग्य हुने विषयमा भेलाको गम्भीर ध्यानाकर्षण भयो’, लावतीले भने।

अध्यक्ष राणाले यसअघि नै पार्टी हित र एकताका लागि निर्वाचनबाट अलग रहने निर्णय गरेका छन्। अध्यक्ष लोहनीले पनि नयाँ पुस्ताको समथर्न गर्दै उम्मेदवारी नदिने निष्कर्षमा पुगेका छन्। यस सम्बन्धमा लोहनीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेका छन्।

राप्रपाका अध्यक्षत्रयमध्ये कमल थापा मात्र निर्वाचन लड्दै छन्। सोमबार मात्रै आफूले अध्यक्षमा उम्मेदवारी दिने थापाले बताएका थिए।

नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

‘अध्यक्षद्वय राणा र लोहनीले अभिभावकको भूमिकामा बस्ने निर्णय गरिसक्दा अध्यक्ष थापाले मात्र कनिष्ठ पुस्तासँग सिङ जुधाउनु अशोभनीय हुन्छ’, भेलामा सहभागी एक नेताले भने, ‘अध्यक्ष थापाले चुनाव नलड्दा उहाँको सम्मान बढ्छ, पार्टी एकता र विश्वसनीयता अभिवृद्धि हुन्छ।’

भेलामा पूर्वमन्त्रीहरू दुर्गा श्रेष्ठ, आङ छिरिङ शेर्पा, जगत गौचन, पूर्वमहामन्त्री राजाराम श्रेष्ठ, सभासदद्वय शयन्द्र वान्तवा र बबिना मोक्तान लावती, युवा नेताहरू रवीन्द्रप्रताप शाह, किशोरबहादुर कार्की, दिनेश कार्की, गोपाल दाहाल, प्रवीण थोकर, प्रेम बलायर, मीना सुवेदी, विजकला राई, गोपी ढकाल, राजु लोहनी, प्रेम देसार, यज्ञबहादुर सिंह, कालीबहादुर शाही, मनिराज तामाङ, गोपी शर्मा, लालबहादुर घिसिङ, जिल्ला अध्यक्ष विकास महत, विद्यार्थी नेताहरू धनशुर शाही, एन्टीसंघर्ष राई लगायत सहभागी थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.