काठमाडौं : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा आजबाट बाघ गणना सुरु हुँदैछ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट गणना सुरु गर्न लागिएको विभागका सूचना अधिकारी एवं इकोलोजिष्ट वेद कुमार ढकालले जानकारी दिए। वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले गणना कार्यक्रमको उद्घाटन गरेपछि राष्ट्रिय बाघ गणना २०२२ आरम्भ हुनेछ।
नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा गरी ५ वटा राष्ट्रिय निकुञ्जमात्र बाघ पाइन्छ। फिल्ड गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका करिब १ सय कर्मचारी खटिने विभागका सूचना अधिकारी ढकालले जानकारी दिए।
क्यामेरा ट्रयापिङ विधिबाट गरिने गणनामा विभाग र कोष सहित संरक्षण साझेदार डब्लुडब्लु एफ नेपाल र जेडएसएल नेपालको पनि सहभागिता रहनेछ। फिल्डमा फोटो खिच्न बाघको आउजाउ हुने संभावित निकुञ्जका क्षेत्रमा प्रति ४ स्क्वायर मिटरको दूरीमा क्यामेरा राखिएको छ। गणनामा ३ करोड ७० लाखको अनुमानित बजेट छ ।
बाघ दोब्बर बनाउने लक्ष्यबाट नेपाल थोरैमात्र टाढा अन्र्तराष्ट्रिय समुदायमाझ गरेको बाघ दोब्बर बनाउने लक्ष्यबाट नेपाल थोरैमात्र टाढा रहेको छ। नेपालले यही गतिमा बाघको संख्या बढाउँदै गए नेपाल संसारकै बाघ दोब्बर पार्ने पहिलो मुलूक बन्ने विज्ञ तथा सरकारी अधिकारीहरुको भनाइ छ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ वटा देशहरु माझ गरेको बाघको संख्या दोब्बर पार्ने लक्ष्यतर्फ सबैको ध्यान गइरहेको छ। त्यत्ति बेला १ सय २१ वटा बाघ रहेकोमा नेपालले सन् २०२२ सम्म २ सय ५० पुर्याउने प्रतिवद्धता ब्यक्त गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारी, बाघ संरक्षणमा लागिपरेका संस्थाहरु डब्लुडब्लुएफ, जेडएसएल, एनटीएनसी लगायतका संस्थाका विज्ञहरुले ५ वटै निकुञ्जमा बाघको अवस्थालाई मूल्याकन गर्दा नेपालमा बाघको संख्या दोब्बर बनाउनमा नेपाल थोरैले मात्र पछाडी रहेको बताउँदै आएका छन्।
पछिल्लो समय ३ वर्ष पहिले सन् २०१८ मा सार्वजनिक गरिएको गणनामा २ सय ३५ बाघ नेपालमा रहेका छन्। बाघको दोब्बर पार्ने लक्ष्य अनुसार नेपाललाई १५ वटा बाघ थप्दा लक्ष्य भेटिनेछ।
विभागका इकोलोजिष्ट ढकालका अनुसार १ सय २१ को दोब्बर २ सय ४२ भएपनि सरकारले २ सय ५० लाई दोब्बर लक्ष्य मानेको छ। संख्याका हिसाबले नेपाल भन्दा बढि संख्याको बाघ रहेका भारत,रसिया, इण्डोनेशिया, र मलेसियाले भन्दा बाघको संख्या बृद्धिमा नेपालले राम्रो फड्को मारिरहेको विभागका विभागका इकोलोजिष्ट ढकाल बताउछन्।
नेपालले बाघको संख्या दोब्बर पार्ने लक्ष्यबाट नजिकै पुगेको छ, उनले भने, यही रफ्तारमा गए नेपाल संसारकै बाघ दोब्बर पार्ने पहिलो मुलुक बन्नेछ। छिमेकी भारत, भुटान र बंगलादेशमा बाघ पाइने भएपनि नेपाल अरु देशको तुलनामा दोब्बर पार्ने अभियानमा अगाडी बढेको देखिन्छ।’
यही अनुपातमा बाघको संख्या बढ्दै जाने हो भने निर्धारित समयमा बाघको संख्या दोब्बर पुर्याउन त्यत्ति गाह्रो नहुने तर्क राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक डा मनबहादुर खड्काको पनि छ।
बाघ बढिरहेको तथ्यांक आइरहेको छ , उनले भने, चितवनमा घटेको आएपनि समग्र देशमा बढ्दै गएको तथ्यांक छ, यसले केही स्थानमा थपघट देखाए पनि बढ्दै जाने संकेत देखाएको छ। त्यसको नतिजा २०७९ सालको असार मसान्तसम्म ल्याउने सरकारी तयारी रहेको विभागका इकोलोजिष्ट ढकाल बताउँछन्। उनका अनुसार सन् २०२२ को अन्तिमतिर रसियाको सेन्टपिर्टसबर्गमै हुने बाघ पाइने मुलुकहरुको सम्मेलनका दौरान सन् २०१० को प्रतिबद्धता पेश गर्नेछन्।
बाघ विज्ञ डा चिरञ्जीवी पोखरेल पनि तथ्यांकको हिसाबले बाघ बढ्दै गएकाले दोब्बरको लक्ष्य पूरा हुनेमा विश्वस्त छन्। यद्यपि उनी विभिन्न राष्ट्रिय निकुञ्ज र आसपासका जंगलमा बाघको संख्यामा वृद्धि भएसँगै चुनौति पनि उत्तिकै थपिदै गएको पनि बताउँछन्। बढेको बाघको संख्यालाई हामी कत्तिको थेग्न सक्छौँ ’, उनले भने र्, यदि हामीले वासस्थान सुधारको क्रियाकलाप गर्न सकेनौँ भने बाघलगायत अरू बन्यजन्तुको संख्या घट्ने सम्भावना पनि उत्तिकै रहनेछ।’
नेपालले बाघको संख्या दोब्बर पार्ने लक्ष्यबाट नजिकै पुगेको छ, उनले भने, यही रफ्तारमा गए नेपाल संसारकै बाघ दोब्बर पार्ने पहिलो मुलूक बन्नेछ। छिमेकी भारत, भुटान र बंगलादेशमा बाघ पाइने भएपनि नेपाल अरु देशको तुलनामा दोब्बर पार्ने अभियानमा अगाडी बढेको देखिन्छ, उनले थपे।
नेपालका चितवन राष्ट्रिय निकुन्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी ५ स्थानमा बाघ पाइन्छ।
सन् २०१८ को राष्ट्रिय बाघ गणनाको तथ्यांक अनुसार बर्दियामा ८७ , चितवनमा ९३ , पर्सामा १८ , शुक्लाफाँटामा १६ र बाँकेमा २१ वटा बाघ रहेका छन् । बर्दिया, बाँके , पर्सामा बाघ बढेपनि चितवनमा २७ वटा बाघ घट्दा शुक्लाफाँटामा पनि एउटा घटेको छ।
सन् २०१६ को डब्लुडब्लुएफको तथ्यांक अनुसार विश्वमा पाइने ३ हजार ८ सय ९० मा आधाभन्दा बढि बाघ भारतमै पाइन्छ। सन् २०१९ को तथ्यांकमा भारतमा २ हजार ९ सय ६७ बाघ रहेका छन्। यसअघि त्यहाँ २ सय २६ वटा बाघ रहेका थिए।
विश्वका १३ देशमा मात्र बाघ पाइने विज्ञहरुले बताएका छन्। एसियामा नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, चीन , लाओस्, म्यानमार, भियतनाम र रसियामा बाघ पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।