निर्वाचन कार्यतालिका हेरफेर

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले प्रदेश समितिको नेतृत्व सर्वसम्मत चयन गर्न जोडबल गरिरहेको छ। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा बिहीबारबाट प्रथम प्रदेश अधिवेशन सुरु भएको थियो।

बिहीबार उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयन भने हुन सकेको छैन। नेतृत्व चयनका  लागि सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन्।

सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिकासमेत हेरफेर गरिएको प्रचारप्रचार समितिका प्रमुख नृपबहादुर सुनारले बताए।

सुनारका अनुसार कार्यतालिका हेरफेर गर्दै मनोनयन पत्र दर्ताको समय दिउँसो दुईदेखि चार बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध गर्ने समय साढे ४ देखि पाँच बजेसम्म, उम्मेदवारको नाम प्रकाशन गर्ने समय साढे ५ बजेसम्म, उम्मेदवारी फिर्ता लिने समय साढे ५ देखि साढे ६ बजेसम्म र साढे ७ बजे अन्तिम नामावली प्रकाशनको समय तय गरिएको छ। मतदान शनिबार बिहान ८ बजेदेखि गर्ने कार्यसूची छ।

सुनारले आकांक्षीहरूबीच सर्वसम्मतिको प्रयासका लागि छलफल भइरहेकाले निर्वाचन कार्यतालिका परिवर्तन गरिएको बताए। कांग्रेस सुदूरपश्चिमको सभापतिका लागि अहिले करिब एक दर्जन नेताहरू आकांक्षी देखिएका छन्।

कैलाली जिल्ला सभापति नरनारायण शाह, पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर,  पूर्वपरराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा, कैलालीका तत्कालीन जिल्ला विकास समितिका सभापति नारायण मिश्र, कञ्चनपुरका नेता गोपाल गुरुङलगायतका नेताहरु सभापतिको दौडमा देखिएका छन्।

उनीहरूमध्ये पूर्व-पूर्वाधार तथा यातायातमन्त्री बलायर, कैलालीका सभापति शाह र सुदूरपश्चिम प्रदेशसभा सदस्य बोहरा मध्येबाट एकजनालाई सर्वसम्मत रूपमा सभापति बनाउने कसरत कांग्रेसभित्र चलिरहेको छ।

प्रमुख दाबेदारका रूपमा देखिएका तीनै जना पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। तर, आकांक्षीमध्येका देउवा पक्षकै पूर्व-राज्यमन्त्रीद्वय सिंह र शाहले पनि अहिलेसम्म आफ्नो अडान फिर्ता नलिएको स्रोतको भनाइ छ।

नेतृत्व चयनमा लेखक र साउदबीच खिचातानी

सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनमा देउवा पक्षकै दुई नेता रमेश लेखक र एनपी साउदबीच खिचातानी भइरहेको देखिएको छ। सुदूरपश्चिमका कञ्चनपुर र बैतडीमा दुवै नेताबीच पालिका अधिवेशनबाटै तीव्र ध्रुवीकरण भएकोमा प्रदेश अधिवेशनसम्म आइपुग्दा ध्रुवीकरण झन् बढेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश कार्यसमिति चयन गर्दा सर्वसम्मति गर्न दबाब दिएको बुझिएको छ। सभापित देउवाले सहमतिमा प्रदेश सभापति र अन्य पदाधिकारी सर्वसम्मत गर्न भनेपनि नेताद्वय लेखक र साउँदले आफू निकट नेता पदाधिकारीमा जसरी पनि ल्याउन खोजेपछि सहमति जुट्न नसकिरहेको एक नेताले बताए।

लेखक र साउदबीचको खिचातानीका कारण नेतृत्व चयन निर्वाचनतर्फ जानसक्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.