|

जुन दिन महाकवि देवकोटाको भलाद्मी निबन्ध पढेँ, त्यसै दिनदेखि मलाई पनि बोक्रे नै सही तर भलाद्मी भने बन्न मन लाग्यो।

बाटो हिँड्दा होस् वा कुनै सभा-समारोहमा उपस्थित हुँदा होस् आफ्नो पनि अलिकति शान र रवाफ देखियोस् भन्ने रहरले मनको मध्यविन्दूमा नै घर बनायो।

घर नै तयार भइसकेपछि त झन् रहरको बचेरो बसाइँ नसरीकन किन मान्थ्यो र? अब आफ्नो रवाफ देखिने किसिमको व्यक्तित्व नबनाई सुखै पाइएन।

यसो सोचेँ अनि दु:खसुख गरेर एकजोर चिटिक्कका कपडा किनेर तीन वर्षपछि काँचुली फेर्ने निर्णय गरेँ। अब सुनमा सुगन्ध थपिए कति गजब हुन्थ्यो भन्ने लाग्यो। त्यसपछि मेरा नयाँ काँचुलीलाई सुगन्ध एउटा कालो चस्माले दिन्छ, दिमागले फुरौला उफार्‍यो। 

बढो भलादमी बनेर शानसँग हिँड्छु भनी रहरले किनेको चस्माले जबदेखि मेरो नाकको डाँडीमाथि चढेर कानमा खुट्टा राख्न थाल्यो, त्यस बेलादेखि नै त्यही चस्माले मलाई मेरो हैसियत र औकात मात्र देखाइदिन थालेपछि म स्पष्ट भएँ कि वास्तवमा चस्मा मेरो लागि शानको प्रतीक नभएर केवल हैसियत देखाइदिने ऐना मात्र भयो।

कालो चस्मा अनुहारमा चिटिक्क सुहाउनेहरू मलाई म जस्ता गरिब व्‍यहोरा भएका जन्तुभन्दा केही विशेष लाग्थे।  बिपी कोइरालाको दोषी चस्माको साहु केशवराजको चस्माबाहेकका सबै चस्माहरू मलाई साँच्चै नै शान र रवाफका प्रतीक लाग्थे। त्यसैले एउटा चस्मा त किन्नैपर्छ भनेर सुन्धाराको चोकबाट सिभिल मलतर्फ मोडिएँ।

हुन त म जस्ता दुःखी आत्माहरू प्रायः सिभिल मल छिर्ने भनेको सार्वजनिक शौचालयमा बुझाउनुपर्ने पाँच रुपैयाँ बचाउने अभियानलाई सार्थकता दिनलाई मात्र हो। तर, आज त यही मलमा चस्मा किन्छु भनेर छिरेँ।

पहिलो तल्लामा नै चस्मा पसल भेटियो। पसलमा छिर्नासाथ एउटा चस्मा नजरमा पर्‍यो। पसलेलाई निकाल्न लगाएर आँखामा लगाएर ऐना हेरेको त बढो गजबसँग सुहाएझैँ लाग्यो। मूल्य सोधेको त झण्डै बेहोस भइनँ। १३ हजार ८ सय ९९ पो भन्छ त।

ऐना अगाडि नै बस्दाबस्दै तुरुन्तै मलाई चस्मा त सुहायो तर चस्मालाई म भने फिटिक्कै सुहाइनँ। अनि चस्मा अनुहारबाट उतारेर हातमा लिएर ओल्टाइ पल्टाइ हेरेँ। त्यस्तो १४ हजार पर्ने के छ यो चस्मामा भनेर सोधेँ। 'रेवान चस्मा हो सर युरोपियन ब्राण्डको', साहुले जवाफ फर्कायो।

 भयो राख्नुस् भनेर साहुको हातमा  चस्मा थमाएर माथिल्लो तल्लामा उक्लेँ, अनि पाँच रुपैयाँ बचाएर अर्को तर्फको भर्‍याङबाट ओर्लेर बाहिर निस्केँ।

चस्मा लगाउने रहर मनबाट अझै उम्केन। अब आफ्नो स्तरअनुसारको पसल खोज्नुपर्‍यो। सरासर भृकुटीमण्डपको सस्तो बजार छिरेँ। अघि मलमा हेरेजस्तै देखिने चस्मा समातेर मूल्य सोधेँ, साहुले ५५० भन्यो।

बल्लतल्ल बार्गेनिङ गरेर खोलसहित ४५० मा कुरो मिलाएर पैसा तिरेर चस्मा लिएँ। अब चस्मा किनिसकेपछि किन खल्तीमा राखेर हिँड्नू भनेर लगाएरै हिडेँ।

माथि बाटोमा निस्केर बाटो काट्न लागेको अगाडि जान खोज्छु, अगाडि नै गाडी आउँछ, पछाडि सर्न खोज्छु पछाडि नै गाडी आउँछ। टक्क रोकिएँ, आफ्नै अगाडि गाडी आएर रोकियो अनि हतारहतार बाटोपारि पुगेँ।

गाडीभित्रबाट खलासीको आवाज आयो, 'मर्लास!बाटो काट्नलाई यत्रो आकाशे पुल देखिन्न?'

गाडी हुइँकियो। यसो माथि हेरेँ। हो त छेउमै आकाशे पुल रहेछ। लाजमर्दो भयो। चस्मा झिकेर खल्तीमा घुसारेर सरासर आफ्नो बाटो लागेँ।

रहरले किनेको कालो चस्मा कोठामा राखेर हिँड्ने कुरो भएन। कोठाबाट निस्कँदा सधैँ चस्मा खल्तीमा राखेर हिँड्न थालेँ। एकदिन क्याम्पस जान पर्‍यो भनेर निस्केर बाटोमा गाडी कुर्दै थिएँ झल्यास्स खल्तीको चस्मा याद आयो। यतिकै गाडी रोक्न हात दिँदा त कहिलेकाहीँ खलासीले विद्यार्थी भन्ने चिनेर दशको माल हो दाइ नहालम् भो भनेर ड्राइभरलाई गाडी रोक्नै नदिई ढोका ढक्ढकाएर कुदाउन लगाउँथ्यो त्यसैले चस्मा झिकेर लगाएँ।

गाडी आयो, हात हल्लाएँ, गाडी रोक्यो। खाली सिटमा गएर बसेँ। अघि बढ्दै जाँदा गाडी पूरै भरियो। बीचमा उभिने ठाउँसमेत खचाखच हुनै लाग्दा एउटी चिटिक्ककी नानी त्यही गाडीमा चढिन्। मेरै छेउमा आइपुगेर दाइ यो महिला सिट हो खै उठिदिनुपर्‍यो भनिन्। यसो माथि हेरेँ। हो त रहेछ। ठूलै अक्षरमा महिला सिट लेखेको रहेछ।

लाजको पसारो भयो। सिट छोडेर उभिनेहरूका भिडमा कोचिएँ। भाडा तिर्ने बेलामा चस्माको अलिकति बचेको इज्जत पनि जाला भनेर विद्यार्थी परिचयपत्र नदेखाई पूरै भाडा तिरेँ।

अर्को एकदिन साथीहरूसँग मट्कामा चिया खान छिरियो। साथीहरूका अगाडि के चस्मा लगाउनु भनेर दबंग फिल्ममा सलमान खानले लगाएझैँ पछाडि गर्धनमाथि भिरेँ। क्याफेबाट निस्केर काउण्टर पुगेपछि याद आयो, झोला त माथि टेबलमै छुटेछ।

झोला लिन फर्केर भर्‍याङ चढ्दै गर्दा माथिबाट आवाज सुनियो– कस्ता कस्ता चटके देखिन्छन्, आँखा अगाडि छन् चस्मा पछाडि लगाएको छ। सबैजना हललल हाँसे। मेरो अनुहार रातोपीरो भयो। जति लाजमर्दो भए पनि आखिर झोला त ल्याउनुपर्‍यो भनेर भित्र छिरेँ।

मलाई देख्नासाथ उनीहरू गफ बीचमा नै रोकेर मुखामुख गर्न थाले। म गएर नबोलीकन झोला टिपेर फटाफट फर्किहालेँ।

बढो मुस्किलले एउटा सानोतिनो जागिर खाइयो। जागिर खाइसकेपछि सार्वजनिक यातायात चढेर अफिस जान लाग्दा कहिले एक घण्टापछि पुगिन्छ, कहिले भिडमा कोचिँदा अघिल्लो दिन मात्र धोएर आइरन गरेका कपडा हेरिनसक्ने अवस्थाका हुन्छन्। यो पाराले त भएन भनेर किस्ताबन्दीमा भए पनि एउटा मोटरसाइकल किन्नुपर्‍यो भन्ने लाग्यो।

अर्को समस्या आइलाग्यो लाइसेन्सको। लाइसेन्स निकाल्न फारम भरेको जम्मा दुई वर्षपछि पालो आउने भयो। दलालहरू नि छोइसक्नुका छैनन् जाबो मोटरसाइकलको लाइसेन्सलाई ३०-३५ हजार भन्छन्।

दुई दुई महिनाको तलब जाबो लाइसेन्सको खोस्टोमा खर्च गर्ने औकात नि अलि भइसकेको छैन मेरो भन्ने लाग्यो। त्यसैले जे पर्ला त्यही टर्ला भनेर किस्ताबन्दीमा सस्तो मोटरसाइकल निकालेर चलाउन थालेँ।

मोटरसाइकल चलाउन थालेपछि त धुलो पनि छेक्नुपर्‍यो अलिअलि शान पनि देखाउनै पर्‍यो भनेर चस्मा लगाएरै हिँड्न थालेँ।

करिब २ महिना जति त मेरो चुरीफुरी राम्रै चल्यो तर त्यसपछि एकदिन झ्याप्प एउटा ट्राफिक चेकपोइन्टमा ट्राफिकसँग जम्काभेट भयो। मोराले हालखबर सञ्चो विसन्चो केही नसोधी सिधै कागजपत्र माग्यो। ज्याकेटको खल्तीबाट ब्लूबुक त झिकेर दिएँ तर नभएको लाइसेन्स कहाँबाट झिकेर दिनुरु सर लाइसेन्स त अर्को ज्याकेटको खल्तीमा छुटेछ ल्याउनै बिर्सेछु भनेको त ल्याउन बिर्सनुभयो कि बनाउनुभएकै छैन नढाँटी भन्नुस् भन्छ।

ढाँटेन भने एकपटकलाई आममाफी पाइन्छ कि भनेर नढाँटीकन बनाएकै छैन सर भनेँ। त्यति के भनेको थिएँ चिलले चल्ला झम्टेझैँ झम्टेर बाइकको चाबी निकाल्यो र बाइक साइड लगाउन लगायो। लुरुलुरु आज्ञापालन गरेँ। मान्छे त भलादमी जस्तो देखिनुहुन्छ तर विना लाइसेन्स सवारी चलाउनु कानुनविपरीत हो भन्ने सामान्य नियमको कुरा पनि थाहा थिएन?

 ल भोलि गोलघरमा एउटा लाइसेन्सवाला मान्छे लिएर बाइक लिन आउनुस् भनेर बाइकको सट्टा हातमा एउटा चिर्कटो थमाइदियो। अब रित्तो हेलमेट उनेर बाटोमा हिँड्ने कुरो त भएन त्यसैले हेलमेट निकाल्न लागेको चस्माले अल्झायो। लाजले ताण्डब नृत्य गरिरहेको मेरो अनुहारमा अर्को लाजको पसारो थपियो। यत्रो काण्डको कारनामा मच्चिसक्दा पनि के के न शान देखाउँछु भनेर लगाएको चस्मा त अझै नाकको डाँडीमाथि झुण्डिरहेको रहेछ त। लुसुक्क चस्मा झिकेर खल्तीमा कोचेर हातमा हेलमेट झुण्डाउँदै कोठातर्फ लागेँ।

 बढो भलादमी बनेर शानसँग हिँड्छु भनी रहरले किनेको चस्माले जबदेखि मेरो नाकको डाँडीमाथि चढेर कानमा खुट्टा राख्न थाल्यो, त्यस बेलादेखि नै त्यही चस्माले मलाई मेरो हैसियत र औकात मात्र देखाइदिन थालेपछि म स्पष्ट भएँ कि वास्तवमा चस्मा मेरो लागि शानको प्रतीक नभएर केवल हैसियत देखाइदिने ऐना मात्र भयो।

मेरो चस्मा लगाउने रहरले यस्तो ज्ञान पाएपछि त्यही दिनदेखि मैले कहिल्यै चस्मा नलगाउने निधो गरेँ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.