|

काठमाडौं : स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार पुनर्निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ।

हात्तीस्थान फाउन्डेसन समिटले पुस १५-१७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किलोमिटर उत्तर स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो। 

करिब साढे ७ सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीनतले तामेकोट दरबार रहेको इतिहास छ। अझै पनि दरबारको ढुङ्गे अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको बताइन्छ।

राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापति अर्थमसँग मिलेर राज्य सञ्चालन गरेको कथन रहेको फाउन्डेसनका अध्यक्ष शिवशंकर बस्यालले बताए।

पछि भयकोट, चन्द्रकोट र पैयुँकोट गरि ३ भुरे राज्यले संयुक्त हमला गरि तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीयमाझ प्रचलित छ। 

उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि फाउन्डेसनको पहलमा महोत्सव गर्न लागेको जानकारी बस्यालले दिए।

करिब १० करोड रूपैयाँ लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोगको प्रतिबद्धता जनाएको र केन्द्र सरकारसँग पनि सहयोगका लागि पहल भइरहेको जानकारी फाउन्डेसनले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.