|

हेटौंडा : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वबारे संस्थापनइतरका रामचन्द्र पौडेलपक्षीय नेताहरूले मोर्चाबन्दी गरेका छन्।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हेटौंडामा भइरहेको प्रथम प्रदेश अधिवेशनका क्रममा हेटौंडा आइपुगेका संस्थापनइतर नेताले सभापति देउवाविरुद्व मोर्चाबन्दी गरेका हुन्।

बागमती प्रदेश सभापतिको उम्मेदवार जगदीश्वरनरसिंह केसीको समर्थनमा पौडेल पक्षका शीर्ष नेताले केन्द्रमा कांग्रेसको नयाँ नेतृत्व चयन गर्न बागमती निर्णायक हुने भन्दै बागमतीमा आफ्नो पक्ष जिताउन एकै स्वर गरेका छन्।

प्रदेश सभापतिमा संस्थापन पक्षबाट उम्मेदवारी दिएकाविरुद्ध पौडेल पक्षका नेताहरू एकै ठाउँ उभिएर गर्जिएका छन्।

कांग्रेस नेता रामशरण महतले आन्तरिक गुटले गर्दा पार्टी कमजोर बनाएको बताए। उनले वर्तमान नेतृत्वले नै गुट बनाएकाले अन्य पक्षले पनि गुट बनाएको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउन नयाँ नेतृत्व चयन गर्नुपर्ने जिकिर गरे।

नेता महतले कांग्रेसमा अहिलेको जस्तो विकृति कहिल्यै पनि नदेखिएको भन्दै कांग्रेसलाई एकताबद्ध बनाएर लैजान सहि नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याए। 

केसीको समर्थनमा आयोजना गरिएको कार्यक्रममा नेता अर्जुननरसिंह केसीले कांग्रेसको अहिलेको नेतृत्वले प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन नसक्ने टिप्पणी गरे।

केसीले पार्टी विधिप्रधान हुनुपर्नेमा व्यक्तिप्रधान बनेको भन्दै लामो इतिहास बोकेर आएको कांग्रेसलाई बलियो बनाउने नेतृत्व चयन गर्न बागमती प्रदेशको परिणाम महत्वपूर्ण रहेको बताए।

उनले भने, ‘कांग्रेसमा विधानलाई मानिएन, संस्थागत निर्णय भएन, मनपरीतन्त्र हाबी भयो। त्यसैले कम्युनिष्टसँग लड्ने एकमात्र पार्टी कांग्रेसलाई विधिप्रधान बनाउनका लागि सक्षम नेतृत्व छान्न आवश्यक छ।’

कांग्रेसका अर्को नेता प्रकाशमान सिंहले कांग्रेसभित्र अन्याय भइरहेको भन्दै न्याय दिनका लागि राम्रो नेतृत्व आउन आवश्यक रहेको बताए।

उनले वर्तमान नेतृत्वले पार्टीलाई न्याय दिन नसकिरहेको भन्दै राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव पार्ने भएकोले बागमती प्रदेशमा संस्थापनइतरका केसीको जीत आवश्यक रहेको औंल्याए।

‘कांग्रेसको केन्द्रीय महाधिवेशनलाई सन्देश दिनको लागि बागमती प्रदेशमा जगदीश्वरनरसिंह केसीको जीत आवश्यक छ,’ उनले भने, ‘बागमती प्रदेशको परिणामले केन्द्रमा सही नेतृत्व आउनेछ।’

कांग्रेस बागमती प्रदेश सभापतिको लागि पौडल समूहबाट केसी, देउवा समूहबाट ईन्द्र बानियाँ र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्।

मकवानपुरको सभापति तथा बागमती प्रदेशको संसदीय दलको नेतासमेत रहेका सभापतिमा उम्मेदवारी दिएका बानियाँको गृहजिल्ला मकवानपुरमा पौडेल पक्षले शक्ति प्रदर्शन गरेको थियो।

केन्द्रबाट पौडेल पक्षका शीर्ष नेताहरू आएर केसीको समर्थनमा उत्रिएका बेलामा कार्यकर्ताहरूको भीड लागेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.