यात्रु भन्छन् : अभियानले निरन्तरता पाओस्

|

काठमाडौं : अब त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारीसाधनको व्यवस्था गरिएको छ। प्लेनको टिकटभन्दा ट्याक्सी भाडा महँगो भएको गुनासो आएसँगै नि:शुल्क सटल बस(माइक्रो) बस सञ्चालनमा ल्याएको पर्यटन मन्त्रालयले जनाएको छ। 

टर्मिनल भवनबाट गेटसम्म का लागि ३ वटा माइक्रो बस सञ्चालनमा ल्याएको छ। बुधबार बिहान टर्मिनल भवनबाट गोल्डेन गेटसम्म माइक्रोबसमा चढी सो सेवाको औपचारिक सुरुवात गरेका थिए। यात्रुका समस्यालाई सम्बोधन गर्नका लागि सो बस सञ्चालनमा ल्याइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताए। विमानस्थलको गेटबाट बाहिरिएपछि उपत्यकाका जुनसुकै स्थानमा पुग्नका लागि सार्वजनिक यातायात भेटिन्छन्। 

ट्याक्सीले टर्मिनल भवनबाट गेटसम्म ल्याउनका लागि चर्काे भाडा लिन्छ। उनले भने,‘देशका विभिन्न स्थानबाट आएका यात्रुलाई ट्याक्सी भाडा तिर्नै समस्या हुन्छ।’ उनले थपे,‘यो सबै समस्या म आफैँले भोगेको छु।’ त्यसैले यात्रुका यी यावत समस्या समाधान गर्नका लागि बस सेवा सुरु गरिएको मन्त्री आले बताए। 

सुरुवाती चरणमा ३ वटा बसबाट सुरु गरेको सो सेवालाई क्रमश: थप्दै जाने  नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए। उनले भने,यात्रुको चापलाई मध्यनजर गर्दै बस थप गर्नेछौँ।’

सवारी सुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरि टर्मिनल पुग्नुपर्ने यात्रुले सवारीसाधन प्रयोग गर्न सक्नेछन्। साथै विमानस्थलबाट बाहिर निस्किएपछि समेत यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म झरेर यहाँबाट सार्वजनिक यातायात चढेर गन्तव्यसम्म जान सक्नेछन्। टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाइएको छ। यात्रुले आफ्नो ब्याग बिसाएर गाडी कुर्न उपयुक्त हुने खालको संरचनासमेत निर्माण भएको छ।

एक महिना अगाडि  नेपालगञ्जबाट काठमाडौं आउँदा टर्मिनल  भवनबाट गोल्डेन गेटसम्मका लागि ट्याक्सीलाई ३ हजार भाडा  तिर्न परेको यात्रु टोस्टराज क्षेत्रीले बताए।

पहिलो पटक सरकारले सञ्चालन गरेको नि:शुल्क बसमा चढी विमानस्थलबाट बाहिरिन पाउँदा आफूलाई खुसी लागेको क्षेत्रीले बताए। उनले भने,‘सरकारले यात्रुको समस्यालाई सम्बोधन गर्नका लागि सुरु गरेको बस सेवाले निरन्तरता पाओस्, म एकदमै खुसी छु।’

वैदेशिक  रोजगारीका जानेलाई विश्राम कक्ष

निधारमा रातो टीका, गलामा खादा,पिठ्युँमा बोकोको सानो झोला ठूलो सपना बोकेर विदेशिने यात्रुलाई सहजीकरण गर्नका लागि भन्दै त्रिभुवन विमानस्थल कार्यालयमा  विश्राम कक्ष निर्माण गरिएको छ।  सो विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातो चिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले भने,‘झट्ट हेर्दा भिआइपी कक्षजस्तो देखिन्छ। कुनै गुनासो भए यात्रुहरूले त्यहीबाट फोन गर्न मिल्ने गरी फोन र फोन नम्बर पनि राखिदिएका छौँ। सुरुवाती चरणमा ३० सिटको विश्राम कक्ष निर्माण गरिएको छ। रोजगारीको खोजीमा विदेशिने श्रमिकको सुविधाको लागि विश्राम कक्ष सञ्चालन गरिएको मन्त्री आलेले बताए। 

विदेशमा पसिना बगाएका श्रमिकले पठाएको रेमिट्यान्सले चलेको देशमा श्रमिकले नै समस्या भोग्नुपरेको  मन्त्री आलेको भनाइ थियो। उनले भने,‘वैदेशिक रोजगारीमा जान सहज छैन, पाइल्‍यैपिच्छे समस्याको चाङ छ।’ सबै समस्या पार गर्दै विदेशिने अन्तिम तयारीमा रहेका युवालाई सहज बनाउनका लागि सानो प्रयास गरेको विमानस्थल कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.