|
तस्वीर : शारदा पोखरेल

बारा : बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) सञ्चालनका लागि विद्युतीकरण शुरु भएको छ।

सिमरा सेजको ५ वटा ब्लक छन्। तिनमा ‘ए’ ब्लकको ३ सय ४३ बिगाहामध्ये १ सय ६० बिगाहामा विद्युतीकरण गर्न थालिएको हो।

१० करोड रूपैयाँको लगानीमा १ वर्षभित्र विद्युत प्रसारणलाइनको सबै काम सक्ने गरी भारतीय कम्पनी मल्टीटेक ट्रेड सर्कल प्रालिसँग सेजले सम्झौता गरेको हो।

‘आउने ६ महिनाभित्र हामी यो प्रोजेक्ट सम्पन्न गर्नेछौं,’ मल्टिटेक ट्रेड सर्कल प्रालिका प्रोपाइटर अरुण जलानले भने, ‘हाम्रो सम्झौता १२ महिनाको हो। १२ महिनामा ३ महिना चाडपर्वले बितिसक्यो, अब बाँकी समयको ६ महिनाभित्रै सम्पूर्ण काम सक्ने हाम्रो लक्ष्य छ।’

विशेष आर्थिक क्षेत्र सेजको ‘ए’ ब्लकमा उद्योग सञ्चालनका लागि सरकारले आवश्यक सम्पूर्ण भौतिक तथा प्रशासनिक संरचना निर्माण गरिसकेको छ।

११ हजार भोल्टेजको विद्युत प्रसारण लाइनका लागि सेजमा पोल गाड्न थालिएको छ। बैंक, बिमा, भन्सार, प्रशासनिक भवन, खानेपानी, आन्तरिक सडक, नाला, वृक्षारोपण, दुधौरा खोलामा तटबन्धलगायत निर्माणमा उद्योग मन्त्रालयले अनुमानित ५ अर्ब खर्च गरिसके पनि जग्गाको भाडा महँगो भएको भन्दै उद्योगीहरू सेजमा आउन इच्छुक देखिएका छैनन्।

जग्गाको भाडा घटाउने तयारी भइरहेको छ : कार्यकारी प्रमुख भट्ट

विशेष आर्थिक क्षेत्र सेजका कार्यकारी प्रमुख चण्डिका भट्टले सेजभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगीका लागि जग्गाको भाडा घटाउने तयारी भइरहेको बताएका छन्।

जग्गा भाडा महँगो भएको भन्दै उद्योगीले विरोध गरिरहेका वेला प्रमुख भट्टले सेज सञ्चालन खर्च उठ्ने गरी न्यूनतम भाडादर कायम गर्ने जनाएका हुन्।

‘सेज सञ्चालन र मर्मत खर्च मात्रै उठ्ने गरी सरकारले जग्गाको भाडा लिन्छ। प्रति वर्गमिटर मासिक २० रूपैयाँ कायम नहुन पनि सक्छ, कति लिँदा खर्च उठ्छ, हामी हिसाब गर्छौं,’ उनले भने, ‘सरकारले भाडाबाटै फाइदा लिन खोजेको पक्कै पनि होइन, सेज स्थापनाको उद्देश्य रोजगारी सिर्जना गर्ने, विदेशी लगानी भित्र्याउने र व्यापार घाटा कम गर्ने मात्र हो।’

गतसाता सिमरा सेजमा विद्युतीकरण शिलान्यासपश्चात स्थानीय, सरोकारवालासँगको छलफलमा भट्टले केही महिनाभित्र उद्योगीलाई सेजमा ल्याउने प्रतिवद्धता जनाएका थिए।

सिमरा सेजको ८ सय ३३ बिगाहामध्ये ‘ए’ ब्लकमा पूर्वाधार निर्माण भइसकेको छ भने बाँकी ब्लकमा विदेशी लगानी भित्र्याउने तयारी भएको सेजले जनाएको छ।

बाराका प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले ‘ए’ ब्लकलाई खाली नराखी चाँडै उद्योग स्थापना गर्न आग्रह गरेका छन्।

‘पूर्वाधार तयार भएको ठाँउमा उद्योगधन्दा सञ्चालनतर्फ अगाडि बढौं, अन्य ब्लकका संरचना बनाउँदै जाऊँ,’ प्रदेशसभा सदस्य बिकले भने, ‘उद्योग सञ्चालन भयो भने मात्र जनताको आशा, भरोसा सेजप्रति सकारात्मक हुन्छ।’

५ अर्बको लगानीमा निर्मित संरचना सदुपयोग नहुँदा स्थानीयले सेज सञ्चालनमै नआउने हो कि भन्ने आशंका गरेका छन्।

यता उद्योगीहरूले भने उद्योग सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति नभएको, जग्गाको भाडा महँगो भएको र निर्यातमूलकलाई हटाएर सबैखाले उद्योगलाई प्रवेश दिन माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.