|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको विकल्प नभएको बताएको छ। राप्रपाको जारी एकता महधिवेशनमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा राजसंस्था पुनःस्थापना नभएसम्म यथास्थितिमा राष्ट्रको हित नहुने प्रष्ट पारेका छन्। 

अध्यक्ष थापाले बैठकमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘नेपालको राजनीति अहिले दोसाँधमा खडा भएको छ। परिवर्तनको नाममा अवलम्बन गरिएको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई निरन्तरता दिएर देशलाई थप वर्वादीको दिशातर्फ धकेल्ने वा गत १५ वर्षको अनुभवबाट पाठ सिकेर संविधान, संरचना र व्यवस्थामा सुधार गर्ने?

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको वर्तमान स्वरूपलाई निरन्तरता दिँदा बाह्य हस्तक्षेप बढ्ने, देश आन्तरिक द्वन्द्वमा फस्ने र अन्तत्वगत्वा राष्ट्र विखण्डनमा जान सक्ने समेत खतरा रहने उल्लेख गरेको छ। 

‘वर्तमान व्यवस्था र संविधानको कार्यान्वयनमा समस्या र चुनौति देखिएको भएता पनि पुरानो व्यवस्थामा फर्कन सक्ने धरातलीय अवस्था पनि छैन। २०६३ साल अघिको शासकीय स्वरुप र संरचनामा अब फर्कन सकिन्न। त्यो संभव पनि छैन र उपयुक्त पनि होईन’ प्रस्तावमा उल्लेख छ,  ‘अहिलेको अवस्थामा देशलाई बचाउन र बनाउन मध्यमार्गी अवधारणा र मार्गचित्र पहिल्याउनु अनिवार्य छ।’

परिवर्तनकारी विचार र शक्ति तथा परम्परागत विचार र शक्ति बीचको ‘सिनर्जी’ नै देशमा दिगो शान्ति, स्थायित्व र समृद्धिको आधार भएको प्रस्तावमा उल्लेख गरिएको छ। 

‘सुरुदेखि नै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विचार र बाटो गलत भएको मान्यता राख्ने दल भएको नाताले पनि अहिले विकल्पको खोजी हुन लागेको अवसरमा राप्रपाले सर्वस्वीकार्य वैचारिक अवधारणा र शासन प्रणालीको प्रस्ताव नेपाली जनता समक्ष प्रस्तुत गर्न सक्नु पर्दछ’ प्रस्तावमा उल्लेख छ। 

जिम्मेवारी बोध गर्दै राप्रपाले नेपाली संस्करणको मौलिक प्रजातन्त्र र राष्ट्रनायकको वैकल्पिक बाटो जनसमक्ष प्रस्तुत गरेको दाबी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.