सहमतिको प्रयास हुँदै

|

सर्लाही : नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन चौथोपटक पुनः अर्का निर्वाचन अधिकृत खटाइएको छ। यसअघि तेस्रोपटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडौं फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरुणकुमार ज्ञवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतको रूपमा खटाएको हो।

सर्लाही हजरिया घर भएका यसअघिका निर्वाचन अधिकृत राउत जसभन्दा अपजस धेरै खेपेको र दुई गुटका नेताहरूबीचको टकरावले अधिवेशन गराउनै अप्ठेरो परेको भन्दै बिहीबार दिउँसो अचानक काठमाडौं फर्किएका छन्।

बारा घर भएका अहिलेका नयाँ निर्वाचन अधिकृत ज्ञवालीले सर्लाहीमा अधिवेशन गराउनका लागि बिहीबार रातिबाटै नयाँ टिम परिचालन भइसकेको बताए। उनी अस्वस्थ भई बारास्थित घरमै आराम गरिरहेको र शुक्रबार बेलुकासम्ममा सर्लाही आइसक्ने नेपाली कांग्रेस सर्लाहीले जनाएको छ। सर्लाहीमा यसअघि (आज) शुक्रबारका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन नहुने र दुवै पक्षको सहमतिमा सकेसम्म शनिबार हुनसक्ने अधिकृत ज्ञवालीले जानकारी दिए।

यसअघिका निर्वाचन अधिकृत राउतले छाडेर गएको कागजात र अन्य सरसामग्रीहरु बरबुझारथ हुने र त्यसपछि प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन प्रकृया अगाडि बढाइने ज्ञवालीको भनाइ छ।

उनले नेतृत्व चयन भइसकेको भनिएका कतिपय वडाहरूमा उजुरी समेत परेकाले त्यसको छानबिन गरी ५१ प्रतिशत क्रियाशील सदस्य स–प्रमाण आए पुनः अधिवेशन गराइनेसमेत बताएका छन्। यसअघिका निर्वाचन अधिकृत राउत शुक्रबार काठमाडौं गएपछि लालबन्दीस्थित उनी बसेको एक घरको कोठामा कांग्रेस सर्लाहीको दुवै समूहको उपस्थितिमा ताला लगाएर लाहाछाप लगाइएको छ।

शुक्रबार बिहानैबाट ज्ञवालीका सहयोगि अर्थात् सहायक निर्वाचन अधिकृत धीरेन्द्र चौधरीले दुवै पक्षलाई युनाइटेड होटल लालबन्दीमा बोलाएर वार्ताको प्रयास सुरु गरेका छन्।

सर्लाहीमा संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापनइतर पक्षका पूर्व-जिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवादले अधिवेशन हुन सकिरहेको छैन। २०० मध्ये १९० वटा वडाहरूमा अधिवेशन यसअघि नै भइसकेका छन्। त्यसमा पनि केही ठाउँमा एकपक्षीय रूपमा अधिवेशन भएको भन्दै उजुरी परेको छ।

दुईपटक गोली नै चलेपछि बलराको चारवटा वडासहित केही पालिकाका वडाहरूमा अधिवेशन स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.