|

पर्वत : छुवाछुतका कारण दलित समुदायका व्यक्तिहरूले अझै पनि धेरै खालका जातीय समस्या भोग्दै आइरहेका छन्। समाजमा उनीहरूप्रति गरिने व्यवहार नै बेग्लै छ।

हिन्दु भएर पनि पूजापाठ, न्वारन व्रतबन्ध, विवाह जस्ता धार्मिक कर्मकाण्ड गर्न उनीहरूको घरमा पण्डित पुग्दैनन्। दलितका घरमा पूजा गर्दा धर्म नास हुने गलत बुझाई अहिले पनि उस्तै छ। तर यही समाजमा एक जना पुरोहित पनि छन्, जो लामो समयदेखि दलितको घरघर पुगेर पूजापाठ गर्दै आएका छन्।

जिल्लाको कुश्मा नगरपालिका–६ साझा चोक घर भएका ८४ वर्षीय गोपाल गिरीले दलित समुदायको घरमा पूजापाठ गर्दै आएका छन्। छुत अछुतको कुरा कहीँ नलेखिएको तर केही टाठा बाठा ब्राह्मणहरूले अर्कालाई निच देखाएर आफूलाई ठूलो देखाउन हिन्दु धर्मभित्र गलत परम्पराको सुरुवात गरेको गिरीको बुझाई छ।

मान्छेले मान्छेलाई भेदभाव गर्न हुन्न भन्ने चेतना युवा अवस्थामै जागृत भए पनि उनले दलित समुदायको घरमा पुगेर पूजा गर्न सुरु गरेको तीन दशक भयो। ‘धर्मले यो सानो यो ठूलो, यसलाई भेद गर भनेको छैन।

केही मान्छेहरूलाई आफूखुसी यो प्रथाको सुरु गराएका हुन्। एउटै हिन्दु धर्ममा बाँधिएका हामी सबै एकै हौँ। फरक धर्म नै माने पनि मान्छे त सबै एकै हुन्,’ पण्डित गिरी भन्छन्, ‘मैले युवा अवस्थाबाट जातका नाममा भेदभाव गर्नुहुँदैन भन्दै आएको छु।

लगभग ३० वर्ष जति भयो होला मैले दलितकै घरमा गएर कर्मकाण्ड गरिरहेको। जात भनेको महिला र पुरुष मात्रै हो।’ दलितको घरमा पूजापाठ गर्दै हिँड्ने गिरीलाई उनकै समुदाय भित्रै हेयको भावले हेरिन्थ्यो। जात फालेको आरोप पनि लगाइन्थ्यो। उनले समाजबाट तिरस्कार पनि भोग्नु पर्‍यो।

तिरस्कार सहेरै भए पनि उनले जातीय भेदभाव र हिन्दु धर्मभित्र भगवानका नाममा गरिने बली प्रथाको समेत खुलेर विरोध गर्दै आइरहे। उमेरले उकालो चढेपछि पहिले–पहिले जस्तै बोलाएका सबै ठाउँमा त उनी अहिले पुग्न सक्दैनन्। तर जान सक्ने भएमा भने उनी त्यहाँ पुगेर कर्मकाण्ड गर्दै आएका छन्।

वर्षौँ पहिले जातीय छुवाछुतको अवस्था समाजमा व्याप्त थियो। पछिल्लो समयमा आएका सामाजिक परिवर्तनहरूले यो समस्या कम हुँदै गएको छ। यसैको उदाहरण गिरीकी श्रीमती देवी हुन्। श्रीमानले थालेको अभियानमा देवीको पनि साथ छ। उनले पनि अहिले छुवाछुतमा विश्वास मान्दिनन्।

​‘सार्कीकोमा, कामीकोमा पूजापाठ गर्छ भनेर जिस्क्याए पहिले। जिस्क्याए पनि उहाँ जान छोड्नुभएन, जातभातका आधारमा मान्छेलाई हेलाँ गर्न हुन्न भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘मैले पनि छुवाछुत गर्दिन, उहाँ कहीँ पूजामा जान परेमा सघाउँछु। उहाँको कुरा एक दिन त बुझ्लान् नि अरूले।’

पुरोहित गिरीले छुवाछुत र जातीय विभेदविरुद्ध दलितको घरमा पुगेर पूजापाठ गर्ने मात्र नभई उनीहरूले बनाएको भोजन समेत ग्रहण गर्छन्। त्यस जर्जर समय र परिवेशमा समेत खुलेरै समानताका पक्षमा लागेका उनलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरिसकेका छन्।

कतिले त उनको साहसलाई क्रान्तिका रूपमा पनि बुझ्ने गरेका छन्। नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार (शिव) ले गिरीको साहसलाई आफूहरूले सम्मान गरेको बताउँदै जातीय छुवाछुतको अन्त्यका लागि गिरीले गरेको आँटलाई जति सम्मान गरे पनि कमी हुने बताए।

८४ वर्षका पुरोहित गिरीले आधुनिक समाजमा हुर्केका हामीहरूलाई छुवाछुत र जातपात केही होइन, मान्छे मान्छे एउटै हो भनेर बुझाउनु परिरहेको छ। तर पछिल्लो पुस्ता कतिपयले भने अझै पनि दलितलाई तल्लो जात र अछुत भन्दै फरक व्यवहार गर्दै आइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.