|

काठमाडौं : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।

फाइनल पुग्ने दोस्रो टिमको टुंगो भने समूहचरणको अन्तिम खेलले तय गर्ने पक्का भएको छ। आज भएको खेलमा प्रदेश एक गण्डकी प्रदेशसँग पराजित भएसँगै फाइनल पुग्ने अर्को टिमको टुंगो अन्तिम खेलले लगाउने भएको हो।

अब सुदूरपश्चिम र बागमती बीचको खेलपछि फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्ने छ। सुदूरपश्चिमले जित निकालेमा फाइनल पुग्ने छ भने बागमतीले सुदूरपश्चिमलाई पराजित गरेमा चार टिमको ६ अंक हुने छ। यस्तोमा गण्डकी र प्रदेश एकको नेट रनरेट माइनसमा हुँदा बागमती र सुदूरपश्चिमको प्लसमा छ।

त्यसैले सुदूरपश्चिमले जितेमा अंककै आधारमा फाइनल पुग्दा पराजित भएमा बागमती र सुदूरपश्चिममध्ये एक टिमले फाइनलमा स्थान बनाउने छ। प्रदेश एकले गण्डकी प्रदेशलाई १ सय ३४ रनको लक्ष्य दिएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४४.४ ओभरमा १ सय ३३ रन बनाएका थिए। जवाफी ब्याटिङ गरेको गण्डकीले ७२ बल बाँकी हुँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। गण्डकीका लागि अर्जुन कुमालको ३५ रन सर्वाधिक रह्यो।

त्यस्तै दिपक डुम्रेले ३३ रन बनाउँदा मिलन क्षेत्रीले २४ रन जोडे। त्यस्तै किरण पौडेल १२ रनमा नटआउट रहँदै टिमको जित निश्चित गरे। उनलाई सुदीप अर्यालले २ रनमा साथ दिए। त्यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश १ का लागि दिपेश कँडेलको ४६ रन सर्वाधिक रहेको थियो।

त्यस्तै विवेक आन्नद मेहेताले १४ रन बनाउँदा सोनु अन्सारी १३ रनमा आउट भए। त्यस्तै थप दोहोरो स्कोरका रुमपा दिपक जोशीले १६ रन जोड्दा सोनु मण्डल ११ रनमा आउट भए। गण्डकीका कमल परियारले ३ विकेट लिंदा सुदीप अर्यालले २ विकेट लिए। त्यस्तै विष्णु पाण्डे, किरन पौडेल तथा सुवाष भण्डारीले समान ११ विकेट लिए। 

कर्णालीको सुखद अन्त 

प्रतियोगिताको अन्तिम खेलमा प्रदेश दुईलाई पराजित गर्दै कर्णालीले प्रतियोगिताको सुखद अन्त गर्‍यो। दुबै टिम यसअघिनै फाइनल रेसबाट बाहिरिसकेका छन्। कर्णालीका लागि प्रकाश जैसीले ८ विकेट लिंदै सनसनिपूर्ण प्रदर्शन गरेका थिए।  

बिहीबार मुलपानी मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश दुईले प्रतियोगिताकै दोस्रो कम स्कोर ४५ रनमा नै अलआउट भयो। उसका लागि सन्नी साहको १२ रन सर्वाधिक रह्यो। थप दोहोरो स्कोरका रुपमा सन्तोष कार्कीको ११ रन रह्यो। उसका अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर तयार गर्न सकेनन्।

उसका ५ ब्याट्सम्यानले खाता नखोल्दै पेभिलियन फर्किएका थिए। कर्णालीका लागि प्रकाश जैशीले ८ विकेट लिए। उनले ६.४ ओभरमा ३ मेडन सहित १६ रनमात्रै खर्चिएर ८ विकेट लिएका थिए।

जवाफी इनिङ सुरु गरेको कर्णालीका लागि पनि ४५ रनको लक्ष्य संघर्षपूर्ण बनेको थियो। उसका लागि प्रकाश जैशीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन। उसले अतिरिक्त रनका रुपमा १० रन पाएको थियो। उसका रज शाह ६ रनमा अविजित रहे।

प्रदेश दुईका राजेश यादवले ६.३ ओभरमा १ मेडन राख्दै ६ विकेट लिएका थिए। राज साह ६ रनमा नटआउट रहे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.