|

सल्यान : सल्यानमा ३८ जना एचआइभी एड्स संक्रमित रहेको पाइएको छ।

एचआइभी एड्स सम्बन्धी काम गर्दै आइरहेको संस्था शारदा प्लसका अनुसार जिल्लामा हाल ३८ जना संक्रमित देखिएका हुन्।

प्लसका अनुसार जिल्लामा २१ जना पुरुष र १७ जना महिला एड्सका बिरामी छन्। तीमध्ये पनि ७ जना बालबालिका छन्।

७ बालबालिकामध्ये २ जना आफ्नै आमाबुवासँग रहेका र ५ जना काठमाडौंस्थित बेबी केयर होममा रहेको शारदा प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए।

संक्रमितमध्ये २६ जनाले जिल्लाबाट एआरटी सेवा लिइरहेका छन् भने १२ जनाले जिल्ला बाहिरबाट सेवा लिइरहेको शारदा प्लसकी केस ट्र्याकर मना बस्नेतले बताइन्।

उनका अनुसार संक्रमितले सल्यान जिल्ला अस्पतालबाट नियमित एआरटी सेवा लिइरहेका छन्।

नियमित व्यायाम, खानपिन, घरपरिवारबाट माया स्नेह र एआरटी सेवा नियमित लिए संक्रमितले लामो समय जीउन सक्ने उनको भनाइ छ।

समाजमा तिरस्कृत र अपहेलित हुने डर त्रासका कारण धेरै मानिस खुल्न नचाहे पनि पछिल्लो समय भने सार्वजनिक हुन थालेको टोलीनेता विष्टको भनाइ छ।

संक्रमितले पनि अहिले विभिन्न पेशा व्यवसाय सञ्चालन गर्दै आइरहेको उनले बताए।

कोरोना संक्रमणबाट एक जना एचआइभी संक्रमितको मृत्यु भएको प्लसले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.