प्रधानन्यायाधीशको राजीनामा नमाग्ने, काममा फर्किन कानुन व्यवसायीलाई आग्रह

|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसननको आन्दोलन औपचारिकतामा मात्रै सीमित भएको छ। 

गत कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारको आन्दोलन आजदेखि औपचारिकतामा सीमित हुँदैछ। बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा मागलाई कटौती गर्दै अब सर्वोच्च परिसरमा एक घण्टा धर्ना दिएर काममा फर्किन कानुन व्यवसायीलाई आग्रह गरेको छ।

बारले आजदेखि सर्वोच्च अदालतमा गोला प्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको पनि स्वागत गरेको छ। उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र विशेष अदालतमा पनि गोला प्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा गत साउन १७ र जिल्ला, उच्च, विशेषमा यही मंसिर १ गतेदेखि लागू गर्ने भनिए पनि सोअनुसार नभएकाले सर्वोच्च अदालत नियमावली संशोधन गरी लागू गर्न सर्वोच्च अदालतको पूर्ण बैठकसँग माग गर्ने निर्णय गरिएको उल्लेख छ।

उक्त नियमावली संशोधन भई नआएसम्म विरोधस्वरुप जिल्ला, उच्च तथा विशेष अदालतमा कालोपट्टी बाँधी दैनिक एक घण्टा धर्ना गरी बाँकी समयमा व्यवसाय गर्न, गराउन सम्पूर्ण एकाइलाई लेखी पठाउने निर्णय गरेको छ।

सर्वोच्च अदालतमा भष्टाचार बढेको, प्रधानन्यायाधीश जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत कात्तिक १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको थियो। उनीहरुले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन विभिन्न राजनीतिक दलहरूसँग हारगुहार गरेका थिए। तर, कुनै पनि दलले प्रधानन्यायाधीश जबराविरुद्ध कुनै पनि कदम नचालेपछि कानुन व्यवसायी आफैं पछि हटेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.