|

एउटा एनिमल फार्म छ। जहाँ मुसा, भेडा, सुँगुर, गाई, घोडा, कुखुरा, हाँसलगायत जनावर तथा पक्षीहरू बस्छन्। 

उनीहरूका आ-आफ्नै दुःख छन्, दुःखमा गाउने गीत पनि उनीहरूको आ-आफ्नै छ। स-साना कुरामा खुसी पनि भइदिन्छन्।

आफैंले लडेको लडाइँ बिर्सन्छन्, लडाइँ नै बिर्सेपछि लड्नुको उद्देश्य सम्झने त कुरै भएन। 

केही छन् जसलाई लडाइँ र लडाइँको उद्देश्य मात्र नभएर त्यो लडाइँबाट आफूहरूले पाएको र गुमाएको सबै कुराको हेक्का छ। सबै कुरा सम्झेका छन्।

तर, उनीहरूको भन्दा राम्रो स्मरण शक्ति भएको अरु कोही छ। जो त्यत्ति कुराले उनीहरूमाझ सर्वश्रेष्ठ कहलिएको छ। 

उनीहरू मात्र पेटभरिको खाना र शरीरलाई चाहिने जति निँद निदाउन चाहन्छन्। एउटा जनावरको जस्तो जीवन जीउन चाहन्छन्। 

त्यसको लागि गर्नुपर्ने परिश्रम पनि गरिरहेका छन्। फल पनि आइरहेको छ। तर, उनीहरूको पेट भरिएको छैन न त निद्रा नै पुगेको छ। 

जनताको स्वघोषित नेताले भनेको छ-यो फार्म संसारकै नमुना फार्म हो। यो जस्तो समृद्ध र सुखी फार्म विश्वभरि अन्यत्र कतै पनि छैन। 

उनीहरूलाई पनि 'हो कि हो कि' जस्तो पनि लाग्छ। होइन जस्तो लाग्नेहरू पनि छन् तर, त्यहाँ उनीहरूलाई लाग्नु र नलाग्नुको मात्र होइन, उनीहरू हुनु र नहुनुको अर्थमै प्रश्नचिह्न छ।

राजधानीको टेकुस्थित कौसी थिएटरमा मंगलबार मञ्चन भइरहेको नाटक 'एनिमल फार्म' मा जनावरका यस्तै यस्तै कथा समावेश छ।

यो नाटक सुँगुर, गधा, घोडा, गाई, भेडा, कुखुरा, हाँस, मुसालगायत सम्पूर्ण जनावर तथा पशुपक्षीले एक पटक हेर्नै पर्छ। 

ए, ला ! तपाईंहरू त सुँगुर होइन है? गधा, भेडा, घोडा, गाई केही पनि होइन है? न हाँस हो, न काग हो न कुखुरा हो। तपाईंहरू त मान्छे पो त! 

ल ठिक छ, मान्छे कै कुरा गरौँ। तपाईं, हाम्रै कुरा गरौँ।

ल भन्नुस् त तपाईं हाम्रो जीवन कत्तिको सहज छ? कत्तिको सन्तुष्ट हुनुहुन्छ तपाईं आफूले बाँचिरहेको जीवनसँग?

जीवन उत्सव हो भन्छन्, के तपाईंलाई आफ्नो जीवन उत्सवजस्तो, साँच्चिकै उपहार जस्तो लाग्छ? कहिलेकाहीँ लाग्दैन यो जीवन गर्दै नगरेको अपराधको सजाए पाए जस्तो? 

यो त मान्नुहुन्छ होला कि हामी सबै प्रकृतिका अंश हौँ। अनि प्रकृतीले कसैमाथि कुनै भेदभाव गर्दैन। तर, हामी सबैको जीवन उस्तै किन छैन? 

विसं २०५२ देखि ०६३ सम्म चलेको जनयुद्धमा कतिले ज्यान गुमाउनुपर्‍यो? ठिक छ, क्रान्ति हो रगत बग्छ, मान्छे मर्छन्। तर, जे कुराको लागि रगत बग्यो त्यो पूरा भयो त? 

किन एउटै युद्ध लडेका मान्छे कोही जंगलबाट बंगलामा पुगे अनि कसैले भएको झुपडी पनि गुमाए? किन कोही चिल्लो कारमा हिँड्छ, कसैको चप्पल पनि हराउँछ? 

छाड्नुस् न, हामी छिटै भुल्छौँ। हामीलाई त अस्ति भर्खर कोरोनाको महामारीले नेपाली छटपटाइरहेका बेला पनि स्वास्थ्य सामग्री किन्दा 'ठूलाबडा'ले गरेका घोटालाको समेत यतिवेला सम्झना छैन। 

हाम्रो स्मृति मात्र होइन दृष्टि पनि कमजोर छ। हामी यो देख्दैनौँ दिनरात नभनी वर्षभरि खेतबारीमा काम गरेर पनि ४ जनाको जहान पाल्न गाह्रो हुने किसान यहीँ छन्, अनि कामै नगरी फाल्न पुग्ने अन्न जम्मा गर्नेहरू र दिनहुँ भात फाल्नेहरू पनि यहीँ छन्। 

हाम्रा अगुवाहरूले जे-जे भन्छन् हामी त्यही-त्यही पत्याउँछौँ। केही क्षण पहिलेका कुरासमेत बिर्सन्छौँ। अनि हरेक पटक लोप्पा खान्छौँ। 

'हुने नै यस्तै होला, त्यही भएर यो भयो होला, हाम्रो जीवन नै यस्तो होला, हामी बाँच्ने नै यसरी होला, सुख खुसी भनेको पनि यही दुःख पीडा नै होला....,' हामीले पुर्पुरोमा हात राखेर सोच्ने यही त हो, तर होइन। स्वतन्त्र भएर बाँच्ने, सपना देख्ने अधिकार हाम्रो पनि छ। 

ल ठिक छ, खुसी भनेको आफूमा भर पर्ने कुरा हो, सबै कुराले भरिपूर्ण भएर पनि खुसी नहुन पनि सकिन्छ तर असहमति जनाउन त पाउनुपर्‍यो नि, गाईको दुध चोर्न त भएन नि।

विरोध जनायो जेल र नेल, जिन्दगीभर इमानदार भएर जयगान गायो, नसक्ने भएपछि उसैको हाडमासुको व्यापार। यस्तो कुन फार्ममा हुन्छ? 

ला, फेरि जनावर र फार्मतिर गएछु! 

अँ, सबै मान्छे हुन्।

कथा लेख्ने जर्ज अरवेल र निर्देशक आकांक्षा कार्की पनि मान्छे हुन्।

स्टेजमा सुँगुर बुढा मेजर, केपोलियन, एसबी र चाप्लुस बनेका क्रमशः आयुष निरौला, इँगी होपो कोइँच सुनुवार, ओजस्वी भट्टराई र ऋषिकेश बस्याल हुन्। त्यस्तै भक्त घोडा, मालती घोडी, माला घोडी बनेका क्रमशः प्रयास बान्तवा राई, रोशनी स्याङ्बो र विनिता लामा गुरुङ हुन्। 

त्यस्तै रिजन परियार बुद्धि घोडा बनेका छन्, सेविता अधिकारी भेडा, कवि राई गाई, निर्भिक भट्टराई मुसा, विशाल क्षेत्री र धीरज थापा मगर कुकुर बनेका छन्। भने अभिशेष शर्मा काग, मारुती सापकोटा कुखुरा र आशिष काफ्ले हाँस बनेका छन्। सबै मान्छे नै हुन्, जनावरको मुकुन्डो मात्र लगाएका हुन्। 

खासमा यो नाटक ऐनाजस्तो छ। मञ्चमा देखिएका कुनै जनावरमा तपाईंले आफैंलाई पाउन सक्नुहुन्छ वा भनौं आफ्नै प्रतिविम्ब देखेको अनुभूति गर्न सक्नुहुन्छ।

त्याे बुढा मेजर हुन सक्छ, चाप्लुस हुन सक्छ, केपोलियन हुन सक्छ, कमरेड एसबी पनि हुन सक्छ। भक्त, मालती, बुद्धि जो पनि हुन सक्छ। अथवा सबै पनि हुन सक्छ।

यो नाटकले देशको वर्तमान राजनीतिक अवस्थामाथि त कडा व्यंग्य गरेको छ नै साथै केपोलियन प्रवृत्तिका व्यक्ति जहाँ जहाँ छन्, ती सबै ठाउँको प्रतिविम्ब यो नाटकमा पाउन सकिन्छ।  

ऐतिहासिक मानिएको क्रान्तिपछि पनि जनताले केपोलियनजस्ता नेता पाउनु भनेको युगले फेरि अर्को एउटा क्रान्ति मागिरहेको संकेत हो भन्न सकिन्छ।

नाटकमा एउटा गीत छ-

एउटा गीत गाउन बाँकी छ 
विधिको शासन ल्याउन बाँकी छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.