|

विराटनगर : गहुँगोरी‚ चिटिक्क परेको शरीर‚ झट्ट हेर्दा कुनै चलचित्रकी नायिका झैँ देखिन्थिन् उनी। उनी थिइन् विराटनगरको एक डान्स बारमा काम गर्दै आएको सिन्धुपाल्चोककी सपना तामाङ (नाम परिवर्तन)।

२०७२ साल गएको भूकम्पले घरसँगै सपना भत्किएपछि सपना कामको खोजी गर्दै विराटनगरसम्म आइपुगेकी हुन्। भूकम्पपछि सपना सिधै विराटनगर आइपुगेकी भने होइनन्। सुरूमा काम खोज्दै गाउँबाट नजिकैको सहर काठमाडौं पुगेकी थिइन्।

बढ्दो उमेरसँगै उनीसँग सपनाका चाङ पनि बढ्दै थियो। जीवन के हो भन्ने अलिअलि ज्ञान भएदेखि उनले सरकारी जागिरे हुन्छु भन्ने सपना सजाएकी थिइन्। ती सुन्दर सपना तासको घर झैं एक्कासी भत्किन्छ भन्ने उनको कल्पनामा पनि थिएन। तर‚ त्यस्तै भइदियो।

‘पढेर सरकारी जागिरे हुने‚ बा-आमालाई सुख दिन्छु भन्ने सोचेकी थिएँ‚’ विराटनगरमा भेटिएकी सपनाले सुनाइन्, ‘७२ सालको भूकम्पले मेरो घर मात्रै भत्किएन‚ घरसँगै सुन्दर सपना पनि भत्कियो।’

२०७२ बैशाख १२ गते शनिबार परिवारका सबै सदस्य सँगै बसेर खोले (चामलबाट तयार पारिएको परिकार) खाएर आ–आफ्ना काममा हिँडेका थिए। तर‚ त्यसको केही समयपछि आएको भूकम्पले उनीहरूलाई घरबारविहीन बनाएको सुपनाले सुनाइन्। ‘परिवारका सदस्य घरबाहिर रहेकाले आफन्त गुमाउनु त परेन‚’ उनले भनिन्‚ ‘तर, केही समयअघि परिवारसँगको हाँसो र खुशी त्यही घरसँगै विलीन भयो।’

कुराकानीको क्रममा सपनाले रामकृष्ण ढकालको स्वरमा रहेको गीत गुनगुनाइन्‚

मलाई यो जिन्दगी ले कहाँ पुर्‍यायो
कहिले हँसायो कहिले रुवायो
आफ्नैसँग छुटाएर एक्लै बनायो...

मुसुक्क हाँस्दै उनले भनिन्‚ ‘यस्तै भएको छ जिन्दगी। कुनैकुनै गीत त आफ्नै लागि बनाएको जस्तो हुन्छ।’

यस गीत गुनगुनाएपछि उनले भूकम्पले घरबारविहीन बनाएको पछिको दर्दनाक कथाको बेलिबिस्तार लगाइन्।

‘भूकम्पले घर भत्काएपछि साँझ-बिहान के खाउँ भन्ने भएको थियो। २०७३ मा सानो टहरा बनाउन बाले  ऋण लिनुभएको थियो। त्यही ऋण तिर्न र बाल्यकालका सपनालाई पूरा गर्न सिन्धुपाल्चोक छाडेर काठमाडौं गएँ।’

भत्किएको घर र परिवारलाई सिन्धुपाल्चोकमै छोडेर १६ वर्षको उमेरमा गाउँका साथीहरूको साथ लागेर काठमाडौं गएको सपनाले बताइन्। छिमेकीसँग दुई हजार रूपैयाँ ऋण लिएर सपनाको शहर हिँडेकी उनले धेरै कमाएर परिवारलाई सुखमा राख्ने सपना बुनेकी थिइन्। तर‚ जब काठमाडौं पुगिन् तब उनी झस्किइन्। किनकि‚ आफूसँगै आएका साथी थिएन। उनको साथमा गाउँबाट हिँड्दा बोकेका झोला र पैसा कमाउने सपनाबाहेक केही थिएन।

‘त्यसअघि काठमाडौं आएकी थिइनँ। गाडीमा निदाएछु। साथीले पनि उठाएन,’ उनले सुनाइन्, ‘खै साथी कहाँ ओर्लियो! अहिले यसो बुझ्दा म कोटेश्वरमा ओर्लिएछु।’

गाडीबाट ओर्लिएपछि गन्तव्यविहीन भएको उनले सुनाइन्। यसपछि सडकमा नै उनको बास हुन थाल्यो। सडकमा बस्दा प्रहरीको गाली र पुरुषको दुर्व्यवहार कति भोगिन् भोगिन्!

‘होटलमा बस्न पर्याप्त पैसा थिएन। जाडोको समय काठमाडौंको कठ्याङग्रिने चिसोले घरीघरी आमाको न्यानो काख र बाले दुःख गरेर ल्याएको जाउलोको खुब सम्झना आयो‚’ सपनाले त्यो क्षण सम्झिन्‚ ‘शहरको पीडाले गाउँ फर्कौं झैं नलागेका पनि होइन।’

सडकको बसाइसँगै उनी कामको खोजीमा काठमाडौंका प्रत्येक गल्ली र पसलमा पुगिन्। लामो समयको सडक बसाइपछि एक दिन उनले ललितपुर बस्ने एक जना दिदीलाई संयोगवस भेटिन्।

ती दिदीसँग भेटपछि सपनाको सडकको बसाइ टुंगियो। उनले नै सँगै राखेको सपनाले सुनाइन्। विगतलाई स्मरण गर्दै उनले सुनाइन्‚ ‘दिदिको र मेरो कथा, व्यथा उस्तै थियो, उहाँले आमा झैँ मलाई एक वर्ष सँगै राख्नुभयो।’

दिदीसँगको भेटपछि उनी डान्स बार पुगिन्। त्यो उनको रहन थिएन। ‘रहरले भन्दा पनि बाध्यताले पुर्‍याउने रहेछ। १६ वर्षको उमेरदेखि बार डान्सरको रुपमा काम सुरु गरें‚’ सपनाले भनिन्‚ ‘घर बनाउँदा बाले लिएको ऋण तिर्नु थियो भाइबहिनीलाई पढाएर उनको अधुरो सपनालाई पूरा गर्नु थियो।’

डान्स बारमा ‘डान्सर’को काम गर्न सुरूमा निक्कै असहज भएको उनले बताइन्। किनकि‚ पुरुषअघि अर्धनग्न भएर नाच्नुपर्थ्यो। परपुरुषसँगको सामीप्यतासँगै स्पर्शले उनको आत्मसम्मानमा ठेस नपुगेको पनि होइन। तर, अभावले निम्त्याएको बाध्यात्मक परिस्थितिले सबै सहन बाध्य बनेको उनले सुनाइन्।

‘जिम्मेवारीले उमेर र रहर मार्ने रहेछ‚’ उनले सुनाइन्, ‘मलाई सुरुवातका दिनमा साँझ परेपछि अपरिचत पुरुषको अगाडि छोटो लुगा लगाएर नाच्न असहज हुन्थ्यो, तर समयसँगै  आदत बन्दै गयो।’

समयसँगै उनी त्यही पेशमा रमाउन थालिन्। आजभोलि उनलाई काठमाडौंको दुई वर्षको सडकको बासभन्दा ‘बार डान्सर’ पेशा नै सम्मानजनक लाग्न थालेको छ। ‘अहिले यो पेशा गरेको देख्दा ओंठ लोपार्छन्‚’ सपनाले भनिन्‚ ‘सडकमा रात बिताउँदा मेरो शरीर नलुटिएको हो र! त्यति बेला कोही मान्छे बोल्दैनन्।’

चार वर्षदेखि बार डान्सर भएर नै बुवाको घर बनाउन लिएको ऋण तिरिसकेको उनले सुनाइन्। परिवारको भोको पेट र आफूले झेलेको अभावबाट मुक्त भएको सपनाले बताइन्।

‘मैले अँगालेको पेसा अरुको नजरमा गलत होला‚’ उनले थपिन्, ‘मेरा लागि त यही पेशा सब थोक हो। यही पेसामा लागेर बुवाले लिनुभएको ऋण तिरें। मेरो भोको पेट भरें। मलाई कुनै पछुतो छैन।’

१५ दिनअघि काठमाडौंबाट विराटनगरको एक डान्स बारमा ‘सिफ्ट’ भएर आएकी सपनाले काठमाडौं फर्केर वैवाहिक बन्धनमा बाँधिने योजना रहेको उनले सुनाइन्। विवाहपछि पनि यही पेशामा रहनुहुन्छ भन्ने प्रश्नमा मुस्कुराउँदै उनले भनिन्, ‘म सम्बन्धमा रहँदा उहाँले (प्रेमी) साथ दिनुभएको छ, अब विवाहपछि उहाँको इच्छाअनुसार केही अन्य व्यवसाय सञ्चालन गर्ने योजनामा छु।’

सपनाको झैँ झापाकी विनिता परियार (नाम परिवर्तन)को पनि दुःखको पहाड कम छैन। उनी १६ वर्षको उमेरमा रोजगारीको खोजीमा विराटनगर आएकी रहेछिन्। घरकी जेठी छोरी उनी कमजोर आर्थिक अवस्थाकै कारण घर छोड्न बाध्य भएको उनले बताइन्।

सवारी दुर्घटनामा परेर घाइते भएका बुवा सधैं ओछ्यानमा थलिएकाले गुजारा चलाउन उनी र आमा दैनिक ज्याला मजदुरी गर्ने गरेको विनिताले सुनाइन्। स-साना भाइबहिनीको हेरचाह र बुवाको उपचार खर्च धान्न आमाछोरीलाई धौधौ परेपछि कामको खोजीमा विराटनगर आएको उनले बताइन्। यही क्रममा डान्सरको रुपमा काम सुरु गरिन्।

बार डान्सरको रुपमा काम गर्दा सुरुवाती दिनमा पुरुषसँगको सामीप्यताले असहज बनाएको उनले सुनाइन्। तर‚ समयसँगै यही पेशामा रामाउन सिकेको विनिताको भनाइ छ।

‘सुरुसुरुमा त गाह्रो हुन्थ्यो नि, नचिनेको छोरा मान्छेसँग गफिनुपर्ने‚ उनीहरुलाई आकर्षित बनाउनुपर्ने। जति ग्राहक तान्न सक्यो‚ उति नै साहुले हामीलाई पैसा दिनुहुन्थ्यो,’ उनले सुनाइन्, ‘समयसँगै सबै कुराको लत लाग्ने रहेछ। केही महिनापछि मलाई सहज हुन थाल्यो।’

त्यो बेला दैनिक १५ देखि २० हजार रुपैयाँसम्म कमाएको उनले सुनाइन्। अहिले उनी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। विवाह पछि उनले  पेसा परिवर्तन गरेकीछिन्। अन्तरजातीय विवाह गरेकी उनको तीन वर्षका छोरा पनि छ। तर‚ श्रीमानको परिवारले अहिलेसम्म नस्वीकारेको उनले बताइन्। यद्यपि‚ एकदिन राम्रो होला भन्ने आशमा रहेकी  बिनिताले बताइन्। कुनै समय आफूले अपनाएको पेशा नै सबै थोक लागे पनि अहिले घरगृहस्थ नै संसार लाग्न थालेको विनिताले सुनाइन्।

‘कसैको माया र साथले जीवनशैली नै परिवर्तन हुने रहेछ‚’ उनले अनुभव सुनाइन्, ‘कुनै समय मलाई डान्स बारभित्रको संसार नै सबै थोक हो जस्तो लग्थ्यो। आजभोलि मेरो घरपरिवार नै संसार लाग्न थालेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.