|

म्याग्दी : म्याग्दीमा सडक दुर्घटना भयावह बन्दै गएको छ। तीन वर्षको अवधिमा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ३० जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क छ।

हरेक वर्ष दुर्घटनाको संख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो रहेको तथ्याङ्कमा देखिएको छ। चालु आर्थिक वर्षको मङ्सिर १५ गतेसम्म जिल्लामा ५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भइसकेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुईजनाको ज्यान गएको थियो।

त्यसैगरी आ.व. २०७६/०७७ मा १३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा १२ वटा सवारी दुर्घटना भएका थिए भने ८ जनाको मृत्यु भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए।

जस्तोसुकै कठिन भूगोल भए पनि र वातावरणीय मूल्याङ्कन जस्तो देखिए पनि गाउँमा सडक पुर्‍याउने होडबाजी चलिरहेको छ। गाउँमा सडक पुर्‍याउन पाए सबै सुविधा आफैँ आउँथे भन्ने मानसिकताले सरकारी मापदण्डको ख्यालै नगरी डोजर चालकलाई नै इन्जिनियर बनाई गाउँगाउँमा ग्रेड नमिलाई खनिएका साँघुरा सडक काल बनिरहेका छन्।

यस्ता सडकले केही दिनसम्म खुसी दिए पनि वर्षौंसम्म पीडाको कारण बनेका प्रशस्तै उदाहरण देखिएका छन्।

तिनै उदाहरणमध्येको एक हो मङ्सिर १३ गते सोमबार साँझ म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा भएको बोलेरो जिप दुर्घटना। साँघुरो र घुम्ती नपुगेको सडक नै दुर्घटनाको प्रमुख कारण मानिएको प्रारम्भिक अध्ययनले देखाएको छ।

म्याग्दीको सदरमुकाम बेनीबाट उत्तरी म्याग्दीको बेग जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जिप घाप्पा औलको उकालो मोड नपुग्ने घुम्तीबाट करिब ३ सय मिटरभन्दा तल खसेर दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परेर चारजनाको मृत्यु भएको छ।

बाटो साँघुरो भएकोले घुम्तीमा मोड नपुगेर पछि सर्ने क्रममा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताए। ‘उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाको कारण देखिएको छ, अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ’, उनले भने। 

त्यसैगरी गत साउन १५ गते धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको थियो।

अक्करे पहाडमा बनाइएको सडकको ग्रेड मिलेको छैन भने सडक साँघुरो रहेको छ।

त्यसअघि गत असार १६ गते बेनीदेखि मंगला गाउँपालिका–१ पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको मिठौला, नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुईजनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

उक्त दुर्घटनामा समेत जीर्ण सडक नै दुर्घटनाको कारण मानिएको थियो। जिल्लामा विस्तार भएका ग्रामीण सडक अधिकांश मापदण्डविपरीत विस्तार भएका छन्।

प्राविधिक सर्वेविना डोचर चालकको भरमा मापदण्ड पूरा नगरीकन विस्तार भएका सडक जीर्ण, साँघुरा र ग्रेड नमिलेका छन्।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापरबाहीले दुर्घटनालाई कम गर्न चुनौती थपिएको उनको भनाइ छ।

एक नगरपालिका र ५ गाउँपालिकामा रहेका ४५ वटा वडामध्ये जिल्लामा धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेक अन्य सबै वडामा कच्ची सडकको सञ्जालले जोडिएको छ।

जिल्लाभर हालसम्म ५७२ किलोमिटर बढी कच्ची सडक विस्तार भइसकेको छ भने जिल्लाभरमा जम्मा ९ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ।

अहिले स्थानीय तहको पहलमा गाउँमा आफ्नो बाटो आफैँ बनाउन स्थानीय बासिन्दा लागिपरेका छन्। यसरी स्थानीय अग्रसर भएर निर्माण गरिने ग्रामीण सडकमा डोजर चालक नै इन्जिनियर बन्छन्।

यस्ता सडक वर्षाको समयमा अभिशाप बन्दै गएका छन्। हरेक सडकमा वर्षा लागेसँगै पहिरो जान्छ। पहिरोबाट धेरै धनजनको क्षति हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्।

ग्रामीण भेगमा रहेका हरेक बस्तीमा सडक पुगेको पहिलो वर्ष स्थानीय हर्षित हुने गरे पनि खुसीको सीमा केही महिनामा टुट्ने गरेको मंगला गाउँपालिका अर्मनका श्रीधर सापकोटाले बताए।

सापकोटाको घरमाथिबाट खनिएको सडकका कारण वर्षा हुँदा अन्यत्र गएर बस्नुपर्ने अवस्था आएको छ। घरमाथिबाट पहिरो खसेका कारण आफू विस्थापित भएर बेँसी घरमा बस्न बाध्य भएको उनले बताए।

विकासको पहिलो खुड्किलो नै सडक भएपछि ग्रामीण भेगमा हरेक गाउँबस्तीमा सडक पुगेपछि स्थानीयको खुसी वर्षा लागेसँगै पीडामा बदलिएको छ।

गाउँस्तरमा खनिएका सडक मनोमानी खनिँदा पछिल्ला वर्ष काल बन्दै गएपछि म्याग्दीका स्थानीय त्रसित भएका छन्। ग्रामीण सडकमा स्थानीयबीच असहमति हुँदा चालक नै इन्जिनियर बनेर सडक निर्माण गरिएका हुन्छन्।

हरेक सर्वसाधरणको घरपायक पुर्‍याउनुपर्ने भएका कारण सडक मापदण्डविपरीत खनिन्छन् र केही समयको खुसी एक दुई महिना नबित्दै पीडामा परिणत भएको बेनी नगरपालिका ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले बताए।

पहाडी क्षेत्रमा सडक मनोमानी तरिकाले खनिएपछि ग्रामीण बस्ती पहिरोको समेत उच्च जोखिममा रहेका छन्। कृषि तथा वडास्तरीय सडकमा इन्जिनियरिङ मापदण्ड ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने गरेपछि जिल्लाका धेरै स्थानमा ठूल्ठूला पहिरो समेत गएका छन्।

सर्वसाधारणको आफूखुसी भएका कारण ग्रामीण बस्तीमा सडक मनोमानी र मापदण्डविपरीत भएको डोजरचालकहरू बताउँछन्। जसरी पनि भनेको ठाउँमा सडक पुर्‍याउनुपर्छ भनेपछि आफूहरूले सडक भनेकै स्थानमा पुर्‍याउने गरेको एक चालकले बताए।

विशेष गरी सडक ग्रेडको उचाइ धेरै भएको प्राविधिक बताउँछन्। कृषि सडकमा ग्रेड हाइट बढीमा १२ डिग्रीसम्म हुनुपर्नेमा ३५ डिग्रीसम्म खनिएका छन्। यस्ता सडकमा गाडी चल्न मुस्किल हुने र दुर्घटना बढी हुने प्राविधिकको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.