|

काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ। यसैगरी १० जना सचिवको सरुवा पनि गरेको छ।

मन्त्रिपरिषद्‌को मंगलबार बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रामेछापका घिसिङलाई नियुक्त गर्ने​ निर्णय गरेको जानकारी सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ​

यसैगरी सरकारले जापानसँग करिब १० अर्ब ३९ करोड (१० बिलियन जापानी येन) ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टाेली गठन गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए। 

बैठकले, चलचित्र निर्माण तथा प्रदर्शन वितरण साताैँ संशोधन नियमावली २०७८ र रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

उनले भने, ‘लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीमा नियुक्त गर्ने, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुको व्यवस्थासम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ।’

उनका अनुसार मंसिर २३ र २४ मा अमेरिकाले आयोजना गर्न लागेको लोकतन्त्रसम्बन्धी भर्चुअल शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएकाे छ।

प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्न नेपाल चीनबीच सम्झौताका लागि तयार गरिएको प्रोटोकल स्वीकृत गर्ने, प्रहरी नियमावली नवौँ संशोधन २०७८ स्वीकृत गर्ने, सरकार र युएनडिपीबीच भएको स्ट्यान्डर्ड बेसिक एसिस्टेन्ट एग्रिमेन्ट लागू गर्न संयुक्त राष्ट्रसंघलाई पठाउन स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए।

नेपाल विद्युत  प्राधिकरण कृष्णनगर चन्द्रौटा शाखाको भवन निर्माण गर्न आवश्यक जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय पनि भएको उनले जानकारी दिए।

त्यस्तै,बेपत्ता पारिएकाको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई यही मंसिर १५-१६ आयोजना हुन लागेको अन कम्पास इन्टरनेसनल समिटन ह्युमानिटेरियन फोर्स सिक्स २०२१ पोष्ट पान्डेमिक ट्रान्सफरमेशन एन इमर्जेन्सी प्रिपेयर्डनेस सम्मेलनमा सहभागी हुन स्वीकृत गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.