|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो।

विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए।

प्रवक्ता महराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए। उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताए।

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ। त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए।

प्रवक्ता महराले भने, ‘प्रतिनिधिहरू छान्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नको निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नविकरणको संख्याको आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ। प्रतिनिधिहरुको प्रवेश शुल्क तोकिएको छ। प्रत्येक पार्टी सदस्यलाई २ हजार प्रवेश शुल्क तोकिएको छ'  

उनले अगाडि भने,  'विधानमा केही विषय परिमार्जन गर्ने, थप गर्ने केही छ भने ५ जनाको उपसमिति बनाइएको छ। देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव हुनुहुन्छ। २५ गतेसम्म उहाँहरुले गरिसक्नु हुन्छ। राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरू निर्माण गरिएको छ।'

प्रवक्ता महराले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नको लागि स्थायी कमिटीले अनुमति दिएको बताए। उनले राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपाङ्गहरुको हकहीत सुरक्षित गर्ने निर्णय गरिएको पनि बताए।

बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधि बनाएको बताउँदै केन्द्रिय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रस्ताव तयार पार्ने जिम्मेवारीसमेत दिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.