|
फाइल तस्वीर

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदको लागि २ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा भइरहेको बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदमा ३ वटा प्यानलका २ सय ५७ जनाले उम्मेदवारी दिएका हुन्।

प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीले दिएको जानकारीअनुसार प्रदेशको ८ पदाधिकारीका लागि २४ जनाको उम्मेदवारी परेको छ।

सभापतिमा संस्थापन पक्षबाट ईन्द्रबहादुर बानियाँ, संस्थापनइतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदीशनरसिंह केसी र कृष्ण सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्।

बानियाँको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सह-महामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटीले उम्मेदवारी दिएका छन्।

केसीको प्यानलबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल ‘माइकल’, कञ्चनवादे, सह-महामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोलले उम्मेदवारी दिएका छन्।

प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सह-महामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन्।

सदस्यतर्फ खुल्लामा ८५ जना, समावेशीतर्फ १ सय ४८ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ।

अधिवेशनमा बागमतीका १३ जिल्लाका २ हजार १ सय ३७ जना प्रतिनिधि सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.