|

काठमाडौं : नेपाली कांग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ। यी जिल्लामा महाधिवेशन प्रतिनिधि समेत चयन भइसकेका छन्।

प्रदेश १ र कर्णालीका सवै जिल्लामा अधिवेशन सम्पन्न भएको छ। प्रदेश २ का भने आठ वटै जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ। यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन सम्पन्न भएको छैन।

यी जिल्ला अधिवेशन अन्यौल भएपनि महाधिवेशन प्रतिनिधि भने चयन भइसकेका छन्। गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वमा अधिवेशन हुन बाँकी छ। यहाँ पनि महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्।

लुम्बिनी प्रदेशमा बाँकेबाहेका जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। बाँकेमा पनि महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र अछाममा पनि जिल्ला अधिवेशन हुन सकेको छैन। यी दुवै जिल्लामा महाधिवेशन प्रतिनिधि भने चयन भइसकेका छन्।

प्रदेश २ मा महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ। भोलिबाट प्रदेश अधिवेशन सुरु हुने भएकाले १६ जिल्लाको अधिवेशन महाधिवेशन पछि हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। जिल्ला अधिवेशन भएका ६२ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अग्रता लिएको छ।

६२ जिल्लामध्ये २९ जिल्लामा पौडेल पक्षका सभापतिले जित हात पारेका छन्। सभापति शेरबहादुर देउवा निकट २८ सभापति निर्वाचित भएका छन् भने कृष्णप्रसाद सिटौला निकट दुई जना र विमलेन्द्र निधि निकट एक जना सभापति निर्वाचित भएका छन्।

दुई जना सभापति आफू सर्वसम्मत भएको भन्दै कुनै पक्षमा खुलेका छैनन्। जाजरकोटका सभापति वेदराज सिंह र रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले आफूहरू कुनै पक्षमा नभएको बताएका हुन्।

जिल्ला सभापतिमा एक जना मात्र बढी हात पारेको पौडेल पक्षमा महाधिवेशन प्रतिनिधिको संख्या भने झण्डै झण्डै ६० प्रतिशत भन्दा बढी रहेका पाइएको छ। प्रदेश १ का धेरै निर्वाचन क्षेत्र भएका झापा, मोरङ र सुनसरीमा देउवा पक्ष कमजोर बन्दा पौडेल पक्षमा ५६ दशमलब ३६ प्रतिशत महाधिवेशन प्रतिनिधि रहेका छन्।

झापामा पूर्वमहामन्त्री कृष्ण सिटौला पक्ष बलियो देखिएको छ भने दोश्रोमा पौडेल पक्ष देखिएको छ। सभापति देउवा निकट महाधिवेशन प्रतिनिधि झापामा अत्यन्तै न्यून रहेका छन्। अझ प्रवक्ता विश्वप्रकाश शर्मा सभापति देउवा समूहमा नहुँदा झापामा देउवा पक्ष शून्य हुने देखिएको छ।

मोरङ र सुनसरीमा पौडेल पक्ष निकै अगाडि रहेको छ भने दुई निर्वाचन क्षेत्र रहेको उदयपुर र इलाममा देउवा पक्ष अगाडि देखिएको छ। एउटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगा, पाँचथर, ताप्लेजुङ र सोलुखुम्बुमा सभापति देउवा पक्षले हात पारे पनि महाधिवेशन प्रतिनिधिमा भने ओखलढुंगामा मात्र देउवा पक्ष अगाडि देखिएको छ।

वागमती प्रदेशका काठमाडौं चितवन जस्ता धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि पौडेल पक्षको एकलौटी जस्तै देखिएको छ। दोलखा, धादिङ, नुवाकोट, सिन्धुली, रामेछापमा पनि पौडेल पक्ष एकलौटी देखिएको छ।

मकवानपुर, सिन्धुपाल्चोक, रसुवा र काभ्रेको एउटा क्षेत्रमा देउवा पक्षको पकड देखिएको छ। गण्डकी प्रदेशमा सभापति देउवा पक्ष भन्दा पौडेल पक्ष धेरै अगाडि देखिएको छ।

गण्डकी प्रदेशमा ६५ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि पौडेल पक्षमा देखिएका छन्। कास्की, तनहुँ, पर्वतमा पौडेल पक्षका सभापति पराजित भएपनि महाधिवेशन प्रतिनिधि भने यी जिल्लामा धेरै अगाडि देखिएका छन्।

लुम्बिनी प्रदेशका धेरै निर्वाचन क्षेत्र भएका जिल्लाहरू दाङ, कपिलबस्तुमा पौडेल पक्षका महाधिवेशन प्रतिनिधि ७० प्रतिशत भन्दा बढी रहेका छन्। बर्दियामा पौडेल पक्षका सभापति पराजित भएपनि महाधिवेशन प्रतिनिधि भने बराबरी जस्तै रहेका छन्। बाँके र रुपन्देहीमा महाधिवेशन प्रतिनिधि देउवा पक्षका बढी देखिएका छन्।

त्यस्तै दुई निर्वाचन क्षेत्र भएका लुम्बिनीका पाल्पा, गुल्मीमा पौडेल पक्षको वर्चश्व देखिएको छ। एउटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँची, रुकुम पूर्व, रोल्पा र प्यूठानमा पनि पौडेल पक्ष हाबी देखिएको छ। लुम्बिनीमा ५५ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि पौडेलको पक्षमा देखिएका छन्।

कर्णालीमा अघिल्लो महाधिवेशनमाभन्दा यो पटक पौडेल पक्ष अलि कमजोर देखिएको छ। सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्काका कारण पौडेल पक्ष कमजोर देखिएपनि सुर्खेतमा भएको घाटा पौडेल पक्षले दैलेखबाट पूर्ति गरेको छ।

बाँकी रहेका जिल्लामध्ये कालीकोट, जुम्ला र जाजरकोटमा पौडेल पक्षका महाधिवेशन प्रतिनिधि बढी रहेका छन् भने हुम्ला, डोल्पा र सल्यानमा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढी आएका छन्।

कर्णालीमा दुवै पक्षका महाधिवेशन प्रतिनिधि हाराहारी रहेका छन्। सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा देउवा धेरै अगाडि देखिएका छन्। बाजुरा, बझाङ, दार्चुला र बैतडीमा पौडेल पक्ष अगाडि देखिएको छ। तर धेरै निर्वाचन क्षेत्र रहेको कैलाली, कञ्चनपुर, अछाम र डोटीमा देउवा पक्ष हाबी हुँदा पौडेल पक्ष ३० प्रतिशत महाधिवेशन प्रतिनिधिमा खुम्चन बाध्य भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.