|

काठमाडौं : मात्र ६ महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका सर्वोच्च १४ शिखर सबैभन्दा कम समयमा सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान बनाएका नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को '१४ पिक्सः नथिङ इज इम्पोसिबल' सार्वजनिक भएको छ। 

नेटफ्लिक्समा सोमबार सार्वजनिक भएको उक्त डकुमेन्ट्री १ सय ९१ देशका १८ करोडभन्दा बढी प्रयोगकर्तासम्म पुगेको छ।

नेटफ्लिक्समा आउनुभन्दा केही दिनअघि काठमाडौंमा यसको प्रिमियर शो गरिएको थियो। जहाँ कलाकारदेखि मन्त्रीसम्मको उपस्थिति थियो। 

चर्चित भ्लगर सिसन बानियाँले प्रिमियरपछि उक्त फिल्मबारे केही बताउन आफूसँग शब्द नै नभएको बताएका थिए।

उनले भनेका थिए, 'म यति धेरै पटक हलमा छिरेको छु तर यो लेवलको स्याटिस्फ्याक्सन लिएर अहिलेसम्म फर्किएको थिइनँ। नेपालीमात्र होइन विश्वभरिबाटै यस्तो इन्स्पायरिङ फिल्म हेरेको थिइनँ।'

साथै यो फिल्म हेरेपछि आफ्नो दैनिकी नै परिवर्तन हुने पनि उनले बताएका थिए। 

त्यस्तै मानवमा हुने सबै भावना यो फिल्ममा पाउन सकिने गायिका इन्दिरा जोशीले बताएकी थिइन्।

उनले भनिन्, 'त्यो ब्रेवरी पनि आउँछ, रुन पनि मन लाग्छ, खुसी पनि लाग्छ, हाँसो पनि लाग्छ। एउटा ह्युमन विङले फिल गर्ने सबै कुरा यसमा छ।' 

त्यस्तै अभिनेत्री निशा अधिकारीले असामान्य काम भन्दै यसले लाखौँलाई प्रेरणा दिने बताइन्।

नेपालमा मात्र नभएर १४ पिक्सको चर्चा यतिवेला विश्वभर छ।

द टाइम्स, द गार्डियन, ग्ल्यामर म्याग जस्ता ठूला सञ्चारमाध्यमले १४ पिक्सलाई हेर्नैपर्ने फिल्मको सूचीमा राखेका छन्। 

दर्शकको उत्साहजनक प्रतिक्रियाले आफूलाई औधी खुसी लागेको पुर्जाले सामाजिक सञ्जालमार्फत बताएका छन्।

उनले भनेका छन्, 'यो मात्र हिमालको बारेमा होइन। त्यहाँ मेरो मात्र होइन ती सबै मान्छे जसले मलाई सहयोग गरे उनीहरूको कथा छ।'

यो फिल्म पर्वतारोहणको बारेमा मात्र होइन भनेर उनले भन्दै आएका छन्।

सपना देख्ने हरेक मानिसका लागि यसले प्रेरणाको काम गर्ने उनले बताउँदै आएका छन्।

उनले भनेका छन्, 'सफलता झुक्किएर हुने कुरा होइन। त्यसको लागि मेहनत गर्नुपर्छ। यो निर्मल पुर्जाको मात्र नभएर एउटा प्रेरणाको कथा हो।'

२०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेर ७६ सालकै कात्तिकमा चीनको सिसापाङमा हिमाल चढ्दै उनले सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको कीर्तिमान आफ्नो नाममा गराएका थिए। त्यसअघि उक्त कीर्तिमान ८ वर्ष रहेको थियो। 

पुर्जाको नाममा जाडोयाममा बिनाअक्सिजन 'किलर माउन्टेन' भनेर चिनिने पाकिस्तानको माउन्ट के-टू चढेको विश्व कीर्तिमानसमेत रहेको छ।

त्यस्तै सगरमाथा, ल्होत्से र मकालु हिमाल ४८ घण्टाभित्र आरोहण गरेको विश्व कीर्तिमान पनि उनको नाममा रहेको छ। 

यीबाहेक उनको नाममा आधा दर्जनभन्दा बढी विश्व कीर्तिमान दर्ता छन्। 

१४ पिक्स पुर्जाद्वारा लिखित पुस्तक 'बियोन्ड पसिबल'मा आधारित रहेको छ।

उनको उक्त पुस्तक विश्वका विभिन्न २० भाषामा अनुवाद भएर छापिँदै छ। 

पुर्जाले १४ वटा हिमालको सफल आरोहण गरिसकेपछि फिल्मको तयारी गरिएको थियो।

नेटफ्लिक्स जस्तो ठूलो अनलाइन स्ट्रिमिङ कम्पनीबाट १४ पिक्स सार्वजनिक हुनु नेपाली सिनेमा क्षेत्रको लागि पनि ठूलो उपलब्धि हो।

साथै यसले नेपालको पर्यटन विकासमा पनि ठूलो योगदान पुर्‍याउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.